s

ट्यांकर मजदुरको माग : ‘महामारीमा जोखिम मोलेर काम गरिरहेका छौं, पूरा तलब चाहिन्छ’

पोखरा : कोभिड-१९ (कोरोना भाइरस) को महामारीको समयमा उच्च जोखिम मोलेर काम गरिरहेका ट्यांकर मजदुरले आफूलाई पूरा तलब दिनुपर्ने माग गरेका छन्। देशव्यापी लकडाउन गरेको समयमा व्यवसाय ठप्प भएपनि पेट्रोलियम कारोबार गर्ने र दुवानी गर्ने ट्याङकर व्यवसाय संचालन भइरहेकाले संक्रमणको उच्च जोखिममा काम गरिरहेका मजदूरको आधा तलब कटौती नगर्न गण्डकी धौलागिरी ट्यांकर चालक संघले चेतावनी दिएको छ।

संघ अध्यक्ष शिवबहादुर पौडेलले लकडाउनमा सम्पूर्ण व्यवसाय ठप्प भएपनि अत्यावश्यक पेट्रोलियम पदार्थको दुवानी गर्ने ट्यांकर व्यवसायमा असर नपरेको जनाएका छन्। ‘देशव्यापी लकडाउन गरेपश्चात नेपालका हरेक व्यवसाय ठप्प भै निजी क्षेत्रका व्यवसायीको लगानी उच्च जोखिममा पर्नुका साथै नेपाल सरकारको राजश्व असुलिमासमेत ठप्प भई देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको कुरालाइ हामी सहर्ष स्विकार गर्दछौँ ।’ आइतबार संघका अध्यक्ष पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर नेपालका सम्पूर्ण व्यवसाय ठप्प भएतापनि अत्यावश्यक पेट्रोलियम पदार्थको दुवानी गर्ने पेट्रोलियम ट्यांकर व्यवसायमा भने आंशिक रुपमा आफ्नो व्यवसाय संचालन गर्ने अवसर भएकोले अरु क्षेत्रका व्यवसायीलाई जस्तो समस्या पेट्रोलियम कारोबार गर्ने र दुवानी गर्ने ट्यांकर व्यवसायमा भने परेन।’ 

उनले संक्रमणको उच्च जोखिममा मजदुरहरु आफ्नो र घर परिवारको स्वास्थ्यलाई उच्च जोखिममा राखेर पेट्रोलियम पदार्थ दुवानी गर्ने आफ्नो जिम्मेवारीबाट बिचलित नभइ सहज आपूर्तिमा मजदुरले भूमिका निर्वाह गरेको बताएका छन्। ‘२०५८ सालमा नेपाल आयल निगम इन्धन डिपो गगनगैंडामा स्थापित भएपश्चात यस क्षेत्रका -ट्यांकर व्यवसायी एकत्रीत भएर गण्डकी ट्यांकर व्यवसायी संघमा आवद्ध रहि पेट्रोलियम पदार्थको सहज आपूर्ति ढुवानी कार्यमा गण्डकी ट्यांकर व्यवसायी संघको उल्लेखनीय भुमिका रहेको कुरा समेत म प्रष्टयाउन चाहन्छु।’, ‘तथापि हालको बिषम परिस्थितीमा आफ्नो पेशागत जिम्मेवारी बहन गरी रहेको अवस्थामा पनि ट्यांकर मजदुरको पारिश्रमिकमा गण्डकी ट्यांकर व्यवसायी संघले ५० % कटौती गरी आफ्ना मजदूर लाई आधा तलबमा ट्यांकर चलाउन लगाएकोमा हाम्रो संघको गम्भीर ध्यानाकर्षण भएको कुरा यसै विज्ञप्तीमार्फत प्रष्ट्याउन चाहन्छु।’ 

पौडेलले ट्यांकर मजदुरहरुको नेपाल सरकारले लागु गरेको सामाजिक सुरक्षा कोष, संचयकोष ,उपादान जस्ता कुनै पनि कोषमा सहभागिता नभएकोले मजदुरहरुले आफ्नो जागीर गरुन्जेल मात्रै पारिश्रमिक पाउने भएकोले आधा मात्र तलब दिने गरेको निर्णयले अन्याय हुने स्पष्ट पारेका छन्। उनले विषम परिस्थितिमा पनि पूरा तलब नपाएमा मजदुरले आफ्नो पेशागत जिम्मेवारी बहन गर्न नसक्ने भएकोले यस क्षेत्रका पेट्रोलियम उपभोक्तालाई पर्ने असरको जिम्मेवारी गण्डकी ट्यांकर व्यवसायी संघनै हुने चेतावनी दिएका छन्।

Published on: 21 June 2020 | Annapurna Post

Link

Back to list

;