s

तस्करको निसानामा महिला

सुवास गोतामे

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले १० महिना अवधिमा विभिन्न मुलुकबाट २ सय ७२ नेपालीको उद्धार गरेको छ। तीमध्ये २ सय ६ जना महिला छन्। तस्करले पुरुषभन्दा महिलालाई बढी निसानामा पार्ने गरेको यो तथ्यांकले देखाउँछ।

गिरोहले वैदेशिक रोजगारीका नाममा उनीहरूलाई विदेश पुर्‍याएर इच्छाविपरीत कार्य गर्न बाध्य पारेका थिए। ब्युरोका प्रवक्ता एसपी गोविन्द थपलियाका अनुसार मानव तस्करीको अवस्था भयावह छ। पीडितले उजुरी नगर्दा अनुसन्धानमा कठिनाइ भोग्नुपरिरहेको प्रवक्ता थपलिया बताउँछन्। पीडित महिलाले आफूलाई लैजाने व्यक्तिको नाम बताए पनि माथिल्लो तहको गिरोहबारे जानकार नभएको ब्युरोमा बताएका छन्।

‘भारतको मणिपुरमा हुने गरेको संगठित वेश्यावृत्तिमा नेपाली महिला बेचिए’, उनी भन्छन्, ‘पीडित आफैं र उनीहरूका आफन्तको सूचनाका आधारमा दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा १० महिनामा ७४ जना महिलाको उद्धार गर्‍यौं।’

मणिपुर, दिल्ली हुँदै इराकको किर्किस्तान, इन्डोनेसिया र म्यान्मासम्म पुर्‍याइएका नेपालीलाई ब्युरोले उद्धार गरेको हो। यसका लागि ब्युरोले परराष्ट्र मन्त्रालय र सम्बन्धित मुलुकस्थित दूतावाससँगको समन्वय गरेको थियो। गिरोहले भारतदेखि केन्यासम्म पुर्‍याएका ७४ महिलाको पनि उद्धार गरिएको ब्युरोले जनाएको छ। यी सबैलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको पाइएको ब्युरोको अनुसन्धानले देखाएको छ।

कोरिया र चीनमा घरजम गर्ने भनेर पुर्‍याइएका २९ महिला र बालबालिकालाई ब्युरोले उद्धार गरेको छ। ब्युरोका अनुसार यो घटनामा भने पीडितकै अभिभावकसम्मको मिलेमतो देखिन्छ। गरिबीकै कारण अभिभावकले छोरीलाई चीन पठाएबापत ५० देखि ६० हजार रुपैयाँ बुझेको खुलेको छ। बेचबिखनकै उद्देश्यले विभिन्न मुलुक पुर्‍याइएका ८४ पुरुष, महिला र बालबालिकाको उद्धार ब्युरोले गरेको छ। उनीहरूलाई घरेलु कामदारका रूपमा गिरोहले बेचेर आएका थिए। भारतको मणिपालमा मिर्गाैला तस्करीका लागि पुर्‍याइएका दुई जनालाई ब्युरोले उद्धार गरेको थियो। समयमै प्रहरीमा खबर गरेका कारण उनीहरू जोगिएका थिए।

मणिपुर पुगेका अधिकांशलाई काँकडभिट्टा हुँदै लगिएका थिए। प्रहरीले केही अपरेसन माइती नेपालको समन्वयमा गरेको थियो। ब्युरोका अनुसार उद्धार गरिएका पीडित धेरै पैसा कमाउने अभिलासा बोकेर तस्करलाई रकम बुझाउँछन्। कति त तस्करले भनेका मुलुकसम्म पुग्नै पाउँदैनन्। केन्या, मलावी, लिबिया र इन्डोनेसियामा वैदेशिक रोजगारका नाममा पीडितलाई भारतको दिल्ली हुँदै लगिन्छ। ब्युरोका अनुसार दिल्लीमै १० देखि १५ दिनसम्म तस्करले पैसा लिएर बेपत्ता भएपछि नेपालीलाई स्वदेश फकाईएका घटना पनि छन्।

‘सम्बन्धित देशमा कामदारको भिसा लाग्दैन भन्ने जान्दाजान्दै चोरबाटो हुँदै जान पीडितहरू राजी देखिएका छन्’, उनी भन्छन्, ‘जब तस्करले सबै पैसा हात पार्छ र बेपत्ता हुन्छ तब मात्रै उनीहरूले ठगिएको थाहा पाउँछन्।’ लिंग, उमेर र शोषणका आधारमा ३ सय ८७ जनाले ब्युरोमा उजुरी दिएका थिए। त्यसअनुरुप मुद्दा प्रक्रिया अघि बढाइएको ब्युरो जनाएको छ।

Published on: 29 December 2019 | Annapurna Post

Link

Back to list

;