s

तलब नपाई फर्किन्छन् नेपाली श्रमिक

होम कार्की

काठमाडौँ — सिरहाका चतुरनारायण मण्डलले १८ महिनाको तलब लिन नपाई अक्टोबरको पहिलो साता कतार छाडे । उनी १३ वर्षदेखि इम्पेरियल ट्रेडिङ एन्ड कन्स्ट्रक्टिङ कम्पनीमा काम गर्थे । पहिले कम्पनी राम्रै थियो । व्यवस्थापन परिवर्तन भएपछि अवस्था बिग्रियो ।

‘हामीले श्रम मात्रै पोख्नुपर्‍यो,’ उनले भने, ‘कतारमा बिनातलब बस्नै सकिएन । घरमा पैसै पठाउन नसक्ने भएपछि तनावमा बसेर के अर्थ ?’

उनीलगायत श्रमिकहरूले गत वर्षको जुलाईदेखि तलब माग गर्दै आन्दोलन गर्नुपरेको थियो । उनले १८ महिनाको १८ हजार रियाल (५ लाख ९४ हजार रुपैयाँ) छोडेर आउनुपर्‍यो । आफूजस्ता श्रमिकलाई तलब नदिँदा कम्पनीलाई ३ लाख ५७ हजार डलर फाइदा पुगेको उनी बताउँछन् । ‘कतिपय साथीहरू तलब पाइने आसमा अझै सनैया क्याम्पमै बसिरहेका छन्,’ उनले भने ।

गन्तव्य देशमा मण्डलले जसरी तलब छोडेर आउने श्रमिकको संख्या निकै छ । यो वर्ष कोरोना महामारीले झन् बढाइदिएको छ । ‘तलब नदिन कम्पनीलाई कोरोना बहाना भइदियो,’ साउदीमा कार्यरत सप्तरीका वीरेन्द्र साहले भने, ‘कम्पनीले टिकट मात्रै दिँदा पनि हामीले राहत मान्नुपर्ने अवस्था सिर्जना भयो ।’

खाडी तथा मलेसियास्थित नेपाली दूतावासहरूमा दैनिकजसो करिब २ सय जना तलब नपाएको भन्दै उजुरी लिएर जाने गरेका छन् । दूतावासले कम्पनी र श्रमिकसँग समन्वय गरे पनि श्रमिकको हातमा पसिनाको मूल्य पाउन कठिन छ । ‘अवस्था एकैचोटि बिग्रिने होइन रहेछ । सुरुसुरुमा तलब महिनाको मध्यतिर आउँदो रहेछ । त्यसपछि महिना ग्याप हुँदो रहेछ,’ संयुक्त अरब इमिरेट्स (यूएई) बाट फर्केका लक्ष्मण राईले भने, ‘आउँछ आउँछ भन्दै तीन–चार महिना आस गर्दै बित्दो रहेछ । अवस्था बिग्रेर श्रम विभाग वा दूतावासमा पुगिसक्दा निवेदन दिने समय नै गुज्रिसक्दो रहेछ ।’

अनौपचारिक क्षेत्रमा समेत श्रमिक ठगिएका छन् । इजिप्टमा घरेलु श्रमिकको हैसियतमा कार्यरत सिन्धुपाल्चोककी मनमाया तामाङले ८ महिनाको तलब पाइनन् । ‘नेपाल जाने भन्दा ६ महिनाको तलब दिएन । बरु उसले अर्को साहुले दिन्छ भन्दै पठाइदियो,’ उनले सुनाइन्, ‘अर्को साहुलाई माग्दा उताको तलब मलाई मतलब छैन भन्यो । दोस्रो साहुले पनि २ महिनाको दिएन ।’

घरेलु श्रमिक झन् पीडित भएको महिला अधिकारकर्मी मञ्जु गुरुङ बताउँछिन् । प्रमुख गन्तव्य मुलुकमा घरेलु श्रमिकका लागि जान अझै प्रतिबन्ध छ । जसले गर्दा उनीहरू वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएको उनले बताइन् । ‘वैधानिक रूपमा कुनै दस्ताबेज हुँदैन । वैदेशिक रोजगार विभागमा अभिलेख हुँदैन,’ उनले भनिन्, ‘प्रमाण अभावले आफ्नो कानुनी अधिकार दाबी गर्नबाट उनीहरू वञ्चित भइरहेका छन् ।’ झन्डै ६ महिनामा वैदेशिक रोजगारीमा गएकामध्ये १ लाख ५२ हजार स्वदेश फर्केका छन् । कोरोना महामारीका बेला गन्तव्य मुलुकका अड्डाअदालत बन्द हुँदा नेपाली श्रमिकले उजुरी दिन पाएनन् । ‘कतिपय श्रमिक हतारमा, उचित तयारी बिना स्वदेश फिर्ता केन्द्रबाट सोझै नेपाल आए । उनीहरूले तलब, सुविधा तथा पेन्सन नपाई फर्किनुपर्‍यो,’ श्रमिक अधिकारकर्मी सोम लुइँटेलले भने । चर्को ब्याजमा ऋण लिएर विदेश गएकाले फिर्ती टिकट पनि आफैंले किनी उल्टै ऋण बोकेर फर्किनुपर्‍यो भने कतिपय महामारीका कारण ६ महिनासम्म काम गर्न नपाउँदा बाध्यताले फर्किए ।

गन्तव्य देशमा नेपाली श्रमिकलाई तलब सुविधा दिलाउन सम्भव नभए श्रम सम्झौता अन्तर्गतका समितिहरूको बैठक, द्विपक्षीय वार्ता तथा उच्चस्तरीय भ्रमणको पहल गर्नुपर्ने अधिकारकर्मीहरू बताउँछन् । ‘श्रमिकलाई तलब/सुविधा दिलाउन सम्बन्धित दूतावासले कूटनीतिक पहल र कानुनी उपचारको माध्यम अपनाउनुपर्छ,’ लुइँटेलले भने, ‘यसबाट पनि नभए श्रमिकको तलब चोरीको विषयलाई अन्तर्राष्ट्रिय तथा क्षेत्रीय फोरममा उठाउनुपर्छ ।’

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले तलब नपाई स्वदेश फर्केका श्रमिकलाई उजुरीका लागि आह्वान गरिएको बताए । ‘जिल्ला प्रशासन वा प्रहरीमार्फत पनि दिन सकिन्छ । उजुरी प्राप्त भएपछि सम्बन्धित देशका दूतावासमार्फत रकम दिलाउन सहजीकरण भइरहेको छ,’ उनले भने । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले दूतावासले श्रमिकलाई तलब दिलाउन सक्दो सहजीकरण गरेको बताए ।

Published on: 17 December 2020 | Kantipur

Link

Back to list

;