s

तलब नपाएपछि युएईमा नेपाली कामदार अलपत्र

लक्ष्मण खनाल
 
बैदेशिक रोजगारीको लागि युएई आएका ७ जना नेपालीले कम्पनीबाट तलब नपाएपछि अलपत्र परेका छन् । काठमाडौं महाराजगञ्जमा रहेको नेगी इन्टरनेशनल ओभरसिज मार्फत प्लम्बर र इलेक्ट्रिसियनको रुपमा युएई आएका उनीहरुलाई कम्पनीले साढे २ महिनादेखी तलब दिएको छैन । 
 
युएईमा रहेको एटोन कन्ट्रयाक्टिङ्ग मेन्टिन्यान्स् कम्पनीमा उनीहरु कार्यरत छन् । तलब नपाएपछि कम्पनीलाई दबाब दिन १४ दिनदेखि काम छोडेर उनीहरु कोठामा बसेका छन् । अलपत्र मध्ये ७ जना अबुधावीको मुसाफामा रहेका छन् । अलपत्र पर्नेमा अर्घाखाँचीका हरिप्रसाद गैरे, मोरङका सानु राई, सन्तोष गुरुङ र लालध्वज राई, काभ्रेका बोमबहादुर तामाङ, नवलपुरका गया चौधरी र सुनसरीका इन्द्रबहादुर महतो रहेका छन् । सो कम्पनीमा अन्य ५ जना नेपालीहरु पनि कार्यरत रहेका छन् । 
 
उनीहरुले मंगलबार नेपाली राजदूतावास आबुधाबीमा सहयोग गरिदिन भन्दै निवेदन बुझाएका छन् । नेपाली राजदुतावासले एक हप्तामा समस्या समाधान गर्ने आश्वासन दिएको पीडित सन्तोष गुरुङले नयाँ पत्रिकालाई बताए । उनले काम गरेको अबधिको तलव र  पासपोर्ट पाए नेपाल फर्कने बताए ।
 
दूतावासका श्रम सहचारी मोतिराम भुषालले पीडितहरुको निवेदन आएपछि उनीहरुलाई युएई पठाउने म्यानपावर एजेन्सीसँग कुरा भएको बताए । ‘म्यानपावर एजेन्सीले एक हप्ता भित्रमा समस्या समाधान गर्ने बताएको छ,’ उनले भने, ‘समस्या समाधान भएन भने एजेन्सीलाई दुतावासले कारबाही प्रक्रियामा राख्नेछ ।’त्यसैगरी दुतावासले उनीहरु कार्यरत कम्पनीमा पनि कुरा गरेको भुषालले जानकारी दिए । कम्पनीले कामदारहरुले सम्पूर्ण सेवा सुविधा उपलब्ध गराउने आश्वासन दिएको उनले बताए । 
 
Published on: 16 May 2019 | Naya Patrika

Back to list

;