s

तीन वर्षयता ग्रील व्यवसायमा काम गर्ने ५३ श्रमिकको मृत्यु

तीन वर्षयता ग्रील व्यवसायमा काम गर्ने ५३ जना श्रमिकको ज्यान गएको पाइएको छ । ग्रील तथा स्टील व्यवसायी महासंघ, नेपालका अध्यक्ष मोहन कटुवालले श्रमिककाे सामान्य सुरक्षामा समेत ध्यान नदिएका कारण ज्यान गुमाउनु परेको बताए । आइतबार काठमाडौंमा सुरु भएको ग्रीलमा कार्यरत श्रमिकहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले ग्रील व्यवसाय जोखिमपूर्ण भएकाले सावधानीका साथ काम गर्न कार्यरत श्रमिकहरुलाई सचेत गराए ।

अध्यक्ष कटुवालले हातमा पञ्जा, आँखामा चश्मा लगाउने जस्ता सामान्य सावधानी नअपनाउँदा पनि ग्रीलमा काम गर्ने श्रमिकहरुको ज्यान जाने गरेकाले उनीहरुलाई सचेत गराउन प्रशिक्षण कार्यक्रम गरिएकाे स्पष्ट पारे ।

महासंघले ग्रील श्रमिकहरुको सुरक्षाका लागि देशभर यस्ता प्रशिक्षण कार्यक्रम संचालन गर्ने योजना तय गरेको छ । कटुवालले ग्रीलमा कार्यरत श्रमिकहरुको जीवन र उनीहरुले आर्जन गरेका धनको सुरक्षा गर्न महासंघले प्रशिक्षणसँगै चेतनामूलक कार्यक्रम संचालन गर्ने बताए।

Published on: 8 September 2019 | Naya Patrika

Back to list

;