s

थाल ठटाउँदै सडकमा निस्किए चिया मजदुर

लक्ष्मी काफ्ले
 
झापा र इलामका चिया मजदुर सरकारले तोकेको न्यूनतम ज्याला पाउनुपर्ने मागसहित आन्दोलनमा रहेका चिया मजदुरले बुधबार थाल बोकेर सडकमा जुलुस निकालेका छन् । 
 
गत साउनदेखि लागु हुनेगरी सरकारले चिया बगान तथा कारखानामा कार्यरत् श्रमिकको न्यूनतम ज्याला ३ सय ८५ रुपैयाँ तोकिदिएको थियो । तर, चिया मजदुरले न्यूनतम ज्याला अझै पाएका छैनन् । सरकारले तोकेको ज्याला चिया उद्योगीले दिन नमानेपछि मजदुर आन्दोलनमा उत्रिएका हुन् । १७ चैतदेखि सम्पूर्ण चिया प्रतिष्ठान बन्द गरी मजदुर आन्दोलित छन् ।
 
सरकारले नयाँ ज्याला तोकेको १० महिना पूरा भइसक्दा पनि पुरानै ज्याला पाइरहेको मजदुरहरुको गुनासो छ । हाल चिया मजदुरले दैनिक २ सय ७८ रुपैयाँ ज्याला पाइरहेका छन् । ‘साउनयता सरकारले तोकेको भन्दा १ सय ७ रुपैयाँ कम पैसा पाइरहेका छन्,’ अखिल नेपाल चिया मजदुर संघकी अध्यक्ष सीता सापकोटाले भनिन्, ‘ज्याला पाउनका लागि जस्तोसुकै कदम उठाउन तयार छौँ ।’
 
चिया बगान व्यवस्थापनलाई पटक–पटक ऐनअनुसारको ज्याला दिन माग राख्दा समेत सुनुवाइ नभएको नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका उपाध्यक्ष सहिकुमार राईले बताए । ‘तोकेअनुसारको ज्याला नपाएपछि कामलाई निरन्तरता दिइरहन सकिएन,’ उनले भने, ‘यसकारण सबै मजदुर सडकमा छौँ ।’
 
ऐनअनुसारको ज्याला नपाएको भन्दै गतवर्ष पनि चिया मजदुर विरोधमा उत्रिएका थिए । राजनीतिक दलको आश्वासनका कारण दसैँअघि फिर्ता भएको आन्दोलन फेरि दोहोरिएको हो । ‘अब कुनै पनि बहानामा मजदुरको आन्दोलन रोकिँदैन’, जिफन्ट प्रदेश–१ का सदस्य सन्तकुमार राईले भने, ‘जसरी भए पनि हामीले ऐनले तोकेको ज्याला पाउनुपर्छ ।’ 
 
झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुममा चिया उत्पादन हुँदै आएको छ । नेपालमा चिया बगान स्थापना भएको १ सय ५५ वर्ष भइसकेको छ । त्यसयता चिया श्रमिकहरुले चरम शोषण भोग्दै आएको मजदुर नेताहरु बताउँछन् । मजदुर संगठनहरुका अनुसार मुलुकमा हाल ५३ हजार चिया श्रमिक छन् ।
 
Published on: 18 April 2019 | Naya Patrika

Back to list

;