s

ट्यांकर मजदुरको स्वास्थ्य सुरक्षाको जिम्मेवारीमा ध्यान दिन आग्रह

पोखरा :  कोभिड-१९ (कोरोना भाइरस) को संकमणबाट ट्यांकर मजदुर उच्च जोखिममा रहेकाले स्वास्थ्य सुरक्षाको ध्यान दिन सरोकारवालाहरुलाई आग्रह गरिएको छ।

लकडाउनको समयमा अत्यावश्यक सेवा भित्र पेट्रोलियम पदार्थ (एल.पि. ग्याँससमेत) को पैठारी, ढुवानी र भण्डारण तथा वितरण गर्नपर्ने भएकाले यस्तो आग्रह गरिएको हो। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले चैत ९ गतेदेखि २१ गतेसम्म सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्दको घोषणा गरेका थिए।

सरकारले भारतसँगको सबै सीमानाका बन्द गर्ने निर्णय गरेपनि पेट्रोलियम पदार्थका लागि भारतसँग नै निर्भर हुनुपर्ने भएकोले ट्यांकरका मजदुरहरु कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको गण्डकी धौलागिरी ट्याङ्कर चालक संघले जनाएको छ।

गण्डकी धौलागिरी ट्याङ्कर चालक संघका अध्यक्ष शिवबहादुर पौडेलले विज्ञप्ति जारी गर्दै जिम्मेवारी पूरा गर्ने सवालमा अत्यन्त सावधानी अपनाउँदा पनि कोरोना भाइरस संक्रमित हुनसक्ने भएकाले मजदुर उच्च जोखिममा रहेकाले स्वास्थ्य सुरक्षामा नेपाल सरकार, गण्डकी प्रादेशिक सरकार, स्थानीय प्रशासन, नेपाल आयल निगम, गण्डकी ट्यांकर व्यवसायी संघ गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियसनसँग अपिल गरेका हुन्।

उनले संक्रमणको जतिसुकै उच्च जोखिममा भएपनि  देशभरिका आम पेट्रोलिय उपभोक्ताको अत्यावश्यकीय पेट्रोलियम पदार्थ ढुवानी गर्दा अत्यन्त सावधानी र सजगताका साथ आफ्नो जिम्मेवारी बहन गर्न संघसँग आबद्ध ट्यांकर मजदुरहरुलाई अनुरोध गरेका छन्। 'जिम्मेवारी पूरा गर्ने सवालमा हामी ट्यांकरका मजदुरहरु कोरोना भाइरसबाट संक्रमित भएको खण्डमा हामी आफु मात्र प्रभावित नभई पेट्रोलियम पदार्थ लोडिङ अथवा अनलोडिङको क्रममा धेरै जनसम्पर्क हुने भएकोले हामीबाट संक्रमण हजारौ मानिसमा पर्छ।' पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ' संक्रमणबाट जोगिन अत्यन्त सावधानीका साथ मास्कको प्रयोग गर्ने नियमित साबुन पानीले राम्रोसँग मिचेर हात धुने, धेरै जनसम्पर्क नगर्ने र हातमा सेनिटाईजरको प्रयोग गर्ने जस्ता कार्य गरी आफ्नो जिम्मेवारी पूरा गर्नको लागि म यसै विज्ञप्तिमार्फत अपिल गर्दछु।'

देशभरि पेट्रोलियम पदार्थ अत्यावश्यक रहेको बताउँदै पौडेलले आफ्नो काम, कर्तव्य, जिम्मेवारी र सामाजिक उत्तरदायित्वबाट पन्छिन नमिल्ने भएकोले सावधानीका साथ काम गर्न आग्रह गरेका छन्।

हालसम्म  छिमेकी मूलुक भारतमा १० जनाको मृत्यु भइसकेको छ भने ५३६ जना संक्रमित भएका छन्। फ्रान्सबाट नेपाल आएकी एक विद्यार्थीमा नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग हस्पिटलमा राखिएको छ। 

Published on: 25 March 2020 | Annapurna post

 

Link

Back to list

;