s

तलब र सुविधामा विभेद भएको महिला मजदुरको गुनासो

दीपेन्द्र अधिकारी

मदिरा उद्योगमा कार्यरत महिला मजदुरले तलब–सुविधामा विभेद हुने गरेको गुनासो गरेका छन् । १ सय १०औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा चितवनको नारायणगढस्थित यती डिस्टिलरी मदिरा उद्योगमा आयोजित अन्तक्र्रिया कार्यक्रममा एक सय महिला सहभागी थिए  ।  उद्योगमा घन्टौँ समय लाइनमा उभिएर काम गर्नुपर्ने,गहुँगो  भारी बोक्नुपर्ने, सानो गल्तीमा पनि सुपरभाइजरले अनावश्यक गालीगलौज गर्ने गरेको, घाइते हुँदा उपचार खर्च नपाएको ,सानो गल्तीमा पनि एक दिनकै हाजिर काटिदिने गरेको , थर्काउने, जागिर खाइदिन्छु भन्नेजस्ता हप्कीदप्की उद्योगका माथिल्ला तहका कर्मचारीले लगाउने गरेको महिला मजदुरको गुनासो छ । मदिरा उद्योगका प्रतिनिधि निर्मल श्रेष्ठले २ सय बढी महिला कामदारहरू उद्योगमा कार्यरत रहेको बताए । उनले व्यवस्थापन पक्षबाट कुनै भेदभावको व्यवहार नभएको बताए ।

यौनजन्य हिंसाविरुद्धको साझा अभियान चितवनकी संयोजक मीना खरेलले जुनसुकै उद्योगमा काम गरे तापनि महिलाको अवस्था कमजोर रहेको बताइन् । आफ्ना कुरा व्यवस्थापन पक्षसँग राख्न नसक्ने, अन्तरमुखी स्वभाव, कमजोर शारीरिक अवस्था आदिले महिला पछि परेको उनले बताइन् । एउटै उद्योगमा समान प्रकृतिको काम गर्ने महिला र पुरुषबीच असमान खालको ज्यालाको व्यवस्था रहेको उनको भनाइ थियो । ‘न्युयोर्कको सय वर्षअघिको पीडा र नेपाली महिलाको अहिलको पीडा उस्तै छ,’ संयोजक खरेलले भनिन्, ‘कसैको भाषण गरेर औपचारिक दिनुभन्दा उद्योगमा कार्यरत महिलाको वास्तविकता थाहा पाउन नयाँ शैलीको कार्यक्रम गरिएको हो ।’

कार्यक्रममा बोल्दै चितवन प्रहरीप्रमुख एसपी सुशीलसिंह राठौरले महिला आर्थिक हिसाबले सक्षम नभएसम्म उनीहरूमाथि दमन, पीडा, शोषण भइरहने बताए । कार्यालयमा आउने उजुरीहरू केलाउँदा अधिकांशमा महिलाको आर्थिक पक्षसँगको सम्बन्ध प्रमुख कारण रहेको उनले बताए । भरतपुर–३ का अध्यक्ष चन्द्रमित्र पण्डितले महिलाले रोजगारीको अवसर पाए पनि उनीहरूलाई अझै सन्तुष्टि प्राप्त नभइसकेको बताए । कम ज्यालमा बढी समय खर्चेर काममा लाग्नु महिलाको बाध्यता रहेको उल्लेख गर्दै उनले महिला जस्तोसुकै काम गर्न पनि सक्षम रहेको बताए ।

यौनजन्य हिंसाविरुद्ध साझा अभियान चितवनकी सहसंयोजक संगीता भट्टराईले महिलामा चेतनाको अभाव हुँदा समस्या भएको बताइन् । समाज परिस्कृत हुँदै गर्दा कतिपय मुद्दाहरू आफैँ  व्यवस्थापन हुँदै गए पनि सहरबजार र दूरदराजका महिला अधिकांश पीडित नै रहेको सहसंयोजक भट्टराईले बताइन् । मदिरा उद्योगमा सन् १९०८ मार्च ८ का दिन अमेरिका स्थित न्युर्योकको एक कपडा उद्योगमा कार्यरत महिलाले श्रमका विषयमा थालेको आन्दोलनले १ सय १० वर्ष पूरा गरेको छ । त्यसैको सम्झनामा हरेका मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा लिइन्छ ।

Published on: 8 March 2019 । Nayapatrika

Back to list

;