s

ताहाचलमा सरुवा प्रकरणः हाकिम नै हिँडेपछि अरु सुरुक्क

वैदेशिक रोजगार विभागका निर्देशक मोहन अधिकारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सरुवा भएका छन् । गत बुधबार मन्त्रालय सरुवा भएका अधिकारी विभागमा रहँदा विभागको निर्देशक तथा सूचना अधिकारीको जिम्मेवारीमा थिए । मन्त्रालयमा उनी हाल मन्त्री गोकर्ण विष्टको सचिवालयमा कार्यरत रहेका छन् । विभागमा सूचना अधिकारीको जिम्मेवारी हाल अनुगमन तथा उद्धार शाखा हेर्ने निर्देशक शशीकुमार लम्सालले हेर्ने छन् । तर, उनले सूचना अधिकारीको जिम्मेवारी पाइसकेका छैनन् ।
 
विभागको अनुसन्धान तथा उजुरी शाखाका निर्देशक खाली भएको दुई महिना पुग्नलाग्दा पनि पूर्ति भएको छैन । गत माघ २० गते शाखाका तत्कालीन निर्देशक गोविन्दप्रसाद उपाध्याय उमेर हदका कारण अनिवार्य अवकाशमा गएदेखि विभागको उक्त पद रिक्त रहेको हो ।
 
उता विभाग अन्तरगतको काठमाडौं कार्यालय ताहाचलको पनि केही दिनदेखि कार्यालय प्रमुख रिक्त रहेको छ । उक्त कार्यालयका कार्यालय प्रमुख प्रेम देसार भएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तरगत तत्कालीन  स्थानीय तहमा सरुवा भई गएपछि ताहाचल कार्यालय प्रमुख विहिन भएको हो । उनी केही समय अघि नै सरुवा भएका भएपनि सरुवा भएको स्थानमा नगइ विभागको काठमाडौं कार्यालय ताहाचलको निमित्त प्रमुखको जिम्मेवारीमा रहेका थिए ।
 
देसार सरुवा भएको स्थानमा गएपछि सोमबारदेखि मलेशिया शाखाका निर्देशक ईन्द्रदेव पाण्डे ताहचालको निमित्त प्रमुख कार्यालय भई काम काज गरिरहेका छन् । उता शुक्रबारदेखि हाजिर गर्न नपाएका १६ जना कर्मचारी सोमबारबाट भने आफू सरुवा भएको कार्यालयमा गएका छन् । नायब सुब्बा लोकेन्द्रबहादुर रावल, कुमारबहादुर कटवाल, रविन्द्र घिमिरे, राजन घिमिरे, गौरीकुमारी कार्की, लक्ष्मण गुरागाईं, केदार घिमिरे, यज्ञप्रसाद आचार्य, यज्ञबहादुर ओली, विद्याप्रसाद जैसी, सुमन पौडेल, सधुकर डाँगीसहित कम्प्युटर अधिकृत डम्बरबहादुर विश्वकर्मा, भवानी थपलिया र कार्यालय सहयोगी रञ्जु दाहाल, तुलसीमान मर्हजन सरुवा भएका कार्यालयमा गएका थिएनन् ।
 
सरकारी कर्मचारीहरुबीच अतिरिक्त लाभ हुने कार्यालयका रुपमा चर्चित उक्त कार्यालयमा दरबन्दी बाहेकका केही कर्मचारी करिव १४ महिनादेखि विनातलब काम गरिरहेको समाचार सार्वजनिक भएपछि मन्त्री बिष्टले गत शुक्रबारदेखि उनीहरुको हाजिरी रोक्न निर्देशन दिएका थिए । कार्यालयमा हाजिर गर्न जवरजस्ती गरिरहेका ती कर्मचारी कार्यालय प्रमुख देसार नै हिँडेपछि कार्यालय छोड्न वाध्य भएको बताइएको छ ।
 
Published on: 27 March 2018 | Madhyanha

Back to list

;