s

टिकटको मूल्य घटाउन र यात्रुको पैसा फिर्ता गर्न निर्देशन

मंगलबारदेखि सुरु भएको अन्तर्राष्ट्रियतर्फको हवाई टिकटको मूल्य घटाएरमात्रै विदेशी विमानलाई उडान अनुमति दिन पर्यटन मन्त्रालयले निर्देशन दिएको छ । विदेशी विमान कम्पनीहरूले दुई महिनादेखि जारी चार्टर्ड उडानको भन्दा झण्डै दोब्बर मूल्यमा नियमिततर्फको टिकट बेच्न थालेपछि जनगुनासो बढ्दै गएको थियो ।

विदेशीसहित स्वदेशी विमान कम्पनीले तोकेको भाडा चैतअघिको नियमितको भन्दा सात गुणासम्म भएपछि मन्त्रालयले समस्याको सम्बोधन गर्ने प्रयास गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नियमित उडानको भाडादर र चार्टर्ड उडानको गुनासोको सम्बन्धमा बसेको बैठकमा मन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले उडान गर्ने गन्तव्यमा स्वदेशी विमान कम्पनीले तय गरेको भाडादरमै उडान गर्ने गरी विदेशी विमान कम्पनीलाई अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका हुन् । यद्यपि स्वदेशी र विदेशी विमान कम्पनीहरूले महँगो मूल्यमै नेपाली ल्याउन थालिसकेका छन् ।

अन्तर्राष्ट्रिय नियमित उडान सुरु हुनअगावै टिकट शुल्कमा ट्राभल्स एजेन्सीहरूले अनियन्त्रित रूपमा कालोबजारी गरेको गुनासो बढे पनि विमान कम्पनीहरूले एक महिनासम्मकै उडानको बुकिङ गर्न थालिसकेका छन् । नेपाल आउने केही विमान कम्पनीको भने असोजसम्मकै उडानको टिकट बुकिङ भइसकेको संकेत प्राप्त भइसकेको छ । विमान कम्पनीहरूले आफूखुसी महँगोमा टिकट बेच्न थालेपछि खाडी लगायत मुकुकमा अलपत्र नेपाली लाख रूपैयाँ तिरेर टिकट काट्न नसक्ने अवस्थामा पुगेका छन् ।  

रोगजारी गुमाएका, आममाफी पाएका लगायत लाखौं नेपाली अझै स्वदेश फर्किन चाहेको र विमान कम्पनीहरूले मौकाको फाइदा उठाउन थालेपछि विदेशी कूटनीतिक नियोग, गैरआवासीय नेपाली संघ (एनआएनए) ले पनि अनुगमन तथा सहजीकरण गरिदिन मन्त्री भट्टराईले आग्रह गरेको मन्त्रालयले जनाएको छ । बैठकले हवाई भाडादरमा कालोबजारी, अपारदर्शिता र अन्य गैरकानुनी मुनाफा कायम गरी भाडादर असुलउपर नगर्न÷नगराउन सम्बन्धित वायुसेवा कम्पनीलाई सचेत गराउने निर्णय गरेको छ । नियमित उडानमा बजेट एयरले अन्य एयरलायन्सको भन्दा कम भाडादरमा उडान गर्नुपर्ने, चार्टर्ड उडानको सम्बन्धमा पर्यटन मन्त्रालयले यसअघि तोकेको भाडादरभन्दा बढी नहुने सुनिश्चित गरी उडान सञ्चालन गर्न अनुमति दिने निर्णय गरेका छ ।  

साथै, सोही बैठकले २५ अगस्टमा युएईको सारजाहबाट एक सय ६१ यात्रु लिएर काठमाडौं आएको एयर अरेबियालाई एक सय ४२ जना यात्रुको रकम फिर्ता गर्न समेत निर्देशन दिएको छ । उक्त विमानबाट नेपाल आएका एक सय ४२ जना पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट भएका, १८ जना आरडिटी परीक्षणको रिपोर्ट भएका र एकजना कुनै पनि परीक्षण रिपोर्ट नभएका यात्रु नेपाल भित्रिएका थिए । परीक्षण रिपोर्ट नभएका यात्रुलाई एउटै विमानमा यात्रा गराएर सबै यात्रुलाई होटल क्वारेन्टिन बस्न बाध्य बनाएको भन्दै होटल बसाईको खर्च विमान कम्पनीबाटै भराउन मन्त्री भट्टराईले मातहतका निकायलाई निर्देशन दिए ।

मन्त्री भट्टराईले सबै यात्रुबाट होटल खर्च उठाएको तर पछि यात्रुले नै तिरेको गुनासो आएपछि उक्त रकम रकम फिर्ता गराउन र फिर्ता नगरे कारवाही गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

Published on: 3 September 2020 | Nagarik

Link

Back to list

;