s

तालिम छोट्याउँदा इजरायल अनिश्चित

इजरायल सरकारले केयर गिभरका लागि नेपालबाट लैजान खोजेको कामदार पठाउने काम तालिम दिने संस्थाका कारण अनिश्चित बनेको छ । केयर गिभरको तालिम दिन वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सूचीकृत गरेका संस्थाले तीनमहिने तालिम एक महिनामै सकेर तीनमहिने प्रमाणपत्र जारी गरेपछि इजरायलको रोजगारी अनिश्चित बनेको हो।
 
इजरायल जाने केयर गिभरले अनिवार्य रूपमा तीनमहिने तालिम लिएको हुनुपर्ने नियम इजरायल सरकारले बनाए पनि नेपालका तालिम दिने संस्थाले एक महिनाको तालिम दिएर तीनमहिने तालिम सकेको प्रमाणपत्र जारी गरेपछि समस्या आएको हो।
 
वैदेशिक रोजगार विभागका प्रवक्ता जनकराज रेग्मीले इजरायल जान पहिलो चरणमा दर्ता भएका आठ सय १८ निवेदनमध्ये ६ सय २५ जनाले एकमहिने तालिम लिएर तीनमहिने प्रमाणपत्र पेस गरेका छन्। एक महिनाको पाठ्यक्रम अनुसार तालिम लिएर तीनमहिने प्रमाणपत्र पेस गरिएपछि विभागले ती प्रमाणपत्रलाई नक्कली भन्दै छानबिन अघि बढाएको छ। छानबिन जारी रहुन्जेल नेपाली युवायुवती इजरायल जान पाउने/नपाउने अनिश्चित बनेको रेग्मीले बताए
 
इजरायल जानेलाई केयर गिभरको तालिम दिन विभागले १९ वटा अभिमुखीकरण संस्थालाई जिम्मेवारी दिएको थियो। एकमहिने तालिम दिएर तीन महिना अवधि राखी प्रमाणपत्र जारी गरेपछि ती प्रमाणपत्रबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ। रेग्मीका अनुसार छानबिनको क्रममा ती प्रमाणपत्र नक्कली ठहरिए तालिम दिने संस्था नै खारेजीमा पर्न सक्छन्।
 
अख्तियारले प्रमाणपत्र छानबिन गरिरहेकाले विभाग र श्रम तथा रोजगार मन्त्रालयका कुनै पनि अधिकारी इजरायल जाने प्रक्रिया अघि बढाउन तयार छैनन्। विभागका एक अधिकारीले भने, 'सामान्य निर्णय गर्दा त अख्तियारबाट त्रसित हुनुपर्ने अवस्थामा एक महिनाको तालिम दिएर तीन महिनाको उल्लेख गर्नेको प्रक्रिया अघि बढाउन त्यति सहज छैन।'
 
जिटुजी (दुवै देशका सरकार) प्रक्रियाबाट कामदार लैजाँदा वैदेशिक रोजगारी बढी उपलब्धिमूलक हुने भएपछि गत असार २१ गते इजरायल र नेपाल सरकारबीच सम्झौता भएको थियो। मेनपावर कम्पनीले कामदार पठाउँदा बदमासी गरेको आरोप लागेपछि इजरायल सरकारले करिब दुई वर्षसम्म नेपाली कामदार लैजान रोकेको थियो। विभागका एक अधिकृतका अनुसार सरकारको निरन्तर प्रयासपछि इजरायल सरकार नेपाली कामदार लैजान सहमत भए पनि मेनपावरको साटो जिटुजी प्रक्रिया लागू गर्ने सम्झौता भएको हो।
 
कामदारका लागि इजरायल बढी सुरक्षित छ। पारिश्रमिक पनि राम्रो पाउने हुँदा यो आकर्षकमध्येको रोजगार गन्तव्यमा पर्छ। जिटुजी प्रक्रियाबाट पहिलो चरणमा ६० कामदार पठाउने तयारी भइरहेको थियो। निवेदन दिनेमा एक सय ४५ जना प्रवीणता नर्सिङ सकेका पनि छन्।
 
