s

टर्कीबाट ३ सय कामदार फिर्ता, छानबिन गर्न सम्बन्धित म्यानपावरलाई रोजगार विभागले बोलायो

होम कार्की

टर्कीको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लगिएका नेपाली कामदार करार अवधि पूरा नहुँदै फर्काइन थालेका छन् । मंगलबारसम्म झन्डै ३ सय नेपाली फर्किसकेको भन्दै उनीहरूले वैदेशिक रोजगार विभागमा लिखित उजुरी दिएका छन् । 

काठमाडौंस्थित युरो नेपाल इन्टरनेसनल इम्प्लोइमेन्ट सर्भिसले ९ सय ९० नेपालीलाई दुईवर्षे लिखित करारमा टर्कीस्थित युरो नेपाल लुस्लारान्सी इन्सान क्यानकर्लरी कम्पनीमा पठाएको थियो । कम्पनीले एक वर्ष पुग्न लागेका कामदार फर्काउन लागेको हो ।
 
‘कम्तीमा ३ सय कामदारलाई फिर्ता गरिसकेको छ । हामी ३४ जनाको टोली सोमबार राति आइपुगेका हौं,’ उदयपुरका किरण बान्तवाले भने, ‘केही टोली बुधबार राति आउँदै छन् ।’ उनी ३ लाख २५ हजार रुपैयाँ तिरेर टर्की उडेका थिए ।
 
उनीहरू ५ सय अमेरिकी डलर तलब पाउने सर्तमा गएका थिए । कामदारले सर्तअनुसार सेवासुविधा, काम नपाएको, बढी लागत लिएको, सम्झौताअनुसार नेपाली खाना नपाएको उजुरीमा उल्लेख गरेका छन् । टर्की जाने अधिकांश कामदार खाडीबाट फर्केका सीपयुक्त हुन् । उनीहरूलाई स्कापफोल्डिङको काम भनेर लगिएको थियो ।
 
‘स्कापफोल्डिङको काम थिएन । क्लिनरको थियो,’ खोटाङका ईश्वर आचार्यले भने, ‘हामीलाई ५ सय अमेरिकी डलर तलब भनिएको थियो । त्यो बेसिक तलब हो भनिएको थियो । उता पुगेपछि ओभरटाइमसहित दैनिक १० घण्टा र महिनामा ३० दिन काम गरेपछि मात्रै ५ सय अमेरिकी डलर पायौं ।’
 
युरो नेपालले अवसर म्यानपावर, एचआर, स्विट गोर्खालगायत म्यानपावरमार्फत कामदार संकलन गरेको थियो । वैदेशिक रोजगार विभागले उजुरीको छानबिन गर्न सम्बन्धित म्यानपावरलाई बोलाएको छ । युरो नेपालका सञ्चालक भने सम्पर्कविहीन छन् ।
 
Published: 26 December 2018 | Kantipur

Back to list

;