s

ठेकेदारले ज्याला नदिँदा मजदुरले दसैँ मनाउन पाएनन्

बडादसैँको उमंग र उत्साह यतिवेला सबैतिर छ । यो पर्व मनाउन सबै आ–आफ्नो शक्ति र गच्छेअनुसार चाँजोपाँजो मिलाउन व्यस्त छन् । तर, कैलालीको चुरे गाउँपालिका क्षेत्रको सडकमा काम गर्ने मजदुर भने दुई वर्षदेखिकाे पाउनुपर्ने ज्याला रकम नपाउँदा दसैँ कसरी मनाउने भन्ने चिन्तामा छन् ।

चाडपर्वले सबैतिर उत्साह छाइरहँदा आफूहरू ज्यालाका लागि भौँतारिनुपर्दा खल्लो महसुस भइरहेको पीडित स्थानीय प्रेम आचार्यले गुनासो गरे । खुटिया–दीपायल फास्ट ट्रयाक (द्रुतमार्ग)को हाटखोली सडक खण्डमा काम गरेका झन्डै एक सय ५० मजदुरलाई निर्माण कम्पनीले अहिलेसम्म ज्याला रकम नदिएको पीडित मजदुरले बताएका छन् ।

उनले भने, ‘निर्माण कम्पनीलाई ज्याला रकम उपलब्ध गराइदिन पटकपटक अनुरोध गर्दै आएका छौँ, तर निर्माण कम्पनीका प्रमुखले मजदुरको फोन उठाउनै छोड्दा ज्याला रकम डुब्ने चिन्तामा छौँ ।’

अर्का मजदुर रकिल घर्तीमगरले मजदुरले दैनिक काम गरेबापत पाउनुपर्ने दुई हजारदेखि ५० हजारसम्मको रकम लिन बाँकी रहेको जानकारी दिए । ‘मजदुर खोजेर निर्माणको काममा लगाइदिने आफूसहितका चारजनाको झन्डै १६ लाख निर्माण कम्पनीले भुक्तानी दिएको छैन,’ उनले भने ।

लामो प्रयासपछि ज्याला नपाएपछि निराश हुँदै कतिपय युवा कामदार कामको खोजीमा भारतको सिमलातर्फ हिँडेका छन् । यतिवेला स्याउ टिप्ने मौसम सुरु हुँदा काम पाउने आशामा मजदुर सिमलातर्फ गएको बताइएको छ । ज्याला रकम भुक्तानीमा सहयोग गरिदिन श्रम कार्यालय, वडा कार्यालय र प्रहरी निकायमा पुग्दा पनि आफूहरूको समस्या समाधान हुन नसकेको उनीहरूको गुनासो छ ।

मजदुरका समस्याबारे बुझ्न खोज्दा सडक निर्माणको ठेक्का पाएको अनिष्ठा निर्माण कम्पनीका रोशन आचार्य टेलिफोन सम्पर्कमा आउन चाहेनन् । खुटिया–दीपायल फास्ट ट्रयाकको निर्माणको काम संघीय सरकारको सडक विभागमातहतको निकायबाट भइरहेको छ ।

Published on: 10 October 2022 | Naya Patrika

Link

Back to list

;