s

तलब अन्तरबारे प्रश्न उठाइने

आप्रवासी कामदारका विषयमा श्रीलंकामा हुने दुई दिने ‘आबुधाबी डाइलग (कामदार मगाउने र पठाउने एसियाली राष्ट्रहरूको क्षेत्रीय सम्मेलन)’ मा नेपालले समान काममा कामदारहरूबीच तलब र सेवा–सुविधामा रहेको अन्तर र त्यसलाई हटाउने विषय उठाउने भएको छ । श्रीलंकाको राजधानी कोलम्बोमा सोमबार र मंगलबार (जनवरी २३ र २४) आबुधाबी डाइलग हुँदै छ ।

नेपालबाट सहभागी हुने श्रम राज्यमन्त्री दिलीप खवास गच्छदार नेतृत्वको टोलीले कामदारहरूबीचको असमानता हटाउनुपर्ने विषय नेपालले उठाउने जानकारी दिएको छ । ‘एकै प्रकृतिको काममा भएको तलब अन्तर, पीडित कामदारको सहज उद्धार जस्ता विषयलाई उठाउँछौं,’ गच्छदारले कान्तिपुरलाई भने, ‘सम्मेलन र साइड लाइन मिटिङहरूमा म यिनै विषयमा जोड दिन्छु ।’

संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीबाट २००८ मा सुरु भएको ‘आबुधाबी डाइलग’ सम्मेलनमा कामदार पठाउने ११ राष्ट्र, मगाउने ७ राष्ट्र र केही राष्ट्र पर्यवेक्षकका रूपमा सहभागी हुन्छन् । आबुधाबीबाट सुरु भएकाले यसलाई आबुधाबी डाइलग भनिँदै आएको छ, जसको सुरुवात कामदार मगाउने राष्ट्रहरूले गरेका थिए ।

Published on: 19 January 2017 | Kantipur

Back to list

;