s

तलाक !

मुस्तकिम शेखले पर्सादेवाड ७ महोत्तरीमा रहेकी श्रीमती हस्मुन खातुनलाई साउदी अरबबाट टेलिफोनमै 'तलाक' दिए । तलाक पाएलगत्तै घरबाट निकालेपछि उनी छोराछोरीसहित माइतीमा छिन् । पर्सादेवाड ७ कै खुश्मुदा खातुनलाई पनि श्रीमान् मुख्तार शेखले मुम्बईबाट टेलिफोनबाटै तलाक दिए । 'मामाघर गएको विषयलाई निहु बनाएर' मुख्तारले 'तलाक' दिएपछि  ५ बच्चासहित उनी घरबाट निकालिईन् । 

बाँकेको परस्पुरकी केशरजहाँ दर्जीलाई मलेसियामा रहेका श्रीमान सलिमले चिठी लेखेर 'तलाक' दिए । 'दाइजोको विषय'लाई लिएर असन्तुष्ट सलिमले 'तलाक' दिएपछि पाँच वर्षअघि विवाह बन्धनमा बाँधिएकी केशरजहाँ बिचल्लीमा छिन् । इस्लाम धर्मका धर्मगुरु -मौलाना) हरु टेलिफोन, पत्र, फेसबुक, ट्वीटरजस्ता माध्यामबाट दिइने 'तलाक'लाई गलत भन्छन् । 'त्यसरी दिईने तलाकलाई तलाक मान्न सकिन्न' इस्लामका जानकार तथा अरबी भाषाको कुरआनलाई नेपालीमा अनुवाद गर्ने मौलाना अलाउद्दिन अन्सारी फलाही भन्छन्, 'तलक दिंदा गवा -सुन्ने) मान्छे चाहिन्छन्, तलाकको त्यो तरिकै ठीक होइन ।' 

इस्लामी संघ नेपालका अध्यक्ष एवं इस्लामका जानकार हाजी मौलाना नजरुल हसन फलाही टेलिफोन र पत्रका माध्यामबाट तलाक दिनुलाई 'तलाकको दुरुपयोग र विकृती' भन्छन् । 'एकै पटक तलाक, तलाक, तलाक भन्दैमा तलाक हुन्न' फलाही भन्छन्, 'यो गलत प्रवृत्ति हो, त्यो तलाकको तरिका पटक्कै होइन ।'  मौलाना अलाउद्दिनका अनुसार इस्लामले तलाक -पारपाचुके) लाई बाध्यताको रूपमा लिएको छ र यसलाई प्रोत्साहित गरेको छैैन । 'हलाल' अथवा वैध कुरामध्ये तलाकलाई इस्लामले नराम्रो सूचीमा राखेको छ । श्रीमान्-श्रीमतीबीच मतभेद उत्पन्न भई सँगै बस्न असम्भव भएका अवस्थामा इस्लाम धर्मले 'तलाक'को प्रावधान गरेको छ । इस्लामले श्रीमान श्रीमती दुवैलाई सम्बन्ध बिच्छेदको अनुमति दिएको छ । श्रीमानका तर्फबाट पारपाचुके गर्नु 'तलाक' हो । 

कसरी हुन्छ तलाक

इस्लामका जानकार हाजी नबीबक्स मियाँका अनुसार श्रीमानले जतिबेला पायो त्यतीबेला विना कारण र अरुको बहकाउमा लागेर तलाक दिन मिल्दैन । 'श्रीमतीले कुनै बदमासी वा अनावश्यक क्रियाकलाप गरेको अवस्थामा मात्रै तलाक दिन सकिन्छ,' मियाँ भन्छन्, 'तलाक दिने पनि तरिका छ, एकै पटक तलाक, तलाक, तलाक भन्नु जायज छैन ।' श्रीमानले 'तलाक' दिने नै हो भने श्रीमती महिनावारी सकिएको अवस्था हुनुपर्छ । श्रीमतीलाई तलाक दिनै पर्ने अवस्थामा पुगेको भए महिनावारी सकिएर पवित्र भएको अवस्थामा प्रक्रिया अनुसार श्रीमानले एक तलाक दिन -भन्न) सक्छ । रिस उठेको बेला वा आवेशमा आएर तलाक दिए त्यो मान्य हुँदैन ।  'एक तलाक' भनिदिँदा दुईबीच सम्वन्ध विच्छेद भईहाल्दैन । पहिलो तलाक दिईएपछि पनि सम्बन्ध सुधारको संभावना हुन्छ । एक तलाक दिइसकेको अवस्थामा पनि श्रीमान श्रीमतीसँगै बस्न सक्छन् । सम्बन्ध नसुधि्रए अर्को महिनावारी सकिएर महिला पवित्र भईसकेपछि 'दोस्रो तलाक' भन्न -दिन) सक्छन् । 

