s

ताल्चाभित्र चेतना

समाजशास्त्री म्याक्स वेबरको सिद्धान्तले भन्छ–एउटा व्यक्तिले गरेका व्यवहारबाट जब अरू प्रभावित हुन्छन् वा त्यसको प्रतिक्रियाको सम्भावना हुन्छ।

राणाकालीन समयको नेपाली समाज, पञ्चायती व्यवस्थाभित्रको समाज हुँदै गणतान्त्रिक व्यवस्थाभित्रको समाजभित्रका आमूल परिवर्तनहरूले नेपाली जनमानसमा कस्तो भाष्य निर्माण गरिरहेको छ भन्ने विषयले भविष्यको समाजलाई पनि निर्धारण गर्छ। किनेर खान लजाउने प्रवृत्ति यही नेपाली समाजमा स्थापित थियो। परम्परागत कृषि प्रणाली अवलम्बन गरेर भए पनि आफ्नै खेतबारीमा उब्जाएको अनाजको भरमै समाज आत्मनिर्भर थियो। नेपालमा बहुदलीय व्यवस्थाको पूर्वसन्ध्यासम्म गरिखाने प्रवृत्तिको बाहुल्य थियो।

बहुदलीय व्यवस्था स्थापनाका लागि विभिन्न चरणमा भएका आन्दोलनको अग्रपंक्तिमा नेपालको उत्पादनशील जनशक्ति होमिएको थियो जसको अप्रत्यक्ष प्रभाव आश्रित जनशक्तिमा परेको थियो।

२०४६ सालमा बहुदलीय व्यस्थाको स्थापनापश्चात आन्दोलनको अग्रपंक्तिको टाठोबाठो जनशक्तिले विदेशिने सपना देख्न थाल्यो। के त्यो बहुदलीय व्यवस्थाभित्रको सरकारले उसको सपनाको अन्तरवस्तुको सूक्ष्म अध्ययन गर्‍यो त ? अहिलेको गम्भीर अवस्थाको परिणाम त्यही प्रश्नको उत्तर खोजेर सोहीअनुसारको नीति निर्माणअनुसार मुलुकलाई डोहोर्‍याउन नसक्नु हो।

२०४७ सालमा सम्पन्न आमनिर्वाचनपश्चात गरिखाने प्रवृत्ति मागीखाने प्रवृत्तिमा रूपान्तरण हुँदै ठगी खाने प्रवृत्तिको चरमसीमा पार गर्दै भ्रष्टाचारले मुलुकमा जरा गाड्यो। चुनावमा युवा जनशक्तिमाझ बाँडेका सपनाहरू व्यक्तिगततवरबाट परिपूर्ति गर्नेतर्फ नेतृत्व पंक्तिको ध्यान केन्द्रित भयो नकि उचित नीति निर्माणतर्फ। उत्पादनशील युवा जनशक्तिलाई मुलुकभित्र उत्पादनमा केन्द्रित गर्ने नीति निर्माण तर्जुमा गर्नुको सट्टा विदेश पलायनका ढोकाहरू खोल्ने नीति मुलुकले अवलम्बन गर्‍यो जसले आज यो मुलुकमा बस्नै हुन्न, यहाँ केही छैन भन्ने भाष्य स्थापित भैसकेको छ। नेपाली युवा जनशक्तिले खाडी मुलुकमा पसिना बगाएर पठाएको रेमिटेन्सलाई मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा परिभाषित गर्दै उत्पादनशील जनशक्तिलाई विदेशिन प्रोत्साहन गर्ने सरकारहरूको अदूरदर्शी नीतिलाई मलजल थप्ने काम माओवादीको २०५२ सालदेखिको सशस्त्र आन्दोलनले गर्‍यो। जसको परिणामस्वरूप मुलुकले अहिलेको दूरावस्था भोग्नुपरेको यथार्थ छर्लङ्ग छ।

विदेशको कमाइ घरभित्र प्रवेश गरेसँगै गरिखाने महिला जनशक्ति बसिखाने जनशक्तिमा रूपान्तरण हुँदै गए। बालबच्चाको उचित शिक्षाका लागि गाउँबाट उनीहरू सहरकेन्द्रित हुने क्रम आज पनि तीव्र छ। अहिले बसाइसराइका कारण मुलुकको विशेषगरी हिमाली र पहाडी क्षेत्रका गाउँबस्तीहरू रित्तिने क्रम जारी छ। उत्पादनशील जमिन, जहाँको समाजका जनता पूर्णरूपमा आत्मनिर्भर थिए, अहिले बाँझिएको छ। बाँझिने क्रम तीव्ररूपमा बढिरहेको छ। सत्तास्वार्थकेन्द्रित नेपालको अस्थिर राजनीति र अदूरदर्शी नीति निर्माणकै कारण कृषिप्रधान देश भनेर चिनिँदै आएको हाम्रो मुलुकको आजको पहिचान के हो त ? अहिले यही प्रश्नको उपयुक्त उत्तरको पर्खाइमा देश उभिएको छ।

