s

सिण्डिकेटको बिकल्प खोज्न श्रम मन्त्रीले बनाए विशेषज्ञ समिति

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारको स्वास्थ्य परीक्षणलाई गुणस्तरीय र विश्वसनीय बनाउन विशेषज्ञ समिति गठन गर्ने निर्णय गरेको छ । सूचीकृत स्वास्थ्य संस्थाको कायविधि र मापदण्डलाई समसामयिक सुधार गरी अनुगमन तथा नियमन प्रणाली प्रभावकारी बनाउने र अभिमुखीकरण तालिमको पाठ्यक्रममा अनिवार्य रूपमा स्वास्थ्यसम्बन्धी विषय समावेश गर्ने पनि मन्त्रालयले जनाएको छ ।
 
मन्त्रालयले कामदारको स्वास्थ्य परीक्षणमा गन्तव्य देशकै सरकारी निकायको संलग्नतामा नेपालमा एकाधिकार रहेको भन्दै नेपालका सरकारी अस्पतालबाटै स्वास्थ्य परीक्षण गर्ने विकल्पको अध्ययन थालेको पनि बताएको छ । त्यसका लागि विस्तृत अनुसन्धान गरी ४५ दिनभित्र प्रतिवेदन पेस गर्न मन्त्रालयले विशेषज्ञको संयोजकत्वमा विशेष समिति बनाएको छ । विशेषज्ञ भने तोकेको छैन ।
 
समितिले स्वास्थ्य परीक्षणलाई सरकारी स्वास्थ्य संस्थाबाट गर्नुपर्ने आवश्यक तयारी, वैदेशिक रोजगारीमा जानुअघि गरिने स्वास्थ्य परीक्षण सम्बन्धमा अन्तर्राष्ट्रिय मापदण्ड र अभ्यास, अभिमुखीकरण तालिममा समावेश गर्ने स्वास्थ्यसम्बन्धी विषय, कामदारको स्वास्थ्यप्रति रोजगारदाताले पालना गर्नुपर्ने दायित्व तथा क्षतिपूर्तिको सम्बन्धमा कूटनीतिक पहल, गम्भीर बिरामी तथा दुर्घटनाका कारण अंगभंग भएका कामदारलाई नेपाल ल्याउने, उपचार हेरचाह र संरक्षण गर्ने विषयमा अनुसन्धान गर्नेछ ।
 
त्यसैगरी मन्त्रालयले रोजगारीको क्रममा गम्भीर प्रकृतिको बिरामी परी उपचारका क्रममा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याई सुविधासम्पन्न अस्पतालमा उपचार गराउने निर्णय गरेको छ ।
 
मन्त्रालयले त्यस्ता बिरामी ल्याउन परराष्ट्र र स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्ने निर्णयसमेत गरेको छ । कोमाका बिरामीलाई सुविधा सम्पन्न अस्पतालमा उपचार गर्ने सम्बन्धी कार्यविधिको मस्यौंदा बनाउन एक महिनाको समय दिई अर्को विशेषज्ञ समिति गठन गरिएको छ ।
 
हाल खाडी मुलुकका अस्पतालमा दुई दर्जन भन्दा बढी बिरामी कोमामा रहेको अनुमान छ । यस अघि तत्कालीन श्रम समितले पनि सरकारलाई कोमामा रहेका नेपालीलाई स्वदेश ल्याउन निर्देशन दिएको थियो । कतिपय बिरामी १० वर्षदेखि विदेशी अस्पतालमा रहेको बताइएको छ ।
 
Published on: 16 April 2018/ Madhyanha

Back to list

;