s

तर उनी आएनन्

अमन कोइराला

छोराको मृत्युपछि बेहोस हुने र होस आउनेबित्तिकै रुन थाल्ने पत्नी सम्हाल्न रासनारायणलाई हम्मे छ ।

वृद्ध शरीर, सुकेर कमजोर भएको बायाँ खुट्टाले गर्दा भारी उचाल्न र धेरै हिँडडुल गर्न कठिन हुन्छ सर्लाहीका रासनारायण यादवलाई । ६८ वर्षको उमेरमा उनीमाथि झन् भार थपिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन २८ गते भएको विमान दुर्घटनामा एकमात्र छोरा गुमाएपछि परिवार सहाराविहीन भएको छ । अब परिवारको रेखदेख र पालनपोषणको जिम्मा उनैको काँधमा आएको छ । 

वैदेशिक रोजगारीका लागि कतार गएका रासनारायणका छोरा अबधेश लगातार बिरामी पर्न थालेपछि कामै गर्न नसक्ने भए । त्यसैले घरसल्लाहमा ६ महिनामै घर फर्कंदै थिए । फर्कने बेला पशुपतिनाथको दर्शन गर्नुपर्छ भनेर बुवाआमालाई पनि अबधेशले काठमाडौं बोलाएका थिए । छोरासहित मन्दिर दर्शन गर्ने योजना बनाएर अघिल्लो दिन २७ गते काठमाडौं गएको यादव दम्पतीले ठूलो विपत्ति सामना गर्नुपर्ला भन्ने कल्पनासम्म गरेको थिएन । अवधेशले सोमबार ८ बजे नै एयरपोर्टमा उत्रने बताएकाले उनीहरू बिहानैदेखि पर्खेर बसे । दिउँसोतिर बंगलादेशी विमान दुर्घटना भएको थाहा पाए । तर छोरा कतारबाट आउने भएकाले त्यसैमा होला भनेर शंका गरेनन् ।
 
‘हामी एयरपोर्टमै भएका बेला विमान दुर्घटना भयो,’ उनले भने, ‘कतारबाट आउने भनेकाले छोरा त्यसमा पर्‍यो होला भन्ने अनुमानै गरेनौं ।’
 
राति ८ बजेसम्म छोरा नआएपछि रासनारायण बुझ्न यताउता कुदे । दुर्घटनाग्रस्त विमानमा सवार यात्रुहरूको नाम एयरपोर्टमा टाँसिएको रहेछ । अंग्रेजीमा लेखिएकाले पढ्न नसकेर अर्का मानिससँग सोधे । पढदै जाँदा अबधेश पनि त्यसैमा रहेको थाहा पाए । उनी आत्तिएर अस्पताल पुगे । ‘टिचिङ अस्पतालमा उपचार हुँदैछ भन्ने थाहा पाएर राति नै गयौं,’ उनले भने, ‘कसैलाई पनि अस्पताल पस्न दिएको थिएन । रातभरि बसेपछि बिहान मात्र छिर्न दियो । हाम्रो त संसारै लुटिइसकेको रहेछ । छोराको शव हेरेर चिनें ।’ अबधेशले लगाएको लुगा, दाँत र छातीको खत देखेर उनले छोराको शव पहिचान गरे । छोरा गुमाउनुपर्दा पत्नी सुमित्रा देवीको पीडा देखेर रासनारायणले आफूलाई सम्हाले ।
 
एक सातापछि काठमाडौंमै दाहसंस्कार गरी उनी घर फर्किए । छोराको मृत्युपछि अधिकांश समय बेहोस हुने र होस आउनेबित्तिकै रुन थाल्ने पत्नी सम्हाल्नुपर्ने जिम्मेवारीले रासनारायणलाई कठोर बनाइसकेको थियो ।
 
बुढेसकालमा सहारा दिने २१ वर्षका लक्का जवान छोरा गुमाउनुपर्दा आमा सुमित्रा देवीको पीडा खपिनसक्नुको छ । अबधेश विदेश हिँडदा उनकी पत्नी पुनमदेवी गर्भवती थिइन् । पति विदेश गएको १५ दिनपछि उनले छोरी पाइन् । पाँच महिनाकी छोरीले बुवाको काख र माया पाइनन् ।
 
