s

स्वरोजगार कार्यक्रमलाई अगाडि बढाउँछु : अर्थमन्त्री पुन

नवनियुक्त अर्थमन्त्री वर्षामान पुनले विगतमा माओवादीको सरकारले सुरु गरेको स्वरोजगार कार्यक्रमलाई अगाडी बढाउने बताएका छन्। 'यो बाहेक थप रोजगारी सृजनाका अरु पनि कार्यक्रम ल्याइने छं' उनले भने। तत्कालिन अर्थमन्त्रीका रुपमा बावुराम भट्टराईले स्वरोजगार कार्यक्रम सुरु गरेका थिए। विपन्न वर्गमा बैंकहरुले प्रवाह गर्दै आएको रकमबाट यसका लागि कोषमा करिव चार अर्ब रुपैयाँ जम्मा भएको थियो। यही कोषबाट रकम दिने योजना सहित देश भरका युवा युवतिका लागि स्वरोजगार कार्यक्रमका लागि तालिम दिईएको थियो। त्यसपछिका वर्षमा यो कार्यक्रम अलपत्र परेको थियो। चालु आर्थिक वर्षको बजेट पनि यसलाई निरन्तरता दिने उल्लेख छ। सोमबार पद बहाली गर्दै पुनले ट्रेड युनियनसँग छलफल गरि श्रम क्षेत्रमा देखिएका समस्या समाधान गर्ने उनले बताए। अहिले दिनदिनै श्रम सम्वन्धकै कारण धमाधम उद्योग बन्द भैरहेको अवस्थामा उनले समस्या समाधानका लागि पहल गर्ने बताएका हुन्।

पुनले संसदमा प्रस्तुत बजेट समयमा नै परित गर्दा सकारात्मक सन्देश जाने बताएका छन्। 'प्रतिपक्ष र सत्ता साझेदारको सहमतिमा बजेट पारित गरिनेछ,' उनले भने।
अर्थसचिव कृष्णहरि बाँस्कोटाले समयमा बजेट पारित भएमा १ खर्ब ४९ अर्ब विकास खर्च गरि विकासको प्रतिफल दिन सकिने बताए। 'विगतमा वर्षभरि नै बजेटमा अलमलिनुपरेको तितो यथार्थ छ' उनले भने-'बजेट समयमा नै आउने र खर्च गर्ने परिपाटि बसाल्न जरुरी छ।'

पपुलिस्ट भन्दा पपुलर कार्यक्रम ल्याउने पुनले बताए। वित्तीय अनुशासन कायम गरि अगाडी बढ्ने प्रतिबद्धता पनि उनले गरे। 'अर्थतन्त्रलाई गति र स्थायित्व दिने कार्यक्रम आवश्यक छ' पुनले भने। दोहोरो आर्थिक वृद्धि दर हासिल गर्ने कार्यक्रम ल्याउने पुनले बताए।

मुलुकको संक्रमणकालीन अवस्थामा राजनीतिक, आर्थिक र सामाजिक क्षेत्र सुधारका कार्यक्रम ल्याउने घोषणा उनले गरे। राजनीतिलाई सफल बनाउन अर्थतन्त्रको आधार बलियो हुनुपर्ने पुनले बताए। '१० वर्षे द्धन्द्ध पनि आर्थिक विपन्नताका कारण सृजना भएको थियो' उनले भने। अर्थतन्त्रमा सुधार गर्न सके राजनीति पनि ठिक ठाउँमा आउने विश्वास पुनले लिएका छन्।
नीजिक्षेत्रलाई विश्वास लिएर काम गर्ने वचन उनले दिए। 'मुलुकको विकासमा सहयोग गर्ने अन्तराष्ट्रिय दातृ निकाय तथा राष्ट्रलाई साथ लिएर अगाडी बढ्ने छु' पुनले भने। नजिकै आएका दशैं, तिहार र छठ पर्वका लागि राहतका कार्यक्रम जरुरी भएको उनले बताए। 'चाडपर्वका बेला हुने उच्च मूल्यवृद्धि नियन्त्रण गर्नुपछ' पुनले भने।

पुनले राजस्व चुहावट नियन्त्रण गरि असुली बढाउनका लागि कर्मचारीहरुलाई निर्देशन दिए। राजस्व बढाउन कडाईका साथ प्रस्तुत हुनुपर्ने उनले बताए। 'मुलुकको ढुकुटि बढाए मात्र विकासमा खर्च गर्न सकिन्छ' उनले भने। अर्थमन्त्रालय अन्तगर्तका कर्मचारीलाई निर्देशन दिंदै पुनले तत्काल सर्वसाधारणले अनूभुति गर्ने काम गर्नुपर्ने बताए।

सवै कर्मचारीले पदमा आएको जोसुकै राजनीतिज्ञलाई सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले भने-'सवै राजनीतिक 'डिल' म गर्छु, तपाईहरु काममा लाग्नुहोस। राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन र नराम्रो गर्नेलाई दयिडत गर्ने वचन उनले दिए। नेता र प्रशासकप्रति सर्वसाधारणमा विश्वास पैदा गर्ने गरि आवश्यक कार्य अगाडी बढाउनुपर्ने पुनले बताए। पुनले एकसाता सम्म अर्थतन्त्रका विविध पक्षको जानकारी लिएर कार्यक्रम अगाडी बढाउने बताएका छन्।'विगतमा भन्दा यसपटक किर्तिमान कायम गर्ने गरि काम गर्नुपर्छ' उनले भने।

Published on: 6 September 2011 | Nagarik 

Back to list

;