s

ठगी गर्ने म्यानपावर सञ्चालकलाई प्रहरीको उन्मुक्ति

 टेकराज थामी

विदेश लैजाने भनी पाँच करोडभन्दा बढी ठगी गर्ने बिएन्डबी एचआर म्यानेजमेन्टका सञ्चालक अजय तामाङलाई प्रहरीले भरपर्दो प्रमाण नभएको भन्दै अनुसन्धान नै नगरी छाड्यो डिएसपी दुर्गाराज रेग्मी भन्छन्– भरपर्दो प्रमाण भेटिएन । न जाहेरी नै पर्‍यो । त्यसैले अनुसन्धान गर्न आवश्यक देखिएन । घाना, जापान, माल्दिभ्सलगायत मुलुक लैजाने प्रलोभनमा सय युवाबाट पाँच करोड रुपैयाँभन्दा धेरै ठगीधन्दामा संलग्न बिएन्डबी एचआर म्यानेजमेन्टका सञ्चालक अजय तामाङलाई प्रहरीले कुनै कारबाही नगरी छाडेको छ । वैदेशिक रोजगार विभागको २४ पुसको पत्रपछि पीडितको सहयोगमा तामाङ बुधबार टोखाबाट पक्राउ परेका थिए । पक्राउपछि तामाङलाई महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासत कक्षमा राखिएको थियो । तर, वृत्तले उनीविरुद्ध अनुसन्धान नै नगरी बिहीबार साँझ छाडिदिएको छ ।  वृत्त प्रमुख डिएसपी दुर्गाराज रेग्मीले भरपर्दो प्रमाण नभएपछि छाडिएको बताए । ‘तामाङलाई हिरासतमा लिएका हौँ, तर भरपर्दो प्रमाण भेटिएन । न जाहेरी नै प¥यो । त्यसैले अनुसन्धान गर्न आवश्यक देखिएन,’ उनले भने । तर, पीडितहरूले भने तामाङविरुद्ध वैदेशिक रोजगार विभागले नै पत्र काटेको बताएका छन् । विभागबाट जारी तामाङविरुद्धको पत्र देखाउँदै बुढानीलकण्ठ–६ का ४० वर्षीय मोहन कार्कीले भने, ‘बी एन्ड बी म्यानपावरबाट ठगिएपछि हामीले यसका सञ्चालकविरुद्ध विभागमा जोहरी दियौँ । विभागले सञ्चालक तामाङविरुद्ध पक्राउ पुर्जी नै जारी गर्‍यो । सोही पुर्जीका आधारमा हाम्रै सहयोगमा प्रहरीले पक्राउ पनि गर्‍यो । हाम्रो फसेको रकम असुल हुनेछ भन्ने सोचेका थियौँ, तर प्रहरीले अनुसन्धान नै नगरी छाडिदियो ।’ घाना, जापान र माल्दिभ्स लैजाने प्रलोभनमा सयभन्दा धेरै युवाबाट पाँच करोडभन्दा धेरै रकम ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागको पत्रविपरीत प्रहरीको कदम, पीडित युवा आक्रोशित तामाङविरुद्ध विभागले गत २४ पुसमा प्रहरी प्रधान कार्यालयको नाममा आवश्यक कारबाही गर्न भन्दै पत्र लेखेको थियो । प्रहरी प्रधान कार्यालय नक्सालका नाममा जारी पत्रमा लेखिएको छ, ‘बी एन्ड बी एचआर म्यानेजमेन्ट संस्थाका सञ्चालक अजय तामाङसमेत वैदेशिक रोजगार ऐन ०६४ को दफा आकर्षित हुने गरी विभागको अनुमति लिई वैदेशिक रोजगारको कार्य अघि बढाउनुपर्नेमा सो नगरी कानुनविपरीत व्यक्तिलाई घाना, जापा पठाउने भनी रकम असुल गरेको र कतिलाई विभिन्न मुलुक पुर्‍याई घाना लगेको र कतिलाई जापान पठाउने भनी रकम असुल गरेको देखिन्छ । संस्थागत आडमा कामदारलाई नै गैरकानुनी रूपमा विदेश पठाउने कार्यमा संलग्न भएको देखिँदा संस्थाका सञ्चालकविरुद्ध विस्तृत अनुसन्धान गर्न आवश्यक कागजातसहित पठाइएको छ ।’