सन्तान जन्मेको खबर सुनेपछि अबधेश निकै खुसी भएका थिए । उनी छोरी हेर्न छटपटिन्थे । फोनमा जहिल्यै पनि सोधखोज गर्थे । छोरीको मुखसमेत देख्न नपाई उनको मृत्यु भएकाले पनि रासनारायणलाई नातिनीको अगाध माया लाग्न थालेको छ । तीन वर्षअघिमात्र पुनम र अबधेशको विवाह भएको थियो । १८ वर्षकी पुनम पति वियोगमा दिनरात आँसु बगाएर बसेकी छन् ।
 
रासनारायण परिवारको पीडा यतिमै सीमित छैन । जेठो छोराको १३ वर्षकै उमेरमा निधन भएको थियो । रासनारायण कमाउन मुम्बई रहेकै बेला छोरा बिरामी परे । उपचार गराउँदा गराउँदै मृत्यु भयो । युवा अवस्थामै रासनारायणको पनि देब्रे खुट्टा सुक्न थाल्यो । जति औषधि गरे पनि निको भएन । चार सन्तानमध्ये २ छोरीको विवाह भइसकेको छ । दुवै छोराको असामयिक निधनले परिवार सहाराविहीन भएको छ । ‘मेरो भाग्यमै यस्तो रहेछ, सन्तान र खुट्टाको शक्ति गुम्यो,’ रासनारायणले दु:ख पोख्दै भने, ‘मैले पनि हिम्मत हारें भने परिवारको झन् बिचल्ली हुन्छ । यस्तो कसैलाई नहोस् ।’
 
सन्तान गुमाउनुको पीडा आफ्नो ठाउँमा छ । शव बुझ्नै उनले धेरै समस्या ब्यहोर्नुपर्‍यो । एकातिर परिवार पीडामा छ उता सरकारी प्रक्रियाले मान्छेलाई संवेदनहीन बनाउने । आर्थिक बोझ उत्तिकै । छोरा गुमाएका पीडित दम्पतीको तस्बिर कान्तिपुरमा छापिएपछि उनलाई भेट्न केही सहयोगी पुगे । आर्थिक र अन्य सहयोग पाए । ‘चिन्दै नचिनेको केही व्यक्ति आएर मलाई सहयोग गर्नुभयो,’ उनले भने, ‘त्यसबेला मलाई छोरो गुमाए पनि एक्लो छुइनँ भन्ने लाग्यो ।’ उनको फोटो छापिएको देखेर सिन्धुलीका उज्वल थापा खोज्दै पुगेर तत्काल ११ हजार नगद दिए ।
 
घर फर्केपछि काजक्रिया सुरु भयो । अबधेशका काका रामएकवाल किरियापुत्री बसे । घर पुग्नेबित्तिकै रासनारायण र उनकी पत्नी सुमित्रा नातिनीलाई काखमा राखेर खुब रोए ।
 
‘कान्छो छोराको चिनो भनेको नातिनी छिन्,’ रासनारायणले भने, ‘यिनलाई हेरेर चित्त बुझाउनुको विकल्प छैन ।’ आमा सुमित्रा जतिबेला पनि नातिनी बोकेर बस्छिन् र पुत्र वियोगको पीडा घटाउने कोसिस गरिरहेकी छन् । अबधेश विदेश जाँदा चर्काे ब्याजमा ऋण लिएका थिए । काम गर्नै नसकेपछि ६ महिनाको विदेश बसाइमा पैसा पठाउन सकेनन् । निधन हुँदा नेपाली रुपैयाँ १ हजार ५ सय र कतारी रियाल १ सय मात्र फेला परेको थियो, अबधेशको साथबाट ।
 
अबधेशले १० कक्षासम्म मात्र पढे । उनको कविलासी नगरपालिका ३ विनग्रा गाउँबाट अधिकांश वैदेशिक रोजगारीमा जाने गरेकाले युवाको ध्यान पढ्नमा भन्दा विदेश जाने तयारीमा बढी हुने गर्छ । रासनारायणको पनि जम्मा १० कट्ठा खेत भएकाले छोरो विदेश गएर कमाउँदा परिवार चलाउन सहज हुने अवस्था थियो । खेतको उब्जनीले वर्षभरि खान धौधौ पर्ने अवस्थाले जवान छोरो विदेश पठाउनु परिवारको बाध्यता थियो । त्यसमाथि छिमेकका युवाले विदेश गएर कमाएको उदाहरण गाउँभरि थियो । खासै पढलेख नभएको र प्राविधिक सीप पनि नसिकेकाले अबधेश मजदुरकै रूपमा विदेश गएका थिए । उनी गएदेखि बढी काम गर्न सक्दैनथे । ‘अलिकति काम गर्‍यो कि बिरामी पर्ने हुन थाल्यो,’ रासनारायणले भने, ‘चर्काे ब्याजमा ऋण लिएर गएकाले उसले सकेसम्म काम गरेर कमाउने कोसिस जारी राख्यो । ६ महिनासम्म गर्दा पनि शरीरले साथ नदिएपछि घर आउन हामीले भन्यौं । ऋण तिर्नकै लागि भनेर बिरामी छोरालाई विदेश राख्ने कुरा पनि थिएन ।’
 
