s

द कोरियन डि्रम उत्कृष्ट

आप्रवासी कामदारको सपनामा आधारित नेपाली डकुमेन्ट्री 'द कोरियन डि्रम' ले नवौं अलजजिरा इन्टरनेसनल डकुमेन्ट्री फिल्म फेस्टिभलमा उत्कृष्ट जुरी अवार्ड हात पारेको छ । 

अशोक थापा निर्देशित २७ मिनेट लामो उक्त डकुमेन्ट्रले आप्रवासी कामदारको नाम र दाम कमाउने सपना बिरानो मुलुकमा पुगेपछि गर्नुपर्ने संघर्षसँगै कसरी भत्किँदै जान्छ भन्ने देखाइएको छ । पुरस्कृत हुँदै 'द कोरियन डि्रम' ले १५ हजार कतार रियाल -झन्डै ३ लाख ४५ हजार रुपैयाँ) सहित ट्रफी र उपहार जितेको छ । अपि्रल १८ देखि चार दिन चलेको फेस्टिभलमा ९० देशका १ हजार ३ सय ९५ लामा-छोटा फिल्मले आवदेन दिए पनि ३३ देशका २०५ मात्रै छनोट भएका थिए, जसमा नेपालका तर्फबाट थापाको डकुमेन्ट्रीले सर्टफिल्म प्रतिस्पर्धामा १५ जना जुरीको मन जित्न सफल भएको हो । 'प्रतिष्ठित फेस्टिभलमा छानिनु नै पनि ठूलो उपलब्धि हो । झन् त्यसमा पनि अवार्डेड हुँदा जिम्मेवारी थपिएको महसुस गरिरहेको छु,' अशोक थापाले आफूले अन्तर्राष्ट्रिय स्तरको डकुमेन्ट्री बनाएकोमा निश्चिन्त भएकाले पनि पुरस्कृत हुँदा अचम्म लाग्नुभन्दा जिम्मेवारीबोध महसुस भएको सुनाए । 

उनले आफ्नो डकुमेन्ट्रीले भाषा, संस्कृति फरक भए पनि कामदारले जहाँ गएर पनि काम गर्न पाउनुपर्ने र बाँच्न पाउने अधिकार सुरक्षित हुनुपर्ने माग गरेको बताए । 'द कोरियन डि्रम' लाई अलजजिरा फेस्टिभलमै पि्रमियर गरिएको हो । स्वदेशी दर्शकका लागि छिट्टै देखाउने बताएका थापाले विदेशी ५/६ फेस्टिभलमा पनि सहभागिताका लागि पेस गरेको खुलाए । उनले यसअघि पनि कोरियाकै नेपाली आप्रवासी कामदारको विषयमा 'बरिड इन टिअर्स' डकुमेन्ट्री बनाएका छन् ।

Published on: 27 April 2013 | Kantipur

Back to list

;