s

ठगी आरोपमा पूर्वफुटबल खेलाडी रायमाझीकी श्रीमती पक्राउ

नेपाली फुटबलका पूर्वस्ट्राइकर निराजन रायमाझीकी श्रीमती संगीता रायमाझी ठगी आरोपमा पक्राउ परेकी छिन् । उनलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएका प्रहरी टोलीले शुक्रबार काँडाघारीबाट पक्राउ गरेको हो । आकर्षक रोजगारमा क्यानाडा पठाइदिने भन्दै १२ जना युवालाई ठगी गरेको जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले बैकिङ तथा वैदेशिक रोजगार कसुरमा उनलाई पक्राउ गरिएको जानकारी दिए । ‘वैदेशिक रोजगारमा पठाइदिने भन्दै युवासँग करोड रुपैयाँ असुल गरेको अभियोगमा संगीता अधिकारी पक्राउ परेकी हुन् । उनीविरुद्ध १२ जना युवाले जाहेरी दिएका छन् । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ,’ उनले भने । एक करोड ३८ लाख ठगी

प्रहरीका अनुसार उनले प्रतियुवा आठदेखि २६ लाख रुपैयाँका दरले रकम संकलन गरेकी थिइन् । सबै गरी अहिलेसम्म एक करोड ३८ लाख रुपैयाँबराबरको ठगी भएको भन्दै उजुरी परेको प्रहरीको भनाइ छ । उनी ६ महिनादेखि बेपत्ता थिइन् । ‘झन्डै डेढ करोड रुपैयाँ ठगी भएको भन्दै जाहेरी परेको छ । आकर्षक रोजगारीमा पठाइदिने भन्दै रकम संकलन गर्ने गरेको पीडितको भनाइबाट खुलेको छ । उनलाई हामीले ६ महिनाअघिदेखि खोजिरहेका थियौँ,’ महाशाखाका एसएसपी सिंहले भने । क्यानडा पठाउन नसकेपछि फरार

कबोल गरेअनुसार क्यानडा पठाउन नसकेपछि संगीताले पैसा लिएका युवकहरूलाई विभिन्न बैंकको चेक काटेकी थिइन् । तर, उनले काटेका सबै चेक बाउन्स भएको प्रहरीले जनाएको छ । संगीताले काटेको चेक बाउन्स भएपछि मात्रै पीडितहरू कानुनी उपचारका लागि उजुरी दिन प्रहरी कार्यालय पुगेका थिए । प्रहरीका अनुसार उनले भक्तपुरका जयराम सुकुभुटुसँग २० लाख, रामकृष्ण सुवालसँग १९ लाख ९० हजार, दोलखाका सुदिन खड्कासँग २६ लाख २० लाख, काभ्रेका धीरेन्द्रकुमार पुलामीसँग २२ लाख ५० हजार र नवीन तामाङसँग २३ लाख २५ हजार रुपैयाँ लिएकी थिइन् ।

Published on: 2 December 2018 | Nayapatrika

Back to list

;