s

तीन सय युवाबाट १५ करोड ठगी गर्ने तीनजना पक्राउ

आकर्षक रोजगारमा कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्सलगायत देश पठाइदिने प्रलोभनमा तीन सयभन्दा धेरैबाट १५ करोड रुपैयाँ ठगी गर्ने गिरोहका तीन सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका– १८ का २८ वर्षीय राजकुमार भट्ट, कास्की माछापुच्छ्रे गाउँपालिका– ८ का २२ वर्षीय नवीन विक र पोखरा महानगरपालिका– ८ का २३ वर्षीय पवन पन्त छन् ।

काठमाडौं अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूले फेसबुक, म्यासेन्जर, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमा फेक आइडी प्रयोग गरी रोजगारको जाली विज्ञापन सार्वजनिक गर्थे । सम्पर्कमा आएका युवालाई बैंक खातामा रकम जम्मा गर्न लगाउँथे । उनीहरूले तीन सयभन्दा बढीबाट १५ करोड रुपैयाँभन्दा धेरै रकम ठगी गरेको अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए । ‘सामाजिक सञ्जालबाट आकर्षक रोजगार खुलेको विज्ञापन गर्ने रहेछन् । सम्पर्कमा आएका युवालाई रकम जम्मा गर्न बैंक खाता दिएपछि सम्पर्कविहीन बन्ने रहेछन् । उनीहरूले तीन सयभन्दा धेरैबाट १५ करोडभन्दा धेरै ठगी गरेको अनुसन्धानबाट देखिन्छ,’ उनले भने ।

प्रहरीका अनुसार रोजगारमा जान तयार युवाबाट रकम संकलन गर्न उनीहरूले छुट्टै एकाउन्टेन्ट राखेका थिए । सोही एकाउन्टेन्टको खातामा सम्पर्कमा आएका युवालाई रकम जम्मा गर्न लगाउँथे । जम्मा भएको रकम बुझ्न उनीहरूले एकाउन्टेन्टलाई चेक काट्न लगाउँथे । यसका लागि मासिक ४० हजार रुपैयाँ तलब दिने गरेका थिए । प्रहरीले एकाउन्टेन्टलाई पनि पक्राउ गरेको छ । उनीहरूले भिसा प्रोसेसिङ भइरहेको भन्दै भिसा, वर्क पर्मिट, होटेल बुकिङ, पुलिस रिपोर्टलगायत फेक कागजात देखाई टिकट र डलर साट्ने भन्दै प्रतिव्यक्ति पाँच लाखदेखि १० लाखका दरले रकम उठाएर सम्पर्कविहीन हुने गरेको र हालसम्म १५ करोडभन्दा बढी रकम ठगी गरेको खुल्न आएको प्रहरीको भनाइ छ ।

Published on: 12 June 2024 | Naya Patrika

Link

Back to list

;