s

टर्किए भूकम्पमा नेपाली सुरक्षित

काठमाडौँ, माघ २५ गते । टर्किए र सिरियामा गएको भूकम्पका कारण भएको जनधन र भौतिक क्षतिप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ। नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले मूल्यवान् मानवीय जीवन गुमेको भन्दै भूकम्पको क्षतिप्रति दुःख व्यक्त गर्दै भूकम्पमा परेर घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। यस्तो सङ्कटको घडीमा नेपाल सरकार टर्किए र सिरियाको साथमा रहेको मन्त्रालयले जनाएको छ।

नेपाली सुरक्षित

भूकम्पको इपिसेन्टर आसपास बसोबास गर्ने सबै नेपाली नागरिकको अवस्था हालसम्म थाहा नभए पनि सम्पर्कमा आएजतिको अवस्था सुरक्षित रहेको पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले बताउनुभयो। उहाँले भन्नुभयो, “छ जना दूतावासको सम्पर्कमा आएका र हाल उद्धार केन्द्रमा सुरक्षित रहेको जानकारी प्राप्त भएको छ।”

टर्किएलगायत आसपासका देश र नेपालको अवस्थिति पाकिस्तानस्थित दूतावासले हेर्ने गर्छ। टर्किएको दक्षिणी भू–भाग पाकिस्तानसँग छोएको छ। सिरियासँग छोएको सीमा क्षेत्रको सहर भूकम्पको इपिसेन्टर हो। गाजियन्टेपमा काम गर्न गएका तीन जना नेपाली युवतीले आफ्नो अवस्थाको जानकारी सञ्चारमाध्यमलाई गराएका छन्। तीनमध्येका गुड्डु राईले अँध्यारोमै आएको भूकम्पले बेस्सरी हल्लाउँदा धेरै घर भत्केको बताउनुभयो। उहाँले भन्नुभयो, “एकदमै डरायौँ, टर्किएका सबै मानिस आफ्ना परिवारको साथमा गाडीमा अन्यत्र गइरहेका थिए। हल्लिन अलिक रोकिएपछि हामी तीन जना अलपत्र अवस्थामा हिँड्दै एउटा पार्कमा पुगेर चिसोमा बस्यौँ।”

दोस्रो पटकको भूकम्पको धक्का सकिएपछि उहाँहरू अहिले एउटा होटलको शरणमा रहनुभएको छ। बाहिर हिउँ परेर अति चिसो भएकाले निस्कन सक्ने अवस्था छैन तर भूकम्पले चारैतिर नष्ट पारेको भौतिक संरचना र अनेकौँको ज्यान गएको घटनाले आफूहरू त्रासमा रहेको बताउनुभयो।

केही समयको फरकमा आएका दुईवटा शक्तिशाली भूकम्पका कारण त्यस क्षेत्रमा आइपरेको सङ्कटमा नेपाली नागरिक प्रभावित भएको हुन सक्ने सम्भावना रहेकाले पाकिस्तानस्थित नेपाली दूतावासले निरन्तर आफ्ना नागरिकको खोजी र सम्पर्कमा ल्याउने काम जारी राखेको राजदूत अधिकारीले बताउनुभयो। दूतावासले अपिल जारी गर्दै सङ्कटग्रस्त क्षेत्रमा रहेका नेपाली नागरिकलाई आफ्ना परिवार र साथीभाइको सम्पर्कमा आउन तथा आफ्नो समस्याका बारेमा जानकारी दिन भनेको छ। कतै समूहमा बसेको भए पनि दूतावासले उपलब्ध गराएको सम्पर्क नम्बरमा फोन गरेर जानकारी गराउन अनुरोध गरिएको छ।

त्यहाँका नेपाली नागरिकको अवस्थाबारे परराष्ट्र मन्त्रालयले बुझ्ने कार्य जारी राखेको र समन्वय गर्न दूतावासलाई निर्देशन दिएको जनाइएको छ। टर्किएमा करिब दुई हजारको सङ्ख्यामा नेपाली नागरिक बस्दै आएका छन्।

पाँच हजारको ज्यान गयो

टर्किएमा सोमबार दोहोरिएर आएको दुई भूकम्पका कारण मङ्गलबार दिउँसोसम्म पाँच हजार जनाको ज्यान गएको पुष्टि भएको छ। अझै त्यो सङ्ख्या बढ्ने सम्भावना रहेको जनाइएको छ। स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार सिरियासँगको सीमा क्षेत्रनजिकै रहेको गाजियन्टेप सहरको इपिसेन्टर भएर सोमबार बिहान ७.८ म्याग्निच्युटको पहिलो भूकम्प गयो। त्यसले टर्किएसँगै सिरियाका भू–भागमा पनि बढी जनधनको क्षति पु-यायो।

केही समयपछि परकम्पका रूपमा अर्को ठूलो भूकम्पको धक्का सीमा क्षेत्रभन्दा अलिपरको सहर एकिनोजु इपिसेन्टर भएर गयो। त्यो पनि ७.५ म्याग्निच्युटको थियो। दोहोरो भूकम्पको धक्काले क्षतिको दायरा ठूलो बनाएकाले पनि जनधनको क्षति उच्च बन्यो। पहिलो भूकम्पको केन्द्रबिन्दु मात्र १८ किलोमिटरमुनिको जमिनमा भएकाले पनि हलचल बढी भएको अनुभव त्यहाँका बासिन्दाले सुनाएका छन्।

झिसमिसे उज्यालो नहुँदै भूकम्प गएकाले सुतिरहेका मानिसको ज्यान बढी गएको अनुमान गरिएको छ। लन्डनस्थित जोखिम न्यूनीकरण तथा विपत् व्यवस्थापन विभागका प्रमुख फोरे वाकरका अनुसार १० वर्षको अन्तरालमा दुईवटा यति ठूलो म्याग्निच्युटका भूकम्प गएका छन्। पृथ्वीको भौगर्भिक अरेबियन प्लेट उत्तरतर्फ सर्ने क्रममा एनाटोलियन प्लेट थिचिन पुग्दा धरातलमाथि भूकम्पको धक्का बढी परेको जनाइएको छ।

Published on: 8 February 2023 | Gorkhapatra

Link

Back to list

;