दोस्रो तलाक दिइसकेपछि पनि परिवर्तनको मौका दिईएको छ । दोस्रो पटकमा पनि सकारात्मक नदेखेमा मात्रै 'तेस्रो तलाक' दिन सक्छ । 'तीन पटक तलाक' दिएपछि भने पूर्णरूपमा सम्बन्ध विच्छेद हुन्छ । तेस्रो तलाक दिनुअघि नै मिलन भयो भने अघिल्लो पटक दिईएको दुई तलाक स्वतः बदर हुन्छ । उनीहरु श्रीमान श्रीमतीका रुपमा रहन सक्छन् । 

तीनपटक तलाक दिएर छुटि्टइसकेकी श्रीमतीलाई फेरि भित्र्याउन पनि पाइन्छ । तर, त्यसअघि अर्को पुरुषसँग निकाह गरी सँगै बसेको हुनु अनिवार्य छ । 'यति नै समय सँगै बस्नुपर्छ भन्ने छैन' मौलाना अलाउद्दिन भन्छन्, 'केही समय बिताएर तलाक दिएको अवस्थामा पहिलेकै श्रीमानसँग फेरी निकाह -विवाह) हुन सक्छ ।' तर,प्रिप्लान गरेर त्यो गरिनु गलत हो ।

मौलाना अलाउद्दिनका अनुसार 'तलाक' पाएकी महिलाले तीनपटक महिनावारी हुन्जेलसम्म इद्दत -विशेष अवधि) बिताउनु अनिवार्य छ । त्योपछि मात्र अर्को पुरुषसँग बिहे गर्न पाइन्छ । कसैको श्रीमान बितेको खण्डमा श्रीमतीले चार महिना दस दिनसम्म इद्दत -विशेष अवधि) बिताउनु पर्छ । 

श्रीमतीले पनि दिन सक्छिन् तलाक

श्रीमतीले पनि श्रीमानबाट अलग हुन सक्ने व्यवस्था इस्लाममा छ । त्यो विधिलाई तलाक नभनि 'खुला' भनिन्छ । इस्लामले महिलालाई त्यो अधिकार दिएको छ । श्रीमान्को पीडा वा अत्याचार सहनै नसक्ने अवस्थामा पुगे श्रीमतीले त्यो विकल्प अपनाउन सक्छिन् । त्यसका लागि श्रीमती र श्रीमती पक्षकाले समाजका काजी -धर्मगुरु) सित सम्पर्क गर्नुपर्छ । श्रीमतीपक्षका तर्फबाट सम्बन्ध विच्छेद गराइदिन काजी कहाँ निवेदन गर्नुपर्ने हुन्छ । निवेदनपश्चात काजीले सम्बन्धित श्रीमानलाई बोलाएर तलाक दिन आदेश दिन्छ । श्रीमानले तलाक दिएमा सम्बन्ध विच्छेद भइहाल्छ । यसरी गरिने सम्बन्ध विच्छेदलाई खुला भनिन्छ ।      

श्रीमानले तलाक दिन अस्विकार वा अटेर गरेमा काजीले आफ्नो अधिकार प्रयोग गरेर सम्बन्ध विच्छेद गराइदिन सक्ने प्रावधान छ । यस तरिकाबाट गरिने सम्बन्ध बिच्छेदलाई फस्ख भनिन्छ ।  

इस्लामका धर्मगुरु र जानकारहरु इस्लामी शिक्षाको अभाव, समाजमै देखिएका विकृती, देखासिकी, सूचना प्रविधिको सञ्जाललाई गलत तलाकको मूख्य कारक ठान्छन् । 'तल्लोस्तरका जनतामा इस्लामी शिक्षाको अभाव, गरीबी र देखासिकी प्रशस्त छ' इस्लामी संघ नेपालका अध्यक्ष मौलाना नजरुल हसन फलाही भन्छन्, 'तलाकको मिस्युज भईरहेको छ, त्यसलाई रोक्नुपर्छ ।' 

पछिल्ला दिनमा तराईका विभिन्न जिल्लामा भएका घटनाहरु हेर्ने हो भने अधिकांश 'तलाक' दाईजोसँग जोडिएको देखिन्छ । हुनतः इस्लामले दाइजोलाई गैर इस्लामी प्रथा भनेको छ । तर, त्यही दाईजोको विषयले खासगरी तराईका जिल्लामा महिलामाथि हिंसाका घटना बढेका छन् । दाइजोकै विषयलाई लिएर 'तलाक' र आगो लगाएर हत्या गर्नेसम्मका घटनाहरु बारम्बार दोहोरिने गरेको छ । दाइजोप्रेमी समाजको प्रभावले मुसलमान समुदायलाई पनि गाँजेको छ । 

