s

स्याउ टिप्न सिमलातिर लर्को

भवानी भट्ट

कञ्चनपुर — डडेलधुरा आलिताल गाउँपालिका–४ का यादवप्रसाद ओलीलाई दुई साताअघि फोन आयो– ‘स्याउ पाक्न लाग्यो, टिप्ने बेला भो, चाँडै आउनुपर्‍यो ।’ फोन भारतको सिमलास्थित स्याउ बगानका मालिकको थियो । ओली सोमबार २० जना अरू कामदारसहित गड्डाचौकी नाका हुँदै स्याउ टिप्न सिमलातिर लागे । उनीसँग डडेलधुरा, कैलाली र डोटीका कामदार छन् । अधिकांश विगतमा पनि स्याउ टिप्न जानेहरू हुन् भने केही पहिलो पटक गइरहेका छन् ।

‘साउनदेखि कात्तिकसम्मै स्याउ टिप्न भ्याइनभ्याइ हुन्छ,’ ओलीले भने, ‘हामीले स्याउ टिप्ने र ढोलान (बोक्ने) को काम पाउँछौं ।’ उनका अनुसार विगतमा ग्रेडिङको काम पनि पाइन्थ्यो । तर अहिले मेसिनबाटै ग्रेडिङ र प्याकिङ हुने भएकाले टिप्ने र बोक्ने काम मात्रै पाइन्छ ।

कैलाली गोदावरीकी मायादेवी सार्की पनि स्याउ बगानका मालिकको फोन आएपछि हतारहतार रोपाइँ सकेर सिमलातिर हिँडेकी छन् । उनी परिवारका अन्य सदस्य र गाउँलेसँगै सोमबार साँझ गड्डाचौकी नाका हुँदै सिमला लागेकी हुन् ।

‘मालिकले स्याउ टिप्न आउन भन्दै फोन गरेका छन्,’ सार्कीले भनिन्, ‘दुई/तीन महिना स्याउ टिपेर दसैंका लागि घर फर्किन्छौं ।’ उनका अनुसार सिमलामा स्याउ टिप्न सुरु भइसकेकाले नेपालीहरू भरिन थालेका छन् । मालिक मात्र होइन उनीसँगै काम गर्ने अन्यले पनि चाँड काममा आउन भनेका छन् । ११ कक्षामा पढ्ने गोदावरीकी निशा विक पनि सार्कीसँगै सिमलातर्फ लागेकी छन् । उनी दुई/तीन महिना भए पनि स्याउ टिप्ने रोजगारीका लागि जान लागेकी हुन् । ‘स्कुल बिदा भयो, घरमा रोपाइँ पनि सकियो,’ विकले भनिन्, ‘दुई महिना स्याउ टिप्ने काम गरेर फर्कन्छु ।’ उनी घर र पढाइ खर्च जुटाउन कामको खोजीमा जान लागेकी हुन् । असार दोस्रो सातादेखि उनको विद्यालयमा बिदा भएको हो । त्यसपछि रोपाइँमा जुटिन् । रोपाइँको पनि काम सकिएपछि काम खोज्न हिँडेकी हुन् ।

स्याउ टिपेको दैनिक साढे ४ सयदेखि ५ सय र बोकेको दूरीका आधारमा प्रतिक्रेट ५ देखि १० रुपैयाँसम्म पाइन्छ । एक दिनमा दुई/अढाई सय क्रेट स्याउ टिप्न सकिने उनीहरू बताउँछन् । ‘महिनामा १०/१५ हजार भारु जोगिन्छ,’ ओलीले भने, ‘कोही दसैंमा फर्कन्छन्, कोही तिहारसम्मै काम गर्छन् ।’ खेतीपातीको काम सकिएपछि यतिबेला नाकामा स्याउ टिप्न सिमला जानेको लर्को छ । बिहानदेखि साँझ अबेरसम्म युवायुवतीदेखि वृद्धवृद्धासमेत कामको खोजीमा दौडिरहेका देखिन्छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका कामदारका लागि सिमला पुरानै रोजगार गन्तव्य हो । कोरोना कहरका बेलासमेत स्याउ बगानका मालिकहरू सीमासम्मै पुगेर कामदार लगेका थिए । अहिले पनि स्याउ टिप्ने समय हुनेबित्तिकै बगानका मालिकहरूले फोन गरेर बोलाउने गरेका छन् । वर्षौंदेखि बगानमा काम गर्दै आएका कामदारहरूलाई फोन गरेरै बोलाउने गरेका हुन् ।

दसैंतिहारका लागि घर फर्केकाहरू गहुँ छरेर पनि सिमलातिरै फर्किन्छन् । त्यतिबेला घाँस काट्ने काम पाइन्छ । कतिपय विकास निर्माणका काममा ज्याला मजदुरी गर्छन् । घाँस काट्ने र विकास निर्माणको काममा ज्याला मजदुरी गर्नेहरूले पनि दैनिक चार/पाँच सय पाउँछन् ।

Published on: 20 July 2022 | Kantipur

Link

Back to list

;