s

टर्कीमा नेपाली अपहरण श्रृङ्खलाः नेपाली एजेन्ट पक्राउ पर्छन्, विदेशी पर्दैनन्

गौरव पोखरेल

अनुसन्धान अधिकारी भन्छन्– टर्कीमा रहेका हरेक नेपाली खतरामा

वैदेशिक रोजगारीका क्रममा टर्की पुगेका तीन नेपाली युवा १४ माघमा अपहरणमा परे । पाकिस्तानी नागरिकबाट अपहरणमा परेका उनीहरु करिब १५ लाख रुपैयाँ फिरौती बुझाएर नेपाल फर्किए ।

त्यसरी अपहरणमा पर्नेमा मोरङको केराबारी–९ का किरण मगर, खोटाङको रुपाकोटका टीकाराम विश्वकर्मा र ताप्लेजुङको मेवाखोला–३ का टीका लिम्बु थिए । उनीहरुले आफूहरुलाई ७ दिनसम्म ट्वाइलेटमा थुनेर फिरौती मागिएको बताएका छन् ।
 
उनीहरु नेपालबाट मकाउका लागि भनेर भारततर्फ छिरेका थिए । तर, भारत पुगेपछि भिसा नै नलागेको चाल पाए ।
 
त्यसअवधिमा उनीहरुले न त घर फर्किन पाए, न त परिवारसँग आफ्नो दुःख सुनाउने मौका नै पाए । भारतमा ३ महिना विताएपछि मकाउभन्दा टर्कीमा राम्रो कमाइ हुने भन्दै विभिन्न प्रलोभन देखाइयो ।
 
अन्ततः उनीहरु टर्कीका लागि उडे । तर, त्यहाँ उनीहरुले न भने जस्तो काम पाए, न राम्रो कमाइ गर्न नै सके । बरु, उल्टै फिरौती तिरेको रकम बराबरको ऋण बोकेर स्वदेश फर्किएका छन् । र, यो ऋण तिर्न फेरि अर्को देश जाने तयारीमा छन् ।
 
टर्कीमा नेपाली अपहरणमा परेको यो पहिलो घटना भने होइन । यसअघि पनि सोही प्रकृतिको घटना सार्वजनिक भएको थियो ।
 
गत साउनमा रुकुमका झलक नकाल टर्किस र बंगलादेशी नागरिकबाट अपहरणमा परेका थिए । आकर्षक तलबसहित विभिन्न सेवासुविधा पाउने प्रलोभनमा १४ लाख खर्च गरेर टर्की पुगेका उनलाई छुटाउन नेपालमा रहेका परिवारले ९ हजार अमेरिकी डलर बुझाउनु पर्‍यो । अनि मात्र उनी अपहरणमुक्त भए ।
 
झलक पनि भारत हुँदै अवैध रुपमा टर्की पुर्‍याइएका थिए । केही समय त्यहाँको प्लाष्टिक कारखानामा काम गरे । तर, भनेजस्तो तलव सुविधा केही थिएन ।उनी सामान्य चिनजान भएका साथी प्रकाश ओलीमार्फत त्यहाँ गएका थिए, जो पहिल्यै टर्की गएका थिए।
 
दुवै घटनाको पीडितले स्वदेश फर्किने वित्तिकै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी दिए । जसका कारण यो विषय सार्वजनिक भयो ।
 
तर, अझै थुप्रै अपहरणका घटनाहरु प्रहरी समक्ष नआएको अधिकारीहरुको दाबी छ । प्रहरी अधिकारीहरुका अनुसार टर्कीमा अपहरणमा परेका नेपालीको संख्या कम्तिमा पनि ७ छ ।
 
सीआईबीका एक अधिकारी भन्छन्, ‘पीडित व्यक्ति सकुशल फर्किएपछि कानुनी झमेलामा फस्न चाहँदैनन् । फेरि उनीहरुले माग्ने रकम पनि व्यक्तिको योग्यता अनुरुप छ । त्यसैले पनि हामी कहाँ उजुरी कम आएको हो ।’ती अधिकारीका अनुसार ब्यूरोले अन्य अपहरणका घटनाहरुमाथि पनि खोजबिन गरिरहेको छ ।
 
कहाँ पुग्यो अनुसन्धान ?
 
रुकुमका झलक अपहरण प्रकरणको हकमा उनको परिवारले बंगलादेशमा फिरौती बुझाएको थियो भने अनुसन्धान नेपालबाट भएको छ । तर, अझैसम्म न अपहरणकारी पक्राउ परेका छन् न उनले बुझाएको रकम नै फिर्ता हुन सकेको छ ।
 
सीआईबीका एक अनुसन्धान अधिकारी भन्छन्, ‘त्यसवेला उहाँका परिवारले बैंकिङ च्यानलबाट रकम पठाएको भए त्यसलाई फिर्ता पठाउन सहज हुन्थ्यो । तर, अन्य प्रक्रियाबाट रकम पठाउँदा फिर्ता गराउन गाह्रो भएको हो ।’
 
घटनामा संलग्न ३ नेपाली नागरिकलाई सीआईबीले त्यसवेलै पक्राउ गर्‍यो । थानकोटका सुरेन्द्र गौतम, भोजपुरको खावा–७ का पासाङ शेर्पा र संखुवासभाको खाँदबारीका लोकमान राईलाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो ।
 