इस्लामले दाइजो होइन, 'महर'लाई वैध मानेको छ । विहे हँुदा केटापक्षले केटीपक्षलाई दिने विशेष धन 'महर' हो । जुन निकाहअघि केटीकै हातमा दिईन्छ । त्यो नगद मुद्रा वा गहना दिन सकिन्छ । पहाडी जिल्लामा भने नगद रकम नै दिने प्रचलन छ । महर केटी पक्षको हक हो । महरको यति नै हुनुपर्छ भन्ने छैन । महर केटापक्षको आर्थिक हैसियत अनुसार हुनुपर्छ । व्यवहारत केटापक्षले केटीपक्षलाई मुद्राको रूपमा र कहिलेकाहिँ गहनाको रूपमा महर दिन्छन् । यो महर नगद नै दिनु राम्रो मानिन्छ । केहीले उधारो पनि राख्छन् । 

पछिल्ला दिनमा बाँके, बर्दिया, पर्सा, महोत्तरी, सुनसरीलगायतका जिल्लामा गलत तलाकका घटनाहरु बढिरहेका छन् । नेपाल मुस्लिम समाज चेतना विकास केन्द्रले बाँकेमा गरेका अध्ययन अनुसार ३ सय २४ महिला तलाकका कारण प्रताडित छन् ।  

राष्ट्रिय महिला आयोगले पनि अहिलेसम्म तलाकबाट पिडित महिलाबारे अग्रसरता देखाउन सकेको छैन । आयोगकी सदस्य धनेश्वर चौधरी पछिल्ला समयमा मिडियामा आएका तलाकका घटनाबारे ध्यानाकर्षण भए पनि अध्ययन अनुसन्धानमा जुट्न नसकेको स्विकार्छिन् । 'त्यो समस्या कसरी न्युन गर्न सकिन्छ भन्नेमा हाम्रो ध्यानाकर्षण चाँहि भएको छ' चौधरीले भनिन् । संयोगले आयोगकी अध्यक्षसमेत अहिले मुस्लिम समुदायकै शेखचाँद तारा छिन् । 'पत्र-पत्रिकामा तलाकका समाचार आएपछि हामी कसरी अघि बढ्ने भनेर सरसल्लाह गरिरहेका छौं' चौधरीले सुनाईन्, 'अध्यक्षज्यूसमेत मुस्लिम समुदायबाट भएकाले तलाकको गलत प्रवृत्ति रोक्नपर्छ भन्नेमा हुनुहुन्छ ।'   

समाधान पारिवारिक कानुन

मुस्लिम महिलाबारे काम गरिरहेका विभिन्न संघ/संस्थाका अधिकारी तलाकको समस्या समाधान गर्न 'मुस्लिम पारिवारिक कानुन' आवश्यक ठान्छन् । 'तलाक दिएको महिलालाई अदालतले फिर्ता जान सक्छौ भनेर सफाई दिदै श्रीमानको घर फिर्ता गर्दिन्छ' नेपाल मुस्लिम महिला कल्याण समाजकी अध्यक्ष सीमा खान भन्छिन्, 'तर, इस्लामिक तरिका अनुसार तलाक भईसकेकी महिलालाई श्रीमानले राख्न मिल्दैन ।' त्यही भएर पछिल्ला समयमा धेरै महिला यो समस्याबाट प्रताडित बनेका छन् ।  

इस्लामिक व्यवस्था र सरकारी कानुन बाझिएकाले निकाह, तलाक र महिलाको सम्पत्तिको अधिकारका लागि पारिवारिक कानुन -पर्सनल ल अपरिहार्य भएको खानको ठहर छ । पारिवारिक कानुनमा निकाह -विवाह, तलाक र सम्पत्तिको अधिकारबारे स्पष्ट उल्लेख हुन्छ र त्यही विधि अनुसार समस्या सुल्झाईन्छ । 

छिमेकी मुलुकहरु भारत, पाकिस्तानमा अलग्गै पारिवारिक कानुन -पर्सनल ल को व्यवस्था छ । भारतमा करिब १५ करोड मुसलमानले विवाह, सम्बन्ध विच्छेद तथा अन्य पारिवारिक जीवन पारिवारिक कानुन अनुसार नै चलाउँछन् । यस्ता विषयमा सरिया अदालतले निर्णय गर्ने गर्छ । राष्ट्रिय महिला आयोगकी पूर्व सदस्य एवं राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी महिलालाई बलियो बनाउन निकाह -विवाह गर्दाको अवस्थामा नै 'निकाहनामा' लाई 'अफिसियल डकुमेण्ट' बनाउँदै तलाक पछिको भरण पोषणबारे त्यसमै उल्लेख गर्नुपर्ने तर्क गर्छिन्, 'त्यसो गरे पुरुषले थप जिम्मेवारी महसुस गर्छन् र महिलाले पनि पछि न्याय पाउँछिन् ।' 'अर्को उपाय भनेको निकाहको बखत् दिइने महरको रकममा वृद्धि गर्नुपर्छ' अधिवक्तासमेत रहेकी अन्सारीको सुझाव छ, 'उक्त रकममा महिलाको मात्रै अधिकार हुने भएकाले पछि त्यो रकमले तलाकपछि पनि उनको जीवन अघि बढाउन सहयोग मिल्छ ।' 

Published on: 27 December 2014 | Kantipur

Back to list

;