s

थोरै ज्याला, सुविधा कम

अमृता अनमोल
 
• समान कामको असमान ज्याला 
• माग उठाउँदा कामबाटै वञ्चित हुनुपरेको गुनासो 
• असंगठित क्षेत्रमा श्रम शोषण बढी 
• गुनासो बढ्यो, श्रम कार्यालयको प्रतिबद्धता मात्र
 
कानुनले महिला र पुरुषका लागि समान काममा समान ज्यालाको व्यवस्था गरेको छ । कसैले भेदभाव गरेमा सजायको भागीदार हुने व्यवस्था छ तर धेरै मजदुर महिलाले समान कामको असमान ज्याला पाउँदै आएका छन् । 
 
त्यसको एउटा उदाहरण हुन्, निर्माण मजदुर शकुन्तला चौधरी । बिहान ८ बजेदेखि दिनभर बालुवा चाल्ने र इँटा बोक्न तिलोत्तमा १७ की शकुन्तलाले दिनको दुई सय पचास रुपैयाँ ज्याला पाउँछिन् । तर उनीसँगसँगै उस्तै काम गर्ने उनका पति जयबहादुर थापाले भने दिनको ३ सय रुपैयाँ ज्याला पाउँछन् ।
 
शकुन्तला भन्छिन्, ‘आइमाई मान्छे कम काम गर्छन् भनेर ज्याला पनि कम दिन्छन् ।’ समान कामको समान ज्याला पाउनुपर्छ भन्ने सुनेकी उनले यसबारे पटक–पटक ठेकेदारसित कुरा राखेकी छन् । ‘तर जसले भने पनि केटाको जस्तो केटीको काम हुँदैन । समान ज्याला पनि हुँदैन भनेर ठेकेदारले टारिदिन्छन्,’ उनले भनिन् ।
 
शकुन्तला दम्पती मात्रै होइनन्, कृषि मजदुरीको काम गर्ने रीता र कमल थापा दम्पतीले पनि समान कामको समान ज्याला पाउन सकेका छैनन् । करहियाका कमलले दिनको २ सय ५० रुपैयाँ ज्याला पाउँछन् । उनकी पत्नी रीताले भने दिनको २ सय रुपैयाँमै चित्त बुझाउनुपर्छ । ‘काम गरेको अनुभव भन्ने हो भने मैले जान्ने भएबाटै कृषि मजदुरी गरेकी छु । कृषिसम्बन्धी धेरै कुरा थाहा छ,’ रीता गुनासो गर्छिन्, ‘तैपनि पतिलाई बढी दिन्छन्, मलाई कम दिन्छन् ।’
 
पुरुषसँगसँगै पसिना बगाएर काम गरे पनि महिला भएकै कारण कम ज्याला लिन बाध्य रूपन्देहीमा थुप्रै मजदुर छन् । यसले महिला मजदुर आर्थिक रूपमा कमजोर भएका छन् । कतिपयमा पेसाप्रति निरासा जन्माएको छ । ‘फरक कामको फरक ज्याला ठीकै हो,’ बुटवल १३ की सावित्री खडाथोकी गुनासो गर्छिन्, ‘तर समान समयबाट समान काममा घोटिँदा पनि ज्याला असमान दिँदा साह्रै दु:ख लाग्छ । काम गर्ने जाँगर लाग्दैन । अपमानित भएझंै लाग्छ । ’
 
उसो त महिला मजदुरहरूले पछिल्लो समयमा कानुनमा व्यवस्था भएजस्तै समान काममा समान ज्यालाको माग उठाउन थालेका छन् । तर यस्तो माग उठाउँदा कामबाटै वञ्चित हुनुपरेको उनीहरूको गुनासो छ । त्यसमध्येकी हुन्, बुटवल ९ की सीता परियार । उनलाई २ वर्षअघि बुटवलको सडक निर्माणमा सँगै काम गर्ने पुरुषसरह ज्याला माग्दा पेटी ठेकेदारले कामबाटै निकाले । धेरै दिन काम नपाएपछि जति दिन्छौ उतिमा काम गर्छु भनेर उनले पुन: काम थालिन् । ‘अधिकार मागेकै कारण कामबाट निकालिएँ । कामविहीन भएपछि पुन: त्यहीं फर्कनुपर्‍यो,’ उनी भन्छिन्, ‘अहिले त त्यस्ता कुरा उठाउन पनि डर लाग्छ ।’ 
 
समान काममा असमान ज्याला कृषि, निर्माण क्षेत्रलगायतका असंगठित क्षेत्रमा बढी हुन्छ । महिला भएकै कारण बढी ज्याला खाने क्षेत्र र कार्यालयमा महिला नराख्ने, न्यूनतम तलब पनि नदिने, पद बढुवा नगर्ने, समयतालिका नमिलाइदिने र कम ज्याला दिने गरेको उनीहरू गुनासो गर्छन् । यो क्षेत्रका अधिकांश उद्योग, प्रतिष्ठान तथा कार्यालय महिलामैत्री छैनन् । महिलामैत्री व्यवहार नभएकै कारण गर्भवती, सुत्केरीलगायतका प्रजनन समयमा धेरैले जागिरबाट हात धुनु परेको छ । लामो समयदेखि बुटवलको औद्योगिक क्षेत्रमा मेसिन अपरेटरको काम गर्नेे सीता श्रेष्ठ भन्छिन् ‘सँगै उस्तै मेसिन उत्ति घण्टा चलाउँदा पनि महिला भएकै कारण हामीले कम ज्याला पाउँछौं । सुत्केरी बिदा र शिशु स्याहारको व्यवस्था पनि छैन ।’ यसबारेमा पटक–पटक मजदुर संगठनहरूसँग कुरा राखे पनि खासै चासो नराखेको उनले गुनासो गरिन् । 
 
जिफन्ट महिला कमिटी अध्यक्ष गोमा आचार्य समान काममा महिला–पुरुष मजदुरबीच समान ज्यालाको कानुन बने पनि सबै ठाउँमा व्यवहारमा लागु हुन नसकेको स्वीकार गर्छिन् । ‘महिलाको श्रमको अझै पनि समान भएको छैन । सस्तो र हलुका रूपमा लिइएको छ,’ उनी गुनासो गर्छिन्, ‘उही उद्योगमा उही काम गर्ने महिला पुरुषभन्दा कम तलब र सुविधा पाउन बाध्य छन् । तलब मात्रै होइन त्यहाँबाट पाइने सुविधामा पनि भेदभाव छ ।’ 
 
मजदुर युनियन बलियो भएको क्षेत्रमा असमान व्यवहार र तलबका समस्या कम भएकाले कार्यान्वयनका लागि सरकारको अनुगमन, कारबाही र युनियनको पहलकदमी बलियो हुनुपर्ने उनले बताइन् । श्रम कार्यालय बुटवलले अनुगमन र कारबाहीका बाबजुद पनि समान काममा असमान ज्याला दिने प्रचलन पूर्णत: नरोकिएको जनाएको छ । निमित्त कार्यालय प्रमुख रोमलाल न्यौपानेले कार्यालयमा महिनाका करिब १० वटा उद्योग तथा प्रतिष्ठानका मजदुरबाट असमान ज्यालासम्बन्धी गुनासो पर्ने बताए । 
 
Published on: 6 May 2016 | Kantipur

Back to list

;