s

ठगी मुद्दामा आइटी अफिसर पक्राउ

मदन ठाकुर

रौतहट- रौतहटको गरुडा नगरपालिकाका आइटी अफिसर भूपनारायण यादव ठगी मुद्दामा पक्राउ परेका छन्। गरुडा नपा ८ बसबिटी जिंगडियाका शेख कादिरले दिएको उजुरीको आधारमा नगरपालिका कर्मचारी यादव पक्राउ परेका हुन्।

शेख कादिरले समाजवादी पार्टीका राष्ट्रिय परिषद सदस्य जयनाथ यादवविरुद्ध पनि ठगी मुद्दा दिएका छन्। प्रहरीले समाजवादी नेता यादवको पनि खोजी गरिरहेको छ। पक्राउ परेका आइटी अफिसर यादवमाथि अनुसन्धानको लागि जिल्ला अदालत गौरबाट चार दिनको म्याद थप गरिएको छ। आइटी अफिसर यादवलाई जिल्ला प्रहरी कार्यालय गौरमा राखी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपि नवीन कार्कीले बताएका छन्।

आइटी अफिसर यादव र समाजवादी नेता यादवविरुद्ध शेख कादिरले दश लाख रुपैयाँ ठगीको मुद्दा दिएका छन्। समाजवादी नेता यादवले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र प्रदेश राज्यमन्त्री योगेन्द्र यादवसँग आफ्नो राम्रो सम्बन्ध रहेको दाबी गर्दै शेख कादिरको छोरालाई एक महिनाभित्र अष्ट्रेलिया पठाइदिने लोभ देखाइ दश लाख रुपैयाँ मागेका थिए।

कम समयमा दश लाख रुपैयाँ जोरजाम गर्न गाह्रो हुन थालेपछि समाजवादी नेता यादवले नै मेरो आफन्तको नाममा जग्गा पास गरिदिए पैसाको व्यवस्था गरिदिन्छु भनेपछि गरुडा नगर क्षेत्रकै तीन कठा तीन धुर जग्गा बन्धकीस्वरुप आइटी अफिसर यादवको नाममा पास गरेका थिए। जग्गा पास भएपछि त्यसवापतको दश लाख रुपैयाँ समाजवादी नेता यादवले आफ्नो खातामा हाल्न लगाएका थिए।

छोरो अस्ट्रेलिया जान्छ भन्ने आशामा रहेका शेख कादिरले चार महिना पर्खिदा पनि नेता यादवले छोरोलाई नपठाएपछि नेता यादवलाई कि त छोरोलाई पठाऊ हैन भने पैसा फिर्ता गर्नु भनेर ताकेता गर्न थालेका थिए। शेख कादिरलाई पाखा लगाउन नेता यादवले २०७७ को मिति राखेर कादिरको नाउँमा १२ लाखको चेक काटेका थिए। बैंकमा चेक साट्न जाँदा चेकमा लेखिएको मिति आउन अझै आठ महिना कुर्नुपर्ने तथा खातामा पैसा नै नभएको देखिएपछि पीडित कादिर छाँगाबाट खसेजस्तै भए।

करोडौँ मूल्य पर्ने जग्गा केही लाखमा अर्काको नाममा पास गरेको र छोरो बाहिर जान नपाएको तथा चेक पनि गलत दिएपछि न्यायको लागि जिल्ला प्रहरी कार्यालय रौतहट पुगेको कादिर बताउँछन्।

Published on: 6 February 2020 | Nagarik

Link

Back to list

;