उत्कृष्ट शासन व्यवस्थाका रूपमा परिभाषित लोकतान्त्रिक बहुदलीय व्यवस्थाभित्र विश्वका अधिकांश नेपालभन्दा कान्छा मुलुकहरूले विकासको छलाङ्ग मारिसक्दा नेपालमा बसेर विदेशको सपना बुन्नुपर्ने आमनेपालीका लागि दुर्भाग्य नै हो।

वैशाख १५ गते इलाम क्षेत्र नं.२ मा सम्पन्न उपचुनावमा निर्वाचित युवा सुहाङ्ग नेम्वाङ पनि विदेश पलायन भइसकेका अवस्था थियो। पूर्वसभामुख बुबा सुवास नेम्वाङको मृत्युपश्चात उनलाई एमालेले उत्तराधिकारी घोषणा नगरेको भए शायद उनी विदेश फर्किसकेका हुन्थे। इलामको उक्त क्षेत्रमा निर्वाचित हुने उनलाई अवसर जुर्‍यो तर अब उनको भूमिका के रहन्छ भविष्यले देखाउला। सामाजिक सञ्जालमा भाइरल उनको एउटा भिडियो छ जहाँ आफूले विदेशमा हुँदा गरेको दुःखलाई अभिव्यक्त गरेका छन्। श्रमको उचित सम्मान गर्ने संस्कार विकास नभएकै कारण नेपालमा गर्न हिच्किचाउने काम विदेशमा गएर विभिन्न डिग्री प्राप्त नेपालीले गरिरहेका पुष्टि उनै नेम्वाङको भिडियोले गर्छ।

बेरोजगार जनशक्तिलाई व्यवस्थापन गर्नुपर्ने सरकारको बाध्यताकै कारण वैदेशिक रोजगारीलाई प्रोत्साहन दिएको तर्क दलीय नेतृत्व पंक्ति प्रस्तुत गर्ने गर्छन्। वैदेशिक रोजगारीका क्रममा सिकेको ज्ञान र सिपलाई नेपाल फर्किएर उत्पादनशील कार्यमा लगाउने सरकारी नीति रहेको अभिव्यक्ति पनि सुन्न सकिन्छ तर व्यवहारतः प्रभावकारीरूपमा कार्यान्वयन भएको देखिँदैन।

विकसित राष्ट्रहरूमा कृषि व्यवसायलाई उच्च सम्मान दिएको पाइन्छ। कृषि व्यवसायलाई हुनेखाने धनी वर्गका रूपमा लिएको पाइन्छ तर त्यसको विपरित नेपालमा कृषि कर्ममा लागेका जनशक्तिलाई केही गर्न नसकेको भन्ने भाष्य स्थापित भैसकेको छ। कामको वर्गीकरण र सोहीअनुसारको मर्यादाक्रममा हेरिने दृष्टिकोणले नेपालमा उत्पादनशील युवा जनशक्तिलाई निरुत्साहित गरिरहेको यथार्थता हाम्रोसामु छर्लङ्ग छ। नेपाली जनशक्तिलाई नेपालमै उत्पादनशील कार्यमा लाग्ने प्रेरणा स्वतःस्फूर्तरूपमा जागृत हुने परिस्थिति निर्माण नहुँदासम्म विदेशको सपनाको गहिराइ अझै बढ्नेछ।

अहिले विदेश पलायनको प्रमुख समस्या भनेकै कामको वर्गीकरण र मर्यादाक्रमको दृष्टि हो। कामको वर्गीकरणअनुसार गरिने व्यवहार र श्रम मूल्यमा देखिएको ठूलो अन्तर र विभेदकै कारण युवा शक्ति विदेसिन बाध्य भएको यथार्थ दलीय नेतृत्वपंक्तिले बुझ्न जरुरी छ। निम्नवर्ग जसले आफ्नो अमूल्य मतसहित आफ्नै वर्गको जनप्रतिनिधि निर्वाचित गरेर उच्च मर्यादाक्रममा पुर्‍याउँछ तर आफूलाई जहिल्यै निम्नवर्गकै रहेको महसुस गर्छ। निर्वाचित जनप्रतिनिधिले वर्गीय विभेद अन्त्यका लागि इमानदारिता नदेखाउनु र नीति निर्माण तहको कथित निम्न वर्गप्रतिको दृष्टिकोणमा व्यापकता आउन नसक्नु आजको समस्या निर्माणको अर्को कारकका रूपमा रहेको देखिन्छ।

Published on: 17 May 2024 | Nagarik

Link

Back to list

;