s

तालिम दिने संस्थामाथि अनुसन्धान

जनकराज सापकोटा

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन लिएर छोटो अवधिको तालिम दिने संस्थाले ‘अन द जब ट्रेनिङ’ भन्दै अवैध रूपमा खाडी र युरोपका देशमा विद्यार्थी लगेको आशंकामा अध्यागमन विभागले अनुसन्धान थालेको छ । 

इटहरीको प्रिमियर होटल स्कुलले वैशाख १६ गते एक महिलासहित ५ विद्यार्थीलाई अन द जब ट्रेनिङका निम्ति भन्दै दुबई लैजान लागेका बेला विभागले रोकेको थियो । यो घटना बाहिर आएलगत्तै अध्यागमनले सीटीईभीटीबाट सम्बन्धन लिँदै अन द जब ट्रेनिङका निम्ति विदेश पठाउने संस्थाहरूमाथि निगरानी बढाएको छ ।
 
प्रिमियरले दुबईको होटलमा एक वर्षको अन द जब ट्रेनिङका लागि भन्दै विद्यार्थी लैजान खोजे पनि शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ लिएको थिएन । सीटीईभीटीका सदस्यसचिव पुष्परमण वाग्लेका अनुसार सम्बन्धन दिइएकाहरूलाई तालिमका लागि विदेश लैजाने अनुमति हुँदैन । उनले संस्थाले आफैं दायित्व लिएर लैजाने कुरामा आफ्नो भूमिका नहुने बताए ।
 
‘देशमा आवश्यक पर्ने जनशक्ति देशभित्रै उत्पादन गर्न मात्रै सीटीईभीटीले सम्बन्धन दिने गरेको हो,’ उनले भने । तर पछिल्ला वर्षहरूमा सीटीईभीटीबाट अनुमति लिएका संस्थाहरूले ‘अन द जब ट्रेनिङ’ भन्दै विद्यार्थीलाई विदेश पठाउने क्रम तीव्र देखिन्छ । यस्ता संस्थाले ६ महिनाभन्दा लामो तालिमका हकमा शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर निकाल्दै विद्यार्थी विदेश पठाइरहेका छन् ।
 
‘निर्दिष्ट कानुनको अभावमा शिक्षा मन्त्रालयको पत्रकै भरमा विद्यार्थी पठाउने र उतै लुक्न सघाउने प्रवृत्तिबढ्दो छ,’ अध्यागमनका एक अधिकारीले कान्तिपुरसँग भने, ‘अन द जब ट्रेनिङ मानव तस्करीको नयाँ रूपमा भइरहेको छ ।’ उनका अनुसार विद्यार्थी विदेश पठाउनेमा सबैभन्दा धेरै होटल म्यानेजमेन्टअन्तर्गतका विभिन्न विषय पढिरहेका विद्यार्थी छन् । प्रिमियर होटलका प्रिन्सिपल सुनील भुसालले विद्यार्थीका केही कागजपत्र नमिलेकाले अध्यागमनले उनीहरूलाई फिर्ता पठँइदिएको बतँए । उनले आफ्नो संस्थाले यसैगरी चीन र दुबई पनि पहिले विद्यार्थी पठाएको दाबी गर्दै फेरि कागजपत्र मिलाएर पठाउने तयारी थालेको बताए ।
 
अध्यागमनका अनुसार पछिल्ला वर्षहरूमा सीटीईभीटीबाट सम्बन्ध लिएका संस्थाहरूले सबैभन्दा धेरै विद्यार्थी दुबईका होटलमा पठाउन थालेको देखिन्छ । यसरी पुगेकामध्ये कैयन् नक्कली विद्यार्थी हुन सक्ने अध्यागमनका अधिकारीहरू बताउँछन् । ‘दुबई पुगेकाहरू समय सकिएपछि नफर्किने समस्या पनि देखिएकोछ,’ एक अधिकारीले भने ।अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले यसबारे बुझ्न सीटीईभीटीलाई पत्राचार गरिएको बतँए । ‘अन द जब ट्रेनिङका नाममा विद्यार्थी पठाउने भन्दै मानव तस्करी गरिएको हुन सक्छ । अनुसन्धानगर्दै छौं,’ उनले भने ।
 
२०७३ चैतमा पनि यूएईको दुबईस्थित मार्क पीजेएससी नामक रेस्टुरेन्टमा इन्टर्नसिप गर्न हिँडेको १२ विद्यार्थीमध्ये ८ लाई अध्यागमन अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै रोकिदिएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को लेटरप्याड दुरुपयोग गरेर विद्यार्थी जान लागेको उक्त घटनाबारे अध्यागमन विभागले पनि अनुसन्धान गरेको थियो । ‘पछिल्लो घटना पनि यस्तै प्रवृत्तिको निरन्तरता हुन सक्छ,’ उनले भने ।
 
Published on: 16 May 2019 | Kantipur

Back to list

;