s

सिरियामा नेपालीको शव

गृहयुद्धले ग्रसित बनेको पश्चिम एसियाली मुलुक सिरियामा कोही पनि नेपाली नरहेको सरकारी भनाइ आइरहेका बेला रोजगारीमा दमास्कस पुगेकी संखुवासभाकी एक नेपाली महिलाको शव तीन महिनादेखि स्थानीय अस्पतालमा रहेको जानकारी सार्वजनिक भएको छ ।

नेपाल सरकारले प्रतिबन्ध लगाएको रोजगार गन्तव्य सिरियामा भारतको बाटो हुँदै एक वर्षअघि पुगेकी सुनिता दर्जीको तीन महिनाअघि मृत्यु भएकोबारे परराष्ट्र मन्त्रालयको कन्सुलर शाखालाई ढिलो गरी जानकारी प्राप्त भएको थियो । 'मृतक दर्जीको नाममा क्षतिपूर्तिसरह ३ हजार डलर रकम दिने सहमति जुटेको छ तर क्षतिपूर्ति लिने आफन्तको वारेसनामा आइसकेको छैन,' कन्सुलर शाखाका एक अधिकारीले भने । 

सिरियाली मूलका मालिककहाँ काम गर्ने सुनिताको शव दमास्कसमै अन्तिम संस्कार गर्ने भएमा अहिले दिएको क्षतिपूर्तिमा २ हजार डलर थपिदिने सर्त राखिएको छ । सिरिया मामिला हेर्ने इजिप्टस्थित नेपाली दूतावासलाई सुनिताको मृत्युबारे जानकारी आएपछि शव स्वदेश पठाउन आवश्यक प्रक्रिया थालिएको हो । 

गाउँमा एउटी सानी छोरी छाडेर सिरिया आएकी सुनिताका श्रीमान् दुबईमा श्रमिक रहेको प्रारम्भिक जानकारी छ । तर क्षतिपूर्ति रकममा हानथाप हुने स्थिति आएको र यसमा सहमति जुटाउने काम भइरहेको कन्सुलर शाखाले जनाएको छ । 

दमास्कसमा कार्यरत घरेलु कामदार बागलुङकी प्रतिमा गुरुङले पनि सिरियाको असहज सुरक्षा स्थितिका माझ घर र्फकन चाहेको बताएकी छन्् । इजिप्टको कायरोस्थित दूतावासले अहिले पनि झन्डै ४ सय नेपाली महिला सिरियाको राजधानी दमास्कससहितका सहरमा घरेलु काममा रहेको सूचना पाएको छ ।

मानव तस्करको चंगुलमा परेर दुई वर्षअघि सिरिया पुगेका पोखराकी लक्ष्मी गुरुङ र बागलुङकी हुमा मगर अझै सम्पर्कहीन रहेको भन्दै आफन्तले दिएको खोजी निवेदन अहिले पनि कन्सुलर शाखामा छँदैछ । सन् २०१२ जुलाई १५ मा सिरिया गएका दुई महिलामध्ये लक्ष्मीले त्यही वर्ष डिसेम्बरमा टर्की बोर्डरको एलेपो सहरमा आफू आइपुगेको जानकारी गराएकी थिइन् । 

आफन्त खोजीमा लागेका केहरजंग गुरुङले कान्तिपुरसँग भने, 'म परराष्ट्र, श्रम मन्त्रालय पुगें । नेपालको एम्बेसी (कायरोस्थित) लाई नि अनुरोध गरें । तर २२ महिना बितिसक्यो, केही पत्तो लागेको छैन ।' 

२०११ मार्चदेखि सुरु भएको सिरिया विद्रोहमा हालसम्म झन्डै २ लाख मानिसहरू मारिएको तथ्यांक छ भने ३ लाखको हाराहारीमा शरणार्थी बनेर देशबाट विस्थापित भएका छन् । मृत्यु हुनेमा २ हजारजति विदेशी नागरिक रहेको अधिकारवादी संस्थाहरूको अध्ययनले देखाएको छ । यसैगरी त्यहाँ १ लाख ३० हजारभन्दा बढी नागरिक बेपत्ता रहेको तथ्यांक छ । आन्तरिक विद्रोहपछि सिरियाली नागरिक सीमावर्ती टर्की, जोर्डन, लेबनानतिर भागेर जानेक्रम अझै यथावत् छ ।

Published on: 11 May 2014 | Kantipur

Back to list

;