त्यसमध्ये गौतम धरौटी बुझाएर छुटिसकेका छन् । अन्य दुई जनालाई पनि १० लाख रुपैयाँ धरौटी मागिरएको छ । यद्यपि, उनीहरुले धरौटी रकम बुझाएका छैनन् ।
 
घटनामा संलग्न ४ जना अझै फरार छन् । नेपाली नागरिक सुरज लिम्बु, कुमार लिम्बु, समा जोशी र मुनिर नामक पाकिस्तानी नागरिक फरार रहेका हुन् ।
 
मुनिरले नै नकालको अपहरण गरेको प्रहरीको भनाइ छ । नेपाली नागरिक सोमा मुनिरको प्रेमिका हुन् । उनीहरुको नेपाली ठेगाना खुलेको छैन । सीआईबीका एक अधिकारी उनीहरु अझै पनि टर्कीमै हुन सक्ने आशंका व्यक्त गर्छन् ।
 
१४ माघमा अपहरणमा परेका तीन नेपालीको हकमा भने एक जना एजेन्ट पक्राउ परेका छन् । सप्तरीको कञ्चनपुरका एजेन्ट २८ वर्षीय ओमप्रकाश पञ्जियार पक्राउ परेका हुन् । अन्य दुई एजेन्ट दीपेश गुप्ता र पर्शुराम यादव फरार छन् ।
 
विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ । प्रारम्भिक बयानका क्रममा उनले आफूले पैसा लिएर पठाउने काम मात्रै गरेको बताएका छन् ।
 
मिर्जा कासिफ नामका पाकिस्तानी व्यक्तिले नेपालस्थित उनको परिवारमा फेसबुकमार्फत सम्पर्क गरेर फिरौती मागेका थिए । सीआईबीले दुई भारतीय र दुई पाकिस्तानी एजेन्टलाई प्रतिवादी बनाएर मानव बेचविखन तथा ओसारपसार मुद्दामा अनुसन्धान गरिरहेको छ ।
 
न खान पाइन्छ, न त राम्रो तलब नै !
 
पछिल्लो समय टर्की पुगेर आउने गरेका थुप्रै नेपाली आफू ठगिएको गुनासो लिएर प्रहरी समक्ष पुग्ने गरेका छन् ।एक प्रहरी अधिकारीका अनुसार त्यहाँ कतिपय नेपालीले भात समेत खान पाएका छैनन् ।
 
‘यहाँबाट राम्रो हुन्छ भन्ने प्रलोभनमा परेर उनीहरु टर्की गएको देखिन्छ’, उनले भने, ‘तर, त्यहाँ जंगलमा मुढा बोक्नु पर्ने, पालमा सुत्नु पर्ने र खाना समेत राम्रो खान नपाउने गरेको गुनासो फर्किएर आएका नेपालीले सुनाउने गरेका छन् ।’
 
नेपाल फर्किएर पीडितले प्रहरी समक्ष उजुरी गरेर पनि कमै मात्र मुद्दा चलेका छन् । उनीहरुलाई त्यहाँ पठाउने एजेन्टले पैसा फिर्ता दिन्छु भनेर प्रलोभन देखाएपछि उनीहरुले जाहेरी नदिने गरेको प्रहरी अधिकारी बताउँछन् । कतिपय व्यक्ति प्रहरी समक्ष पुगेपछि एजेन्टले ठगिएका व्यक्तिका रकम फिर्ता गरेको रेकर्ड समेत छन् ।
 
टर्कीमा रहेका हरेक नेपाली कति सुरक्षित ?
 
टर्कीमा नेपाली अपहरणमा परेका घटनालाई नजिकबाट नियालिरहेका एक प्रहरी अधिकारी त्यहाँ रहेका हरेक नेपाली खतारामा रहेको बताउँछन् ।
 
‘राम्रो तलब पाउने प्रलोभनमा नेपाली युवा अवैधानिक बाटोबाट त्यहाँ पुगेका छन्’, ती अधिकारीले भने, ‘तर, त्यहाँ नेपालीले पाउने १५ देखि २० हजार रुपैयाँ मात्रै हो । त्यहाँका स्थानीयको तलब नै अधिकतम २५ हजार हो ।’
 
‘त्यहाँ नेपालीले पाउने काम भनेको स्कीलफुल काम होइन । लेभर क्लासको काम हो’, उनले थपे, ‘कतिलाई टर्की नै युरोप हो भन्ने भ्रममा पारेरमा पनि त्यहाँ लगिएको छ ।’
 
टर्कीसम्म नेपालीलाई पुर्‍याउने एजेन्ट ३ तहमा छन् । पहिलो तहमा विदेशिन चाहने युवा खोज्ने नेपाली एजेन्ट छन् । नेपाली एजेन्ट मध्ये कतिपयलाई टर्कीमा के काम लगाइने हो भन्ने बारे कुनै जानकारी छैन ।
 
दोस्रो तहमा भारतीय एजेन्ट छन् । जसले युवालाई टर्कीसम्म पुर्‍याउने गर्छन् । तेस्रो तहमा टर्की पुगेका युवालाई रिसिभ गर्ने पाकिस्तानी एजेन्ट देखिएका छन् ।
 
Published on: 27 February 2018 | Onlinekhabar

Back to list

;