s

थाइल्यान्डमा बसेर वैदेशिक रोजगारका नाममा ठगी

सुवास गोतामे

डिफ्युजन नोटिस जारी गरिएका गुरुङ पक्राउ

भोजपुर हेलौचीका पर्शुराम गुरुङको नाम वैदेशिक रोजगारीका नाउँमा ठगिएका युवामाझ परिचित छ ।०७१ सालमै थाइल्यान्डको बैंककमा बसेर वैदेशिक रोजगारका नाममा नेपाली युवा ठग्दै आएका गुरुङ भर्खरै मात्र नेपाल प्रहरीको पञ्जामा परेका छन् । 

झण्डै २ सय नेपाली उनीबाट ठगिएका छन् । क्यानडा, फ्रान्स, कोरिया, मकाउ, अस्ट्रेलिया र अमेरिकासहित युरोपेली मुलुकमा समेत रोजगारी दिने नाममा उनले ठगेको प्रहरी अनुसन्धानले देखाएका छन् । पीडितले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी दिएपछि उनीविरुद्ध पटकपटक मुद्दासमेत चलेको छ ।
 
गुरुङले सक्कलीबाहेक अन्य ७ नामबाट ठगेका थिए । कमल, अनमोल, पारस, किम, मनोज, अधिराज थापामगर र प्रताप गुरुङ उनका छद्म नाम हुन् । उनले ठग्नकै लागि क्यानडाको नक्कली राहदानीसमेत बनाएका थिए । राहदानीमा उनले अनमोल कोराङ्गी लामा नाम उल्लेख गरेका छन् । क्यानडाको होलि इन र हायात कम्पनीमा सुपरभाइजरको नक्कली परिचयपत्र बनाएर पीडित युवालाई जागिरको ग्यारेन्टी गर्दै उनले ठगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
 
क्यानडाको पीआर हूँ भन्दै उनले वैदेशिक रोजगारीमा पठाइदिने नाममा नेपाली युवालाई नक्कली भिसा बनाएर जनही ५ देखि २० लाख रुपैयाँसम्म ठगेको पीडितले उजुरी दिएका छन् । सीआईबीमा परेका उजुरीअनुसार पनि उनले २ सयभन्दा बढी पीडितबाट १३ करोड रुपैयाँभन्दा धेरै ठगी गरेको देखिन्छ । भिजिट भिसामा बैंकक पुर्‍याएर उनले युवालाई थाई प्रहरीले गोली हान्छ भन्दै तर्साएर कोठामा बन्धक बनाउने, उनीहरूसँग भएको अमेरिकी डलरसमेत जबर्जस्ती खोसेको पीडितले बताएका छन् ।
 
गुरुङको कर्तुत यति मात्र होइन । नेपालमा रहेका आफन्तलाई फोन गर्न लगाएर पीडितसँग उनले थप रकम असुलेको सीआईबीले जनाएको छ । गुरुङ एकाएक सम्पर्कविहीन हुने र क्यानडाको फ्लाइट हुन्छ भन्दै नेपाल जाने आरएको फ्लाइटमा चेक इन गराएर फरार हुने गरेका थिए ।
 
५२ पीडितले सीआईबीमा गुरुङविरुद्ध उजुरी दिएका थिए । ०७१÷७२ मा उनीविरुद्ध सीआईबीले मानव बेचबिखन तथा ओसारपसार र ठगी मुद्दा दर्ता गरेको थियो । गुरुङलाई पक्रन सम्भव नभएपछि प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गर्‍यो, ०७२ असार १८ मा । यसअघि सीआईबीकै सुझावमा उनको राहदानी रद्द गरिएको थियो ०७२ जेठ २२ मा ।
 
नेपाली राहदानी रद्द भए पनि उनी बिनाराहदानी ट्राभल डकुमेन्ट बनाएर थाइल्यान्ड बस्दै आएका थिए । सीआईबीले थाइल्यान्डस्थित नेपाली दूतावास र अन्य निकायसँग समन्वय गरेपछि थाई प्रहरीले उनलाई ०७५ चैत १३ मा पक्राउ गर्‍यो । सरकारको आग्रहमा थाइल्यान्डले उनलाई शुक्रबार नेपाल डिपोर्ट गरेको हो । सीआईबीले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
 
घटनाबारे जानकारी दिन शनिबार गरेको पत्रकार सम्मेलनमा सीआईबी प्रमुख डीआईजी निरज शाहीले गुरुङको ठगीबारे बताएका थिए । उनले भने, ‘नेपाली युवालाई फेसबुक, ह्वाट्सएप, इमोबाट सन्देश पठाएर वैदेशिक रोजगारमा जाने युवा पहिचान गर्ने र इच्छुकलाई ठगी गर्ने गरेको देखियो ।’ पीडितलाई नै प्रयोग गरेर उनले नेपालमा संकलित रकम आईएमई, सिटी एक्सप्रेस र प्रभु मनी ट्रान्सफरमार्फत थाइल्यान्डमा पठाउन लगाएको जानकारी डीआईजी शाहीले दिए ।
 
‘पैसा पठाउन पीडितलाई नै प्रयोग गरेपछि अनुसन्धान गर्दै जाँदा पीडितविरुद्धै उजुरी हुने र मुद्दा दर्ता गर्ने अवस्था आयो’, उनले भने, ‘अहिलेसम्म गुरुङविरुद्ध ठगीमा ८५ उजुरी परेको छ । २ सयभन्दा बढी पीडित सम्पर्कमा आएका छन् ।’ गुरुङविरुद्ध अझै उजुरी आउने दाबी उनको छ ।
 
Published on: 26 May 2019 | Annapurna Post

Back to list

;