s

तालिम दिएर दक्ष कामदार मात्र विदेश पठाउने सरकारको तयारी छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सरकारी सेवामा करारमा कार्यरत श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने बताएका छन् । बुधबार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले हालसम्म सरकारी सेवामा करारमा कार्यरत श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने बताएका हुन् ।

प्रधानमन्त्री दाहालले सामाजिक सुरक्षा कोषमा आबद्धताको संस्कार बसाल्न कानुनले निर्देशित गरेको सहयोगदानको प्रावधानलाई कार्यान्वयनमा ल्याइ सबै क्षेत्रको अपनत्व स्थापित गरिने बताए । उनले कोषको लगानीलाई राज्यको भौतिक पूर्वाधार विकास, उद्यमशीलतालगायतका उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नीतिगत व्यवस्था गरिने उल्लेख गरे ।

‘सामाजिक सुरक्षा कोषमा आबद्धताको संस्कार बसाल्न कानुनले निर्देशित गरेको सहयोगदानको प्रावधानलाई कार्यान्वयनमा ल्याइ सबै क्षेत्रको अपनत्व स्थापित गरिनेछ । कोषको लगानीलाई राज्यको भौतिक पूर्वाधार विकास, उद्यमशीलतालगायतका उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नीतिगत व्यवस्था गरिनेछ । सरकारी सेवामा, करारमा कार्यरत श्रमीकहरुलाई समेत हालसम्म सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नसकिएकोमा मलाई विशेष दुःख लागेको छ । यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने काममा म लाग्ने नै छु । या विश्वास पनि म दिलाउन चाहन्छु,’ प्रधानमन्त्री दाहालले भने ।

प्रधानमन्त्री दाहालले रोजगारीका लागि विदेशमा जाने युवाहरुलाई ठगी गर्ने, ढिलासुस्ती गर्ने काम सरकारलाई सह्य नरहेको बताए । उनले रोजगारीका लागि विदेश गएका युवाहरुलाई दुःख दिने दिन गएको दाबी गरे । उनले सरकारले विदेश जानेहरुलाई तालिम दिई दक्ष बनाएर मात्रै पठाउने गरी तयारी गरिरहेको उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीका लागि नयाँ-नयाँ अवसर र गन्तव्यको खोजी गर्ने मन्त्रालयको तयारीलाई समेत प्रोत्साहन गर्दै आएको उल्लेख गर्दै श्रम सम्झौता गर्न बाँकी देशसँग सम्झौता गर्ने र भएका देशहरुसँगको सम्झौतालाई समय सापेक्ष बनाउने कार्यलाई अघि बढाउने बताए । आगामी दिनमा थप जनमुखी र श्रमिकमैत्री सेवा प्रवाह गरी युवाहरुले दुःख पाउने कुराबाट मुक्ति दिलाउन सम्बन्धित निकायलाई निर्देशन दिए ।

प्रधानमन्त्री दाहालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको ५ वर्षे रणनीति योजनाको पूर्ण कार्यान्वयनमा सरकारको सहयोग रहने प्रतिबद्धता जनाए ।

Published on: 23 March 2023 | Kantipur

Link

Back to list

;