s

ठगीको रकम हुन्डीबाट मलेसिया

गोपाल साउद

१ अर्ब ५ करोड रुपैयाँ अवैध रूपमै मलेसिया पठाइएको खुलासा

वैदेशिक रोजगारीका लागि मलेसिया गएका कामदारबाट माइग्राम्स (मेडिकल दर्ता) का नाममा ठगिएको १ अर्ब ५ करोड रुपैयाँ अवैध रूपमै मलेसिया पठाइएको खुलेको छ । मेडिकल रजिस्ट्रेसनका नाममा विभिन्न म्यानपावर कम्पनीले मलेसियाको एक निजी कम्पनीलाई हुन्डीमार्फत सो रकम पठाएका हुन् ।
 
मलेसियाको बेस्टिनेट एसडिएन बिएचडी नामक कम्पनीले कामदारको स्वास्थ्य परीक्षण (बायोमेट्रिक) गर्नुपूर्व अनिवार्य माइग्राम्सको सफ्टवेयरमार्फत मेडिकल रजिष्ट्रेसन गर्नुपर्ने संरचना खडा गरेको छ । स्वास्थ्य परीक्षणपूर्व नै प्रतिव्यक्ति कामदारले मेडिकल दर्ता शुल्क १ सय २५ रिंगिट (३ हजार ४ सय २२ रुपैयाँ) उक्त कम्पनीको खातामा जम्मा गर्नुपर्ने हुन्छ । तर, त्यसरी विदेशी कम्पनीको खातामा रकम जम्मा गर्न कुनै स्वीकृति नदिइएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
 
मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा ३७ मेडिकल संस्थाको सिन्डिकेट कायम छ । उनीहरूले बायोमेट्रिक शुल्कबापत प्रतिव्यक्ति कामदार ४ हजार ५ सय रुपैयाँ लिँदै आएका छन् । त्यसमध्ये केही स्वास्थ्य व्यवसायीलाई सरकारले कारबाहीसमेत सुरु गरिसकको छ ।
 
असार ०७२ देखि बायोमेट्रिक तथा माइग्राम्सका नाममा मलेसिया जाने कामदारमाथि ठगी सुरु भएको हो । त्यसयता गत वैशाखसम्म ३ लाख ७ हजार १ सय ११ जना नेपाली कामदार मलेसिया गएको सरकारी तथ्यांक छ । सोही तथ्यांकलाई आधार मान्दा कामदारबाट स्वास्थ्य परीक्षणका नाममा मेडिकल संस्थाले १ अर्ब ३८ करोड २० लाख रुपैयाँ ठगी गरेको देखिन्छ । त्यसबाहेक मेडिकल दर्ताका नाममा उठाइएको १ अर्ब ५ करोड १० लाख रुपैयाँ अवैध रूपमा बेस्टिनेट कम्पनीको खातामा गएको छ ।
 
यसरी मलेसिया जान्छ माइग्राम्सको शुल्क
 
कामदार विदेश पठाउन पूर्वस्वीकृति लिनुपर्ने हुन्छ । त्यस आधारमा म्यानपावर व्यवसायीहरूले विज्ञापन प्रकाशन गरी कामदार छनोटको प्रक्रिया अगाडि बढाउँछन् । छनोट भएका कामदार संख्याका आधारमा म्यानपावर कम्पनीले प्रतिव्यक्ति १ सय २५ मलेसियन रिंगिट मलेसियाको मे बैंकमा रहेको बेस्टिनेट कम्पनीको खातामा जम्मा गर्नुपर्ने हुन्छ । तर, यसरी नेपालबाट विदेशी बैंकको खातामा रकम जम्मा गर्न वैधानिक संयन्त्र छैन । सोहीकारण मेनपावर कम्पनीहरूले हुन्डीमार्फत नै कामदारबाट उठाइएको रकम मलेसिया पठाउने गरेको एक व्यवसायीले बताए ।
 
माइग्राम्स दर्ताका आधारमा बायोमेट्रिक परीक्षण गर्ने स्वास्थ्य संस्थाले कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका छन् । त्यसरी स्वास्थ्य परीक्षण गर्दा मेडिकल संस्थाले प्रतिव्यक्ति कामदार थप ४ हजार ५ सय रुपैयाँ असुल्ने गरेका छन् । बेस्टिनेट कम्पनीले माइग्राम्सको सफ्टवेयरमा पहुँच प्राप्त गर्नका लागि सम्बन्धित म्यानपावरलाई युजरनेम र पासवर्डसमेत उपलब्ध गराएको हुन्छ ।
 
राष्ट्र बैंकले छानबिन गर्न सक्छ
नारायण पौडेल
प्रवक्ता, नेपाल राष्ट्र बैंक
 
यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । सम्बन्धित निकायबाट लिखित आएपछि राष्ट्र बैंकले समेत छानबिन सुरु गर्छ । राष्ट्र बैंकको स्वीकृति लिएको भए कति रकम विदेश पठाइयो भन्ने यकिन भन्न सकिन्थ्यो । तर, अवैध रूपमा पठाइएको रकमका बारेमा हामीलाई जानकारी हुँदैन ।
 
अनुसन्धान जारी छ
विश्वराज पोखरेल, एसएसपी, महानगरीय प्रहरी परिसर, काठमाडौं
 
माइग्राम्सको पैसा विभिन्न स्रोतबाट मलेसिया गएको देखिन्छ । त्यस विषयमा अनुसन्धान जारी नै छ । अझै निष्कर्षमा पुग्न सकिएको छैन । अनुसन्धानको सिलसिलामा आवश्यतकताअनुसार नेपाल राष्ट्र बैंकको सहयोगसमेत लिन्छौँ ।
 
Published on: 21 June 2018 | Naya Patrika

Back to list

;