वार्षिक ३० प्रतिशत ब्याज दिने गरी छिमेकीसँग ८५ हजार ऋण लिएर छोरालाई विदेश पठाउने व्यवस्था मिलाए । नपुग रकम २० हजार अर्का छिमेकीसँग लिए । छोरा विदेश पठाइसकेपछि २५ प्रतिशत ब्याजमा ऋण लिएर ८५ हजार तिरे । ‘ब्याजले मार्ने भएकाले सकेसम्म कम तिर्नु परोस् भनेर थोरैमा पाउनेबित्तिकै लिएर पुरानो तिरें,’ रासनारायणले भने, ‘खेतीबाट केही नबच्ने भएकाले बिमारी पर्दा, विदेश जानुपर्दा ऋण लिनैपर्छ ।’
 
कमाउन नसकेकाले अवधेश कतारमै रहेका ससुराली तर्फका नातेदारसँग नेपाली ३० हजार सापट मागेर फर्किए । त्यतिन्जेलसम्म सबै जोड्दा ब्याजबाहेक १ लाख ४५ हजार ऋण उनको परिवारमा चढिसकेको थियो ।
 
सोही गाउँमा ५० भन्दा बढी युवा वैदेशिक रोजगारीमा छन् । गाउँमा एकथरीको व्यापार नै विदेश जानेलाई चर्काे ब्याजमा ऋण दिने मात्र छ । अबधेशका काका रामएकवालले ५० भन्दा बढी युवा वैदेशिक रोजगारीमा गएको र सबैजसो ऋण लिएर जाने गरेको बताए । उनले धेरै युवा विदेश गए पनि फर्कने क्रममा गाउँमा पहिलो पटक अप्रिय घटना भएको सुनाए । ‘खेतीपाती घटदै गयो, रोजगारीको कुनै उपाय छैन,’ उनले भने, ‘चर्काे ब्याजमा ऋण लिएरै विदेश जाने हो ।
 
विदेशमा कमाएर तिर्न सक्छ भनेर साहुले पनि ऋण पत्याउने गरेका छन् । एकथरीको ब्याजमै पैसा लगाउने धन्दा छ । अहिले कमाउन विदेश जानैपर्छ भन्ने भइसक्यो ।’
 
सन्तान गुमाउनुको पीडासँगै विदेश पठाउँदा चर्काे ब्याजमा लिएको ऋण रासनारायणका लागि अर्काे समस्या बनेको थियो । बिहीबार यो समस्याचाहिँ समाधान भएको छ । काठमाडौंमा खोज्दै सहयोग गर्न आउने थापाले सामाजिक सन्जालमार्फत जुटाएको १ लाख ९६ हजार उनलाई दिए । साहुले पनि ब्याज लिएनन् । रासनारायणले केही हलुँगो महसुस गरेका छन् ।
 
ऋण दिने साहु वीरेन्द्र ठाकुर र रामदरेश रायले पीडामा परेको परिवारवाट ब्याज लिएनन् । ब्याजबापत ठाकुरले १० हजार र रायले २ हजार ५ सय पाउने बेला भइसकेको थियो । विपत्ति परेका बेला नचिनेका मान्छे आएर ऋण तिर्न सहयोग गरेको दुवैले देखेका थिए । उनीहरू एकै आग्रहमा ब्याज नलिन मन्जुर भए ।
 
मधेसको नागरिकलाई पहाडका नचिनेका व्यक्ति आएर विपत्तिका बेला सहयोग गरेको देखेका स्थानीय भन्छन्, ‘नेपालीबीच भ्रातृत्वको भावना गुमेको रहेनछ ।’ पीडित परिवारलाई सान्त्वना दिन पुगेका राजपा नेपालका जिल्ला अध्यक्ष नागेन्द्र साहले नेपालीबीच मधेस र पहाड भनेर कुनै भेदभाव नरहेको यही सहयोगबाट पुष्टि भएको बताए ।
 
Published on: 24 March 2018 | Kantipur

Back to list

;