s

ताक्लाकोटबाट तत्काल उद्धार असम्भव : गृह

मातृका दाहाल

सरकारले चीनको ताक्लाकोटमा अलपत्र परेका १ सय ४८ नेपालीलाई तत्काल उद्धार गर्न नसकिने बताएको छ । मौसम प्रतिकूल रहेको र कोरोना भाइरस (कोभिड–१९) प्रकोपपछि नेपाल–चीन सीमा नाका बन्द भएका कारण उनीहरूलाई तत्काल उद्धार गर्न कठिन रहेको गृह मन्त्रालयले स्पष्ट पारेको हो । गृहले ताक्लाकोटमा रहेका नेपालीलाई नआत्तिन र धैर्य गर्न आग्रह गरेको छ । ताक्लाकोटबाट हुम्ला फर्कने बाटोमा पर्ने नारालेकमा १० फिटभन्दा बढी हिउँ जमेको छ । केही दिनअघि मात्रै एक नेपाली त्यही बाटो हुँदै आएका थिए । रोजगारीका क्रममा बझाङको उरै र हुम्लाको हिल्सा नाका हुँदै ताक्लाकोट पुगेकालाई उद्धार गर्न मार्च १ मै जिल्ला प्रशासन कार्यालय हुम्लामा निवेदन परेको थियो ।

त्यसपछि हुम्ला प्रशासनले मौखिक रूपमा निवेदनबारे गृह मन्त्रालयलाई जानकारी गराएको थियो । उद्धारको पर्खाइमा रहेका नेपालीका तर्फबाट हुम्लाका सांसद छक्कबहादुर लामा र कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दलबहादुर रावललाई पनि यसबारे जानकारी गराइएको थियो । तर कतैबाट पनि समस्या समाधानमा पहल भएको छैन । गृह मन्त्रालयका शान्ति सुरक्षा शाखा प्रमुख उमाकान्त अधिकारीले तत्काल उद्धार गर्न कठिन भएको बताए । कोरोना भाइरस संक्रमणको न्यूनता र मौसम अनुकूलता भएपछि त्यहाँ फसेका नेपालीको समस्या समाधान हुने उनको भनाइ छ । ‘ताक्लाकोट पुगेका नेपालीको अवस्था आत्तिनुपर्ने खालको छैन, मौसम प्रतिकूलका कारण अर्को व्यवस्था गरिहाल्न सक्ने अवस्था पनि देखिँदैन,’ उनले भने ।

ताक्लाकोटमा रहेका नेपालीले आफूहरूलाई उद्धार नगरिए भागेर आउने चेतावनी दिएका थिए । हुम्लाका प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले पनि तत्काल ताक्लाकोट पुगेका नेपालीलाई फिर्ता गर्न सक्ने सम्भावना नरहेको बताएकी छन् । कर्णाली प्रदेशका मन्त्री रावलले तत्काल ताक्लाकोटमै बस्न र भागेर नआउन उनीहरूलाई आग्रह गरेका छन् । त्यहाँ रहेका नेपालीलाई चिनियाँ प्रशासनले नियमित स्वास्थ्य जाँच र खानबस्नको व्यवस्था मिलाएको छ ।

Published on: 14 March 2020 | Kantipur

Link

Back to list

;