s

थप रोजगारी आवश्यक: विश्व बैँक

बढ्दो बेरोजगारीले नेपालमात्र नभई विश्वका विकसित मुलुकहरू पनि उत्तिकै आक्रान्त भएको विश्व बैंकको एक प्रतिवेदनले देखाएको छ। साथै प्रतिवेदनले विश्वव्यापीरूपमा थप रोजगारीका अवसर सिर्जना हुनुपर्नेमा जोड पनि दिएको छ। 

'काम' शीर्षकमा उक्त बैंकको यहाँस्थित कार्यालयले आज सार्वजनिक गरेको यो वर्षको विश्व विकास प्रतिवेदनमा आगामी १५ वर्षमा ६० करोड नयाँ रोजगारी सिर्जना गर्नुपर्ने उल्लिखित छ।

प्रतिवेदन सार्वजनिकीकरण समारोहमा उक्त बैंकका यहाँस्थित प्रबन्धक ताहासिन सैयदले नेपालको राजनीतिक सङ्क्रमण शीघ्र अन्त्य भई रोजगारीका अवसर खुल्ने तथा आर्थिक गतिविधिमा विस्तार हुने विश्वास व्यक्त गरे।

उद्यमशीलताको विकास, व्यावसायिक शिक्षा, महिला सशक्तीकरणका विषयलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिँदै उहाँले हरेक नेपाली महिलाको लगनशीलता, कामप्रतिको समर्पण र पुँजीलाई उत्पादकत्व वृद्धिमा उपयोग गर्ने गुणको प्रशंसा गरे।

पूर्वअर्थमन्त्री मधुकरशमशेर जवराले महिलाले घरखेतको दोहोरो जिम्मेवारी बहन गर्नुपरेको, कृषिको व्यावसायिकीकरण नहुँदा आयस्रोत खुम्चिएको बताउँदै वन पैदावारको अधिक उपयोग गर्न सके ग्रामीण क्षेत्रमा विद्यमान गरिबी केही हदसम्म कम गर्न सहयोग पुग्ने विचार व्यक्त गरे।

प्रतिवेदनका मुख्य बुँदाबारे जानकारी दिँदै त्यसका लेखक अर्थशास्त्री जेस्को हेन्चेलले कृषि क्षेत्र नै नेपालको आर्थिक समृद्धिको वाहक र रोजगारीका पर्याप्त अवसर सिर्जना गर्ने क्षेत्र भएकाले त्यसतर्फ विशेष ध्यान दिन सम्बद्ध पक्षलाई सुझाव दिए।

अर्का अर्थशास्त्री अर्पिता नेपालले विधिको शासन बलियो नहुँदा व्यवसाय गर्ने वातावरण नरहेको, उद्योग-व्यवसाय नफस्टाउँदा रोजगारीका अवसर गुमेका, श्रम ऐन उद्योग एवम् लगानी मैत्री नभएकाले लगानीकर्ताको आत्मविश्वास गुमेको टिप्पणी गरे।

नेपाल बैंकिङ प्रशिक्षण प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले युवावर्गलाई स्वदेशमा नै रोजगारीका अवसर उपलब्ध नगराए भविष्यमा मुलुक नै युवाविहीन हुनसक्ने जोखिम बढेको बताए।

प्रतिवेदनअनुसार एक अर्ब ६० करोड मानिस तलब वा ज्यालामा काम गर्छन् भने एक अर्ब ५० जना कृषि वा स्वरोजगारीमा व्यस्त छन्। त्यसैगरी, दुई करोड १० लाख मानिस बलपूर्वक काममा लगाइएका छन् भने ६२ करोड एक लाख जना लेखपढ पनि गर्दैनन् र काम पनि गर्दैनन्।

त्यस्तै, नौ करोड मानिस कामको खोजीमा विदेशिएका छन् भने ११ करोड ५० लाख बालबालिका जोखिमपूर्ण अवस्थामा काम गरिरहेका छन्।

Published on: 10 March 2013 | Nagarik

Back to list

;