s

तस्करीमा परेका ४४ महिला दुबई अध्यागमनद्वारा फिर्ता

होम कार्की

मानव तस्करहरुले बिना भिसा संयुक्त अरब इमिरेट्स (युएई)को दुबई विमानस्थलमा पुर्‍याएका ४४ जना नेपाली महिलालाई फिर्ता पठाएको छ ।

मानव तस्करहरुले ती महिलालाई इराक, युएई, ओमन, कुवेत र सिरिया पठाउन तीन दिनअघि दुबई विमानस्थलभित्र ट्रान्जिटको रुपमा राखिएको थियो । लामो समयसम्म महिलाहरु विमानस्थलको ट्रान्जिटमा रहेको भेटिएपछि दुबई अध्यागमनले भिसा नभएको भन्दै दिल्ली पठाएको थियो । दिल्लीले नेपाल पठाइदिएको हो । दिल्लीबाट दुबईसम्म लैजाने एयर इन्डियाबाटै फिर्ता पठाइएको हो । 

‘मानव तस्करहरुले दिल्लीबाट अनएराइभल भिसा पाउने भन्दै केन्याको टिकट देखाई पठाइएको थियो । दुबई पुगेपछि केन्याको टिकट रद्द गरी राखियो,’ दलालका गतिविधीलाई नजिकबाट नियालेका श्रोतले कान्तिपुरलाई भने, ‘तर कसैको भिसा समयमा ननिस्किएकोले महिलाहरु थुप्रिंदै गए । दुबई अध्यागमनका अधिकारीहरुले सोधखोज गर्दा कसैको भिसा थिएन । कसैको भिसा भएपनि टिकट थिएन ।’

सरकारले घरेलु कामदारको रुपमा पठाउन रोके पनि भारत हुँदै खाडी देशमा लैजान मानवतस्करहरु सक्रिय छन् । ती महिलाकाे दिल्लीस्थित शिखा ट्राभल्सबाट टिकट जारी गरिएको थियो । दुबईबाट मंगलबार १२ जना र बुधबार ३२ जना फिर्ता आएको अध्यागमन विभागका महानिर्देशक गंगाराम गिलालले बताए ।

फिर्ता पठाइएका महिलालाई सुरक्षीत आश्रयको लागि माइती नेपालमा पठाइएको छ । विभागले उनीहरुसँग छानविन गर्न थालेको छ । ‘हामी सबै एउटै दलालबाट गएको होइन । सबै विमानस्थलमै भेटिएको हो । हामी घरको काम गर्न लगिएको हो,’ एक महिलाले भनिन्, ‘दुई दिनसम्म दुबईमा विमास्थलमा बस्नुपर्‍यो ।’ 

अध्यागमनका अनुसार फिर्ता हुने महिलाहरु सिन्धुपाल्चोक, बर्दिया, रुपेन्द्रेही, मकवानपुर, चितवन, पाल्पा, सुनसरी लगायत जिल्लाका छन् । फिर्ता हुनेहरुमा कल्पना परियार दमाई, दिपा भुजेल, रामजानी थारु, सर्मिला राई, दीपा याख्खा, प्रतिमा भिजार, उमा पौडेल, साबित्र लहार, सीता तिवारी, रीताकुमारी वाइवा, उमा कामाद, कुमारी स्याङतान रहेका छन् । 

त्यस्तै उमादेवी कुवँर, छिङ्घडोमा शेर्पा, हिममाया बिश्वकर्मा, जमुना महत्तो, रुपाकुमारी चौधरी, मिना नेपाली, रिमा लिम्बु, फुलमाया पाख्रिन, प्रमिलाकुमारी उराउ, साँइलीमाया मोक्तान, सुनमाया तामाङ, डोल्मा तामाङ, कल्पना लिम्बु, सुमित्रा खत्री क्षेत्री, सरिता थापा मगर, पबित्रा राजंशी, यमकुमारी खत्री, प्रमिला बिश्वकर्मा लघुन, सीता परियार, माया नगरकोटी शार्की, आयुशा सार्की, रिता बिश्वकर्मा, सन्तोषी दमाई, सुनमाया कुमाल, कल्पना कुमाल, चिङडोमा शेर्पा, रेखा बिक, रुपादेवी नापित, गीता बिक, रत्ना गिरी, सुनमाया तामाङ र हिरामाया प्रजा रहेका छन् ।

Published on: 4 May 2017 | Kantipur

Back to list

;