s

स्याङ्जा र बुटवलका दुई युवा नाइजेरियामा मारिए

देवेन्द्र भट्टराई

अफ्रिकी मुलुक नाइजेरियाको कानो सहरमा शुक्रबार साँझ भएको आतंककारी हमलामा परी मरेका दुई नेपाली हरिप्रसाद भुसाल र राज सिंहको शव नेपाल फिर्ता ल्याउने पहल सुरु भएको छ ।

नाइजेरियास्थित गैरआवासीय नेपाली संघका अध्यक्ष हिक्मत थापाका अनुसार राजधानी लागोसबाट १२ सय किलोमिटर उत्तरमा रहेको मुस्लिम बाहुल्य क्षेत्रमा शुक्रबार साँझ 'बोको हराम' नामको आतंकवादी समूहले शृंखलाबद्ध बम विस्फोट गराएको थियो । कानोस्थित भारतीय कम्पनी रेलसेममा कार्यरत बालिङ-१, स्याङ्जाका २६ वर्षीय भुसाल र बुटवल-१३, रूपन्देहीका २६ वषर्ीय सिंहको सडकमा भागदौड क्रममा विस्फोटमा परेर निधन भएको थियो । विस्फोटमा एक भारतीयसहित अन्य २ सय ५० नाइजेरियनको निधन भएको थियो ।
 
नाइजेेरिया मामला हेरिरहेको दक्षिण अफ्रिकास्थित नेपाली दूतावासका काउन्सेलर भरत रेग्मीका अनुसार मृतक दुई नेपालीको शव नेपाल पठाउन 'नो अब्जेक्सन लेटर' मंगलबार लागोस पठाइएको छ । दुईमध्ये भुसाल झन्डै तीन वर्षयता कानोको भारतीय कम्पनीमा बजार अधिकृतका रूपमा काम गरिरहेका थिए भने सिंह ५ महिनाअघि मात्रै त्यहाँ पुगेका थिए ।
 
अध्यक्ष थापाका अनुसार नाइजेरियामा झन्डै दुई सय नेपाली छन्् भने कानो सहरका विभिन्न कम्पनीमा १५ जति कार्यरत छन्् । 'मुस्लिम बाहुल्य क्षेत्र मानिने नाइजेरियाको उत्तरी भेगमा मुस्लिम कानुन र नियमको माग गर्दै बोको हराम इस्लामिक आतंकवादी समूहले हमलाहरू ग्ार्दै आएको छ,' एनआरएन अध्यक्ष थापाले कान्तिपुरसँग भने, 'त्यही भिडन्तमा नेपाली युवाको दुःखद निधन भएको हो ।' कानो अस्पतालमा राखिएको शव पोस्टमार्टमपछि केही दिनभित्र नेपाल पठाइने उनले जानकारी दिए । मृतकको शव नेपाल पठाउन तथा आवश्यक बिमा र राहत रकम उपलब्ध गराउन सम्बद्ध कम्पनी तयार रहेको समेत थापाले बताए ।
 
Published on: 25 January 2012 | Kantipur

Back to list

;