s

तालिम नै नदिई प्रमाणपत्र बेचिन्छ

वैदेशिक रोजगारीमा जाने कामदारलाई अभिमुखीकरण गर्न खोलिएका अधिकांश संस्था मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ। उनीहरुले कामदारलाई बिनातालिम प्रमाणपत्र बेच्ने गरेको छड्केमा भेटिएको हो। वैदेशिक रोजगार विभागका अनुसार पछिल्ला दस दिनमा छड्के जाँच गरिएका २५ संस्थामध्ये एउटाले मात्र मापदण्ड पूरा गरेको भेटिएको छ। यस्तो कार्यका लागि ६४ संस्था दर्ता भई सञ्चालनमा छन्।

'अभिमुखीकरण (तालिम दिने) गर्ने अधिकांश संस्थाले मापदण्डविपरीत कार्य गरेको भेटियो,' वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले नागरिकसँग भने, 'मापदण्ड पूरा नगरेका सबैलाई कारबाही गर्छौं।' अभिमुखीकरण तालिम दिने संस्थाले बिनातालिम वैदेशिक रोजगारीमा जाने कामदारलाई प्रमाणपत्र बेचेको उजुरी परेपछि विभागले माघ १२ बाट अनुगमन थालेको हो। विभागले बाँकी सबै संस्थाको छड्के जाँच गर्ने जनाएको छ।

छड्केमा एसएन्डएस ट्रेनिङ इन्स्टिच्युट प्रालिले मात्र मापदण्ड पूरा गरेको देखिएको छ। विभागका अनुसार अन्यले विभागमा उल्लिखित कामदारलाई तालिम नदिएको, तालिम दिने प्रशिक्षकसँग प्रशिक्षकको प्रमाणपत्र नभएको, भौतिक पूर्वाधार नभएको पाइएको महानिर्देशक भट्टराईले बताए। छड्केमा लुम्बिनी मल्टिपल ट्रेनिङ सेन्टर, विकीरण एसोसिएट्स प्रालि, टावर इन्फो फरेन जब ओरिन्टेसन, वेलकम ओरिन्टेसन सेन्टर, दोभाव टेक्निकल ट्रेनिङ सेन्टर, एचआर म्याटर्स एजुकेसन कन्सल्टेन्सी, सोलिड ओरिन्टेसन, रजनीश ट्रेनिङ कन्सल्टेन्ट र एलायन्स ओरिन्टेसन फेल भएका छन्।

यस्तै, युनाइटेड इन्स्टिच्युट, मल्लिका इन्स्टिच्युट अफ ट्रेनिङ एन्ड डेभलपमेन्ट, फार वेस्ट मल्टी स्किल प्रालि, चेतना ओरिन्टेसन प्रालि, एक्सेस करियर सोलुसन, टिएस ट्रेनिङ सेन्टर, टास्क टे्रनिङ एसोसोरिज, साइनिङ मुन ट्रेनिङ सेन्टर प्रालि, संगम म्यानेजमेन्ट सर्भिस, जुछी मल्टिपर्पज ट्रेनिङ सेन्टर र धनाड तालिम केन्द्रले पनि मापदण्ड नाघेको भेटिएको छ।

छड्के जाँचमा टि्रपल एस ओरिन्टेसन एन्ड ल्याङ्ग्वेज टे्रनिङ सेन्टर, सुकर्म इन्टरनेसनल ट्रेनिङ इन्स्टिच्युट प्रालि र साइनिङ मुन टे्रनिङ सेन्टर प्रालि पनि परेका छन्। मापदण्ड पूरा नगर्ने एलायन्स ओरिन्टेसन र युनाइटेड इन्स्टिच्युटलाई निलम्बन कारबाही अघि बढाइएको विभागले जनाएको छ।...मापदण्ड पूरा नगर्ने तालिम दिने संस्थालाई स्पष्टीकरणसहित विभागमा आउन भनेका छौं,' महानिर्देशक भट्टराईले भने, 'केहीलाई कारबाही गरिसकिएको छ। चित्तबुझ्दो स्पष्टीकरण नआए बाँकीलाई पनि थप कारबाही अघि बढाउँछौं।'

विक्रम एसोसिएट्स प्रालिले तालिम लिने कामदार संख्या विभागमा ९ जना बुझाए पनि अनुगमनका बेला कक्षामा १६ जना भेटिएका थिए। एचआर म्याटर्स एजुकेसन कन्सल्टेन्सीले २६ जनाको नाम विभाग बुझाएकोमा कक्षामा भने ११ जनामात्र थिए। यस्तै, २७ कामदार विद्यार्थीको नाम विभागमा पेस गर्ने सोलिड अरिन्टेसनको तालिम कक्षामा जम्मा ८ जनाको उपस्थिति थियो।

यसरी अधिकांश संस्थाले विभागमा पेस गरेका तालिमेको संख्या फरक पाइएको थियो।

'तालिम लिने कामदार विद्यार्थीको जुन नाम विभागमा पेस गरिएको थियो, कक्षामा कमै भेटिए। यसको अर्थ तालिम नै नदिई अभिमुखीकरण प्रमाणपत्र बाँडिएको छ,' महानिर्देशक भट्टराईको बुझाइ छ, 'यसो गर्दा तालिम दिने शिक्षकलाई पनि पैसा दिनुपरेन, तालिमका लागि भनेर उठाइएको रकम पूरै आफँैले पाउने भए।'

वैदेशिक रोजगार नियमावली २०६४ ले वैदेशिक रोजगारमा जाने प्रत्येक कामदारले अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था गरेको छ। यसरी अभिमुखीकरण तालिम दिने प्रयोजनमा नियमावलीको नियम ६ ले अभिमुखीकरण संस्था दर्ता हुनुपर्ने, प्रशिक्षित प्र्रशिक्षकबाट तालिम दिनुपर्ने, तालिम पाठयक्रम वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट स्वीकृत भएअनुसार सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ।

'स-सानो जानकारी नहुँदा कामदारको जीवन तलमाथि हुनसक्छ। यति महत्वपूर्ण कुरामा पनि तालिम दिने संस्था लालची पाइयो,' महानिर्देशक भट्टराईले भने, 'तर अनुगमनमा परेका अधिकांश संस्थामा प्रशिक्षकसँग नै तालिमपत्र, नियुक्तिपत्र र करारपत्र भेटिएन। कतिमा हामी आएको थाहा पाएपछि नक्कली विद्यार्थी राखेको पाइयो। कतिमा भौतिक पूर्वाधार नै छैन, प्रमाणपत्र त्यसै बेचेको भेटियो।'

Published on: 5 February 2013 | Nagarik

Back to list

;