s

तनहुँमा ३० जनाले त्यागे नेपाली नागरिकता

तनहुँ, जेठ २ गते । तनहुँमा दुई वर्षमा ३० जनाले नेपाली नागरिकता त्यागेका छन् । रोजगारी, अध्ययन लगायत विभिन्न अवसरको खोजी गर्दै विदेश रहेकाहरूले उतैको नागरिकता लिएपछि सो सङ्ख्यामा नेपाली नागरिकता त्याग गरेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

रोजगारी, अध्ययन लगायत विभिन्न अवसरको खोजी गर्दै विदेश जानेहरूले उतैको नागरिकता लिएपछि नेपाली नागरिकता त्याग गरेको सहायक प्रमुख जिल्ला अधिकारी कोमल राज भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार कानुनतः दुई देशको नागरिकता लिन नपाइने भएपछि बाह्य मुलुकको नागरिकता लिन नेपाली नागरिकता त्याग्नेहरू बढिरहेका छन् । दुई वर्षको अवधिमा मात्रै ३० जनाले नेपाली नागरिकता त्यागेका छन् । आठ महिला र २२ पुरुषले नागरिकता त्यागेका छन् ।

कुनै पनि नेपालीले नागरिकता त्याग गर्न चाहेमा नागरिकता ऐन २०६३ को दफा १० बमोजिम र सोही ऐनको अनुसूची ९ अनुसार दूतावास, गृह मन्त्रालय र जिल्ला प्रशासनमा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ । नेपाली नागरिकता त्यागेर सबैभन्दा बढी अमेरिका, बेलायत र हङकङको नागरिकता लिने बढी छन् । यस्तै सिंगापुर, स्विजरल्याड, अस्ट्रेलिया, क्यानडा लगायतका मुलुकको नागरिकता लिने क्रम पनि बढेको छ । नेपाल रहेका नेपालीले उतै बसोबासका लागि प्रक्रिया अगाडि बढाउँछन्, उताको अप्लाई सफल हुने बित्तिकै नेपाली नागरिकता परित्यागको प्रक्रिया सुरु गर्छन् । एउटै व्यक्तिले दुई देशको नागरिकता लिन नपाइने भएकाले उनीहरूले नेपालको नागरिकता त्याग गरेको भण्डारी बताउनुहुन्छ । अन्य देशको नागरिकता लिइसकेको, विदेशी नागरिकसँग विवाह गरी विदेशमै बसोबास गरेको लगायतका कारण देखाउँदै नागरिकता त्याग गरेको प्रशासनले जनाएको छ । ‘विदेश मोह’ ले गर्दा नागरिकता त्याग गर्नेमा अधिकांश युवा पुस्ताको जमात रहेको छ । जो वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने गरेको र वर्षौँ विदेशमा कार्यरत रही सोही देशको नागरिकता प्राप्त गर्न आफ्नो जन्म मुलुकलाई छाडेर विदेशी नागरिकता लिने गरेका छन् ।

Published on: 15 May 2024 | Gorkhapatra

Link

Back to list

;