घानामा तीन महिना अलपत्रपछि नेपाल फर्किएका काभ्रे बनेपा–१० का ३७ वर्षीय राममिलन राउतले प्रहरीले पीडितको जाहेरी नै नलिएको बताए । उनले भने, ‘पक्राउपछि हामी बिहीबार दिनभर प्रहरी वृत्त बानेश्वर थियौँ । पीडित साथीहरूले जाहेरी दिन खोजे । कतिपयले कानुन व्यवसायीलाई लेख्न लगाएर जाहेरी दिन खोजे, तर दर्ता गराउन खोज्दा प्रमाण नभएको भन्दै वैदेशिक रोजगार विभाग जाने भनियो । विभागले पनि सबै काम प्रहरीबाटै हुने भनेर यतै फर्काउने काम गर्‍यो । दिनभर यता र उता गर्दै दिन बित्यो । अन्त्यमा प्रहरीले पक्राउ गरेको मान्छेलाई नै छाडिदियो ।’

१८ युवा तीन महिना घानामा अलपत्र

राउतका अनुसार म्यानपावरले प्रतिमहिना १५ सय ७० अमेरिकी डलर कमाइ हुने प्रलोभन बाँडेको थियो । सोही प्रलोभनपछि युवाहरू प्रतिव्यक्ति आठदेखि १० लाख रुपैयाँ बुझाउन तयार भएका थिए । भिजिट भिसामा दुबई हुँदै घाना पुगेपछि पो युवाले आफू ठगिएको भेउ पाएका थिए । त्यसबेलासम्म म्यानपावरले घानामा १८ युवालाई अलपत्र पारिसकेको थियो । जापान, माल्दिभ्स, फ्रान्स, क्यानडालगायतका मुुलुक लैजाने भन्दै सयभन्दा धेरै युवाबाट म्यानपावरले पाँच करोड रुपैयाँभन्दा धेरै रकम असुल गरिसकेको थियो । तीन महिना विदेशमा अलपत्र परेपछि फर्किएका राउतले भने, ‘हामी घाना पुग्यौँ । त्यहाँ हामीजस्तै अन्य १८ युवा पनि थिए । उनीहरू सबै एउटै म्यानपावरबाट त्यहाँ पुगेका रहेछन् । त्यहाँ हामीलाई तालिम दिने भनेको थियो । त्यो पनि दिएन । न सेक्युरिटी गार्डमै नियुक्त गर्‍यो । बुझ्दा उनीहरूले भनेको कम्पनी नै नक्कली रहेछ । बल्ल ठगिएको महसुस गर्‍यौँ ।’

जापान लैजाने भन्दै ३७ युवा ठगी

मासिक दुई हजार तीन सय १० अमेरिकी डलर कमाइ हुने प्रलोभनपछि काभ्रे रोसीका ३५ वर्षीय भीमबहादुर मगरले बी एन्ड बी म्यानपावरमा पाँच लाख रुपैयाँ बुझाए । उनले म्यानपावर सञ्चालक अजय तामाङको बैंक खातामै पैसा हालेका थिए । तर, न उनको जापान जाने सपना पूरा भयो, न त फसेको रकम नै उठ्न सक्यो । पैसा बुझाएको रसिद हातमा लिएर महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर धाइरहेका उनले नयाँ पत्रिकासँग भने, ‘ऋण गरेर पाँच लाख रुपैयाँ जम्मा गरेँ । सरक्क ल्याएर म्यानपावरलाई बुझाएँ । रसिद पनि लिएँ । तर, जापान लगेन । पक्राउपछि उनीविरुद्ध यही रसिद राखेर जाहेरी दिन खोजेँ । तर, प्रहरीले प्रमाण पुग्दैन भन्दै जाहेरी नै लिन मानेन ।’ मगरका अनुसार सो म्यानपावरले जापान लैजाने प्रलोभनमा कम्तीमा ३७ युवालाई ठगेको छ ।

Published on: 7 February 2020 | Naya Patrika

Link

Back to list

;