इजरायल जान निवेदन दिएकी रश्मी जोशीले तालिम दिने संस्थाको बदमासीका कारण निर्दोष कामदारको इजरायल जाने अवसर गुम्न नहुने बताइन्। 'हामी तीन महिना त के एकवर्षे तालिममा पनि सहभागी हुन चाहन्थ्यौं,' उनले भनिन्, 'एकमहिने तालिम दिएर प्रमाणपत्रमा तीन महिनाको लेख्ने काम तालिम दिने संस्थाले आफ्नै मर्जीले गरेका हुन्।'
 
विभागका प्रवक्ता रेग्मीले अन्य कामदारले पेस गरेको प्रमाणपत्रमा बदमासी गरेको पाइएकाले नर्सहरूले पेस गरेको प्रमाणपत्रबारे पनि ढुक्क हुन नसकिने बताए । 'पेस गरिएका सबै प्रमाणपत्र छानबिन नगरी कसका सक्कली र कसका नक्कली भन्न सकिँदैन,' उनले भने, 'वैदेशिक रोजगारीमा पाइलैपिच्छे बदमासी हुँदा अन्ततः त्यसले सम्बन्धित क्षेत्रलाई नै नोक्सानी पुर्यासउँछ भन्नेबारे नबुझ्दा यस्तो समस्या आएको हो।'
 
अघिल्लो महिना नै कामदार इजरायल लैजाने प्रक्रिया सुरु भइसक्नुपर्नेमा जान पाइने/नपाइने नै अनिश्चत बनेपछि निवेदन दिएकाहरू दिनहुँ विभाग धाइरहेका छन्। इजरायल जान इच्छुक युवायुवती तालिम दिने संस्थाको बदमासीका कारण कोही पनि रोकिन नहुने बताउँछन्। 'पटकपटक बदमासी गरिरहने हो भने इजरायल सरकार नेपाली कामदार पर्खेर बस्छ जस्तो लाग्दैन,' विभागका कर्मचारीले भने, 'तालिम दिने संस्थाको बदमासीका कारण राम्रो कमाइ हुने र सुरक्षित देश गुम्ने खतरा बढेको छ।' यद्यपि इजरायल सरकारले भने अहिलेसम्म आधिकारिक रूपमा कामदार रोक्नेबारे कुनै जानकारी नदिएको विभागले जनाएको छ।
 
वैदेशिक रोजगारीका लागि इजरायल जाँदा सरकाले लागत खर्च करिब एक लाख रुपैयाँ तोकेको छ। रोजगारदाताले मासिक एक लाख रुपैयाँ तलब दिनुको साथै बस्ने र खाने सुविधा उपलब्ध गराउने भएकाले धेरै कामदार इजरायल पर्खेर बसेका थिए। मेनपावर व्यवसायीका अनुसार खाडी मुलुक र मलेसियाको तुलनामा इजरायल कामदारका लागि बढी सुरक्षित छ। केयर गिभरको तालिम शुल्क प्रतिमहिना १६ हजार रुपैयाँ तोकेका संस्थाहरूले तीन महिना तालिम लिएको प्रमाणपत्र जारी गर्दा प्रतिव्यक्ति ५० हजार रुपैयाँभन्दा बढी असुलेको भुक्तभोगी बताउँछन्।
 
वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष पूर्ण मल्ल नेपाल सरकार र इजरायल सरकारबीच गत असार २१ गते नेपाली कामदार पठाउने सम्झौता हुनुअघिसम्म केयर गिभरको पाठ्यक्रम एक महिनाकै भए पनि तीन महिना तालिम लिएको प्रमाणपत्र जारी गर्न नहुने बताउँछन्।
 
Published on: 24 December 2015 | Nagarik
 

Back to list

;