s

तरिका फेरेर मानव तस्करी हुँदै

कपिलवस्तु, भदौ २० गते । अघिल्लो वर्ष एक अधबैँसे महिला र युवती साँझको समयमा जमुनाहा नाका हुँदै भारततर्फ जाँदै थिए । सीमामा रहेका बेचबिखनविरुद्धका सामाजिक अभियन्तालाई शङ्का लागेर रिक्सा रोक्न खोजे । अभियन्ताले केरकार गर्दैगर्दा अधबैंसे महिला रिक्सा छाडेर भागिन् ।

नेपालगन्जमा हुने धार्मिक पूजाका एक घण्टा बस्नका लागि भन्दै भदौ १२ गते बोलाइएकी १९ वर्षीया युवतीलाई पूजा हुने स्थान परिवर्तन गराउँदै भारत लग्न लागिएको थियो ।

उद्धारमा संलग्न शान्ति पुनःस्थापना गृह नेपालगन्जका क्षेत्रीय संयोजक निर्मल सुवेदीका अनुसार अवैध रुपमा भारत र भारत हुँदै तेस्रो मुलुक पठाउने महिला तथा बालबालिका सीमामा समाउन थालेपछि मानव तस्करले बेचबिखनको तरिका परिवर्तन गर्न थालेका छन् ।

सीमाक्षेत्रमा मानव बेचबिखनविरुद्ध काम गर्ने संस्था र प्रहरीको निगरानी कडा हुँदै गएपछि मानव तस्करले तरिका परिवर्तन गरेको अभियन्ताहरुको भनाइ छ । गृहका लुम्बिनी प्रदेश संयोजक भूमिराज भट्टराईले भन्नुभयो, ‘अवैध रुपमा भारत हुँदै तेस्रो मुलुक लैजाने महिला सीमामा रोकिन लागेपछि मानव तस्करले परिवारलाई प्रयोग गर्न सुरु गरेकाे छ ।’

सीमामा रोकिन थालेपछि भारतसम्म पुर्याउन घरका सदस्य नै जानेगरेका छन् । मानव तस्करले पहाडी तथा हिमाली क्षेत्रका विपन्न महिलालाई रोजगारको प्रलोभन देखाई ओसारपसार गर्दैआएका छन् । परिवारसहित जान लागेकालाई संस्थाले परामर्श दिनेगरेका छौँ । केही भारतबाट उद्धार भएको उहाँले बताउनुभयो ।

मानव बेचबिखन रोक्न सीमा क्षेत्रमा कार्यरत आफन्त नेपाल संस्थाका प्रदेश संयोजक केशर विश्वकर्माले मानव बेचबिखनमा प्रविधिको प्रयोग बढ्दै गएको बताउनुभयो । ‘पहिला मानव तस्कर प्रत्यक्ष सहभागी हुन्थे । अहिले त्यो काम सामाजिक सञ्जालले गरेको छ’ विश्वकर्माले भन्नुभयो, “प्रत्यक्ष भेट्न पनि नपर्ने, म्यासेन्जर, ह्वाइट्स एप, इमोजस्ता एप प्रयोग गर्ने गरेका छन् । भारत पुगेपछी वा सीमामा समाएपछि मात्र थाहा हुन्छ । संस्थाले उद्धार गरेका ९० प्रतिशत घटनामा सामाजिक सञ्जालकै प्रयोग भएको देखिन्छ ।”

उहाँका अनुसार संस्थाले ११ हजार बढी नेपाली चेली भारत जाँदै गर्दा सचेत गराएको बताउनुभयो । ४ हजार ६ सय बढी चेलीलाई सोधपुछ तथा परामर्श दिएको र १ सय ५४ जनाको उद्धार गरिएको थियो । यसैगरी गृहले बाँके जिल्लाको जमुनाहा नाकाबाट पछिल्लो वर्ष २ सय ३३ जना चेली तथा बालबालिकाको उद्धार गरेको थियो ।

Published on: 7 September 2023 | Gorkhapatra

Link

Back to list

;