s

टिकट काटे, फर्कन पाएनन्

हरिराम उप्रेती

गोरखा — वैदेशिक रोजगारीमा मलेसिया पुगेका छोराको मृत्यु भएपछि तीन सातायता गोरखा नगरपालिका–१२ नयाँगाउँकी ५२ वर्षीया तिलमाया कुँवरका आँखा ओभाएका छैनन् । 

कमाउन गएका छोराको विदेशमै मृत्यु भएपछि शवको पर्खाइमा तिलमाया कुँवर कमाउन गएको छोराको शव कुरेर बसेको पनि तीन साता भयो तर कहिलेसम्म शव आइपुग्छ, उनलाई थाहा छैन । घर फर्कन हवाई टिकट लिएका छोराको मृत्युको खबरसँगै परिवारमा सन्नाटा छाएको छ । 

२०७५ वैशाखमा मलेसियास्थित जोहोरबारु पुगेका २८ वर्षीय मेघबहादुर कुँवरले गत वर्ष लकडाउन सुरु भएदेखि नै स्वदेश फर्कने प्रयास थालेका थिए । परिवारका अनुसार कम्पनीले बिदा नदिएपछि उनी उतै रोकिए । स्वास्थ्य समस्या भएर स्वदेश फर्कने निधोमा पुगेका मेघबहादुरले गत फागुन २३ मा हवाई टिकट लिएर परिवारमा जानकारीसमेत गराएका थिए । त्यसपछि परिवार खुसी पनि भयो । तर ‘छिट्टै आउँछु’ भनेका उनी फर्किन पाएनन् । 

स्वदेश फर्कने तरखर गरिरहेका उनी स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भए । फागुन २१ मा उनको उपचारका क्रममा निधन भयो । ‘छोरो आउने खबरले खुसी थिएँ, पछि दम बढेछ, अस्पताल लगेपछि बिसेक हुन्छ, राम्रो खबर सुन्न पाइन्छ भनेको त यस्तो भयो,’ तिलमायाले भनिन् । उनका अनुसार पछिल्लो पटकको फोन संवादमा मेघबहादुरले श्वासप्रश्वास र हातखुट्टा झमझमाउने समस्या देखिएको बताएका थिए ।

मेघबहादुर तिलमायाका एक्ला छोरा हुन् । चार छोरीको विवाह भइसकेको छ । ‘एउटै छोरा पनि गुमाएँ, अहिले केही सोच्न र गर्न सकेको छैन,’ तिलमायाले भनिन्, ‘सबैले नयाँ घर बनाए, हामी पनि बनाउनुपर्छ भनेर उसैको जोडबलले नवलपुरमा घर बन्दै थियो, घरको ढलान पनि भर्खर सकिएको छ तर उसैले देख्न पाएन ।’ 

मेघबहादुर २०७१ सालमा विवाह बन्धनमा बाँधिएका थिए । उनी मलेसिया उडेपछि जन्मिएकी छोरी २ वर्ष पुगिन् । प्रत्यक्ष नभेटे पनि मेघबहादुर दैनिकजसो भिडियो कलमा छोरीसँग कुराकानी गर्थे । ‘अहिले अरू आफन्तको फोन आउँदा पनि छोरी बाबा, बाबा... भन्दै मोबाइल तान्न आउँछिन्,’ मेघबहादुरकी श्रीमती हीरामाया सारू कुँवरले सुनाइन् । 

बिरामी हुँदा पनि घर फर्किन नदिएको कम्पनीले उनको उपचारमा समेत ध्यान नदिएको मेघबहादुरका भिनाजु नाता पर्ने नारायण कुँवरको आरोप छ । उनको शव छिटो नेपाल ल्याएर अन्त्येष्टि गर्ने परिवारको माग छ । रोजगारीको सिलसिलामा हाल मलेसिया रहेका उनका साथी रामकृष्ण खड्काले शव नेपाल ल्याउन व्यक्तिगत र कानुनी झन्झट नरहेको कान्तिपुरसँगको कुराकानीमा बताए । ‘एयरलाइन्स उपलब्ध नभएर ढिला भएको छ, २५ तारिखमा पठाउने भनेको स्थगित भयो, हाम्रोतर्फबाट सक्ने पहल गरिरहेका छौं,’ उनले भने, ‘प्लेन चार्टर गरेर पठाउन रकम बढी लाग्छ, नियमित एयरलाइन्समा पठाउँदा केही समय लाग्ने भयो ।’ 

गैरनेपाली आवासीय संघ (एनआरएनए) मलेसियासँग पनि शव पठाउन समन्वय भइरहेको उनले बताए । निमोनियाका कारण फोक्सोमा पानी जमेर मृत्यु भएको बुझिन आएको उनले सुनाए । उनका अनुसार पोस्टमार्टम रिपोर्ट अस्पतालले उपलब्ध गराएको छैन । ‘अस्पतालले शव र पोस्टमार्टम रिपोर्ट एकसाथ पठाउने गरेको बुझिएको छ,’ उनले भने । शव जोहोरबारु हेल्थ डिपार्टमेन्टमा राखिएको छ ।

Published on: 29 March 2021 | Kantipur

Link

Back to list

;