s

तेस्रो देश जान खोज्ने ४ भारतीय पक्राउ

जनकराज सापकोटा

नेपाल वायुसेवा निगमको आरए ४०९ कलसाइनको विमान हङकङको उडान भर्न तयारी हालतमा थियो । सबै यात्रु विमानभित्र बसिसकेका थिए । विमान चढ्ने भर्‍याङयुक्त गाडी हटाएर विमानको ढोकासमेत बन्द गरिसकिएको थियो ।

तर त्यति नै बेला अध्यागमनका उपसचिव दीपक नेपाल हतारहतार विमाननजिक पुगे । रन–वेतिर दौडने अन्तिम तयारीमा रहेको विमानभित्र गैरकानुनी तबरले केही यात्रु पसेको सूचना पाएको भन्दै उनले विमान रोक्न संकेत गरे ।
 
तत्कालै विमानभित्र छिर्ने भर्‍याङयुक्त गाडी ल्याइयो र विमानको ढोका खोलेर दुई यात्रुलाई निकालियो । आखिर के त्यस्तो घटना थियो जसले मंगलबार १० बजे उड्नुपर्ने विमानको उडान झन्डै डेढ घण्टा ढिलो बनाइदिएको थियो ।
 
अध्यागमन स्रोतका अनुसार एन ७१६१८८२ नम्बरको पासपोर्ट बोकेका जनक राई, आर २२१६४७९ नम्बरको पासपोर्टबाहक अमृता लामा, आर ५८५२९२० नम्बरको पासपोर्ट वाहक सोनी राई र पी८९९०३६१५ नम्बरको पासपोर्ट वाहक अनुशा तामाङ गैरकानुनी तबरले नेपालको बाटो हुँदै पर्यटक भिसामा हङकङ जाँदै थिए । यी चारै जना नेपालीमूलका भारतीय स्थलमार्गबाट केही दिनअघि मात्रै काठमाडौं आएका थिए । स्रोतका अनुसार चारै जनाको पासपोर्टमा यसअघि अन्य देश यात्रा गरेको रेकर्ड छैन ।
 
नेपालको बाटो हुँदै तेस्रो मुलुकजाने भारतीयले काठमाडौंस्थित भारतीय दूतावासबाट ‘नो अब्जेक्सन लेटर’ लिनुपर्छ । स्रोतका अनुसार मानव तस्करले ‘सेटिङ’ मा चारै जनालाई काठमाडौंबाट हङकङ उडाउँदै थिए । गैरकानुनी तबरबाट खाडीलगायत मुलुकमा नेपालको बाटो हुँदै भारतीय कामदार सप्लाई गर्ने क्रम पछिल्ला केही महिनायता अध्यागमन अधिकारीहरूकै मिलेमतोमा चलेको स्रोतको दाबी छ ।
 
विमानस्थल अध्यागमन डेस्कका नइन्द्र पौडेलले ‘नो अब्जेक्सन लेटर’ नै नहेरी चारमध्ये दुई जनाको पासपोर्टमा डिपार्चर छाप हानेका थिए । डिपार्चर छाप लाग्नेबित्तिकै ती दुई जना सजिलै विमानभित्र पुगेका थिए । अन्य दुईले भने भारतीय पासपोर्टमा नेपाली खोल हालेका थिए र उनीहरूसँग पनि ‘नो अब्जेक्सन लेटर’ थिएन । त्यसपछि विमानस्थलका अध्यागमन अधिकारीले उनीहरूसँग सोधपुछ थालेका थिए । ती दुई भारतीयले आफ्ना दुई साथी ‘नो अब्जेक्सन लेटर’ बिना नै विमानभित्र पुगिसकेको भन्दै आफूहरूलाई किन दु:ख दिएको भनी प्रश्न गरेपछि बल्ल अध्यागमनका अधिकारीले विमान रोक्न लगाएका थिए ।
 
विमानस्थल अध्यागमनका प्रमुख होमनाथ थपालियाले नेपाली पासपोर्टको खोल हालेका दुईलाई थप अनुसन्धानका लागि अध्यागमन विभागमा बुझाइएको र विमानभित्रै पुगेका दुईको भने पासपोर्ट खोसेर राखिएको बताए । ‘नो अब्जेक्सन लेटर’ नभएकालाई डिपार्चरको छाप हान्ने अध्यागमन अधिकारीमाथि समेत अनुसन्धान थालिने थपलियाले जानकारी दिए । ‘के कारण त्यस्तो भएको रहेछ बुझ्ने क्रम सुरु भइसकेको छ,’ कान्तिपुरसँग उनले भने । उच्च स्रोतका अनुसार पर्यटक भिसामा तेस्रो देश लगेर त्यहाँबाट खाडी मुलुक र अन्यत्र पठाउने मानव तस्करको गिरोह पछिल्लो समय सक्रिय भएको छ ।
 
Published on: 28 February 2018 | Kantipur

Back to list

;