s

तालिममा लापरबाही गर्नेलाई बोर्डले भन्यो- श्रमिकको पसिनामा खेलवाड नगर्नुस्

वैदेशिक रोजगार बोर्डले 'गार्मेन्ट मेसिन अपरेटर' तालिम प्रदायकहरूलाई सचिवालयमा बोलाएर छलफल गरेको छ।

अनुगमनका क्रममा अधिकांश प्रदायकहरूले लापरबाही तरिकाले तालिम सञ्चालन गरिरहेको भेटिएपछि कमजोरी सुधार गर्न निर्देशन दिएको हो।

बोर्डकी निर्देशक सीता दुवाडीले श्रमिकको पसिनाको पैसामाथि खेलवाड नगर्न निर्देशन दिइन्। 'बोर्डले तपाइँहरूलाई उपलब्ध गराएको वित्तीय सहयोग श्रमिकको पसिनाको पैसा हो। यो बुझेर सबैले सम्झौताअनुसार तालिम सञ्चालन गर्नुहोला, श्रमिकको पसिनामाथि खेलवाड नहोस्,' उनले भनिन्।

बोर्डले चालु आर्थिक वर्षमा काठमाडौं उपत्यकामा ५०० महिलाहरूलाई निःशुल्क गार्मेन्ट मेसिन अपरेटर तालिम उपलब्ध गराउन विभिन्न ९ वटा प्रदायकलाई जिम्मा दिएको छ।

तालिम सञ्चालनका लागि एक्सन फर डेभलपमेन्ट प्रालि, एलायन्स फर सोसल मोबिलाइजेसन, सिमेका ह्युमन रिसोर्स, एफ स्किल, जिनियस मल्टी टेक्निकल इन्स्टिच्युट, ट्रेडलिंक टेक्निकल ट्रेनिङ इन्स्टिच्युट र युनाइटेड टेक्निकल ट्रेनिङ इन्स्टिच्युटलाई ६०/६० जनालाई निःशुल्क तालिम उपलब्ध गराउन वित्तीय सहयोग गरेको थियो।

त्यस्तै, नवरत्न टेक्निकल ट्रेनिङ इन्स्टिच्युट र वर्ल्डलिंक टेक्निकल ट्रेनिङले ४०/४० जनालाई निःशुल्क तालिम दिन वित्तीय सहयोग पाएका थिए।

बोर्डले १६७ घन्टाको यो तालिमका लागि ४० जना बराबर ११ लाख ३२ हजार रूपैयाँ (भ्याटबाहेक) उपलब्ध गराएको जनाएको छ।

तालिम दैनिक ८ घण्टाका दरले हुनुपर्ने सम्झौता भए पनि कतिपय प्रदायकले दैनिक ५ घण्टामात्रै तालिम दिइरहेको भेटिएको छ। एउटा कक्षामा २० जना राखेर पढाइनुपर्नेमा एउटा कक्षामा ३० देखि ४० जनासम्म पनि राखिएको भेटिएको हो। त्यस्तै कतिपय कक्षामा ४० जनाको हाजिरी देखाइए पनि उपस्थिति हुनेको संख्या भने निकै कम भएको पनि भेटिएको थियो।

यस्ता सबैखालका समस्या सुधार गर्न पनि दुवाडीले निर्देशन दिइन्। 'दैनिक ८ घण्टा तालिम नपुर्‍याएकाहरूको हकमा समय थप गरेर तालिम दिनुस्। जे सिक्न आउनु भएको हो। त्यो त जान्नु पर्यो नि। अनि यो आवासीय तालिम हो। जति जना घरमा बसेर तालिम लिइराख्नु भएको छ, उहाँहरूको आवासीय शुल्क पनि बोर्डले बेहोर्दैन,' उनले भनिन्।

बोर्डसँगको सम्झौताअनुसार तालिम सञ्चालन गर्नेलाई उनले धन्यवाद पनि दिइन्। एक्सन फर डेभलपमेन्ट र एफ स्किललगायत केही प्रदायकले भने सम्झौतामा भएको व्यवस्थाअनुसार तालिम सञ्चालन गरिरहेको भेटिएको थियो।

बोर्डका कार्यकारी निर्देशक द्वारीका उप्रेतीले व्यवस्थित ढंगले तालिम सञ्चालन गर्न निर्देशन दिए। 'तालिम प्रदायक छनोट गर्दा प्रतिस्पर्धा गराउने अवस्था भएन। जति इच्छुक हुनुभयो सबैलाई अवसर दिइयो। यो पटक तालिम सहज भयो भने सम्झौता निरन्तर गर्छौं। होइन भने रद्द गर्छौं,' उनले भने।

कतैबाट राजनीतिक दबाब दिएर अव्यस्थित ढंगले गरिएको तालिमलाई नै निरन्तरता दिन सकिन्छ भन्ने मानसिकता हटाउन समेत उनले आग्रह गरे।

छलफलमा तालिम प्रदायकहरूले गल्ती स्वीकार गर्दै भएका कमीकमजोरी सुधार गर्ने प्रतिवद्धता पनि जनाए।

Published on: 7 July 2023 | Setopati

Link

Back to list

;