s

स्वरोजगार–वैदेशिक कामदारहरुको पनि सञ्चय कोष हुने

कर्मचारी सञ्चय कोषले सरकारी तथा निजी संगठित संस्थाका कर्मचारीको मात्र कोष व्यवस्थापन गरिरहेकोमा अब वैदेशिक रोजगारीमा जाने र नेपालमै स्वरोजगार भएका व्यक्तिको पनि सञ्चय कोष कट्टा गर्न सकिने व्यवस्था गर्न लागेको छ।
 
वैदेशिक रोजगारमा जाने र स्वदेशमै आफैं रोजगार भएकाको कोष कट्टा सुरु गर्नका लागि छुट्टाछुट्टै कोषको व्यवस्था गर्न लागेको हो। कोष गठनका लागि नीति र कार्यवधि बनाइ सञ्चालक समितिमा पेस गर्ने तयारीमा सञ्चय कोष लागेको छ।
 
सञ्चालक समितिबाट पारित भएपछि कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा पेस गरिने कोषका कामु प्रशासक दीपक रौनियारले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। यसमा अनिवार्य नभई ऐच्छिक रुपमा वैदेशिक रोजगारीमा जाने र स्वरोजगार भएका व्यक्ति समावेश हुने छन्। आम्दानीको प्रकृतिअनुसार वार्षिक वा त्रैमाशिक रुपमा कोषमा रकम जम्मा गर्ने व्यवस्था हुने छ। यसले दीर्घकालमा पेन्सन फन्डको रुपमा काम गर्ने कोषको भनाइ छ।
 
हाल कोषमा पाँच लाख ६० हजार सञ्चयकर्ता रहेका छन्। कर्मचारी सञ्चय कोषको प्रमुख जिम्मेवारी सरकारी निजी एवं संगठित क्षेत्रका कर्मचारीहरुको सञ्चय कोषको व्यवस्थापन गर्ने, स्वरोजगार र वैदेशिक कामदारहरुका लागि सञ्चय कोषको व्यवस्थापन गर्ने, सञ्चयकर्ताहरुका लागि निवृत्तिभरण योजना र अन्य सामाजिक सुरक्षाका योजनाहरु सञ्चालन गर्ने रहेको जानकारी पनि उक्त सम्मेलनमा गराइयो। 
 
कोषको आर्थिक वर्ष २०७३/७४ को लेखा परीक्षणपछिको समग्र आर्थिक अवस्था सन्तोषजनक रहेको छ। उक्त अवधिमा कुल स्रोत रकम २५५.२९ अर्ब रुपैयाँ रहेकामा अघिल्लो आवमा २०७२/७३ मा  २२४.७० अर्ब रुपैयाँ थियो। आव २०७३/७४ मा कोषको कुल लगानी २४९.३३ अर्ब रुपैयाँ रहेकामा आव २०७२/७३ मा २१८.३६ अर्ब रुपैयाँ थियो।
 
आव २०७३/७४ मा कुल लगानी/कुल स्रोत अनुपात ९७.६६ प्रतिशत रहेको छ । आवमा २०७२/७३ मा ९७.१७ प्रतिशत रहेको थियो भने आव २०७३/७४ मा खुद मुनाफा १.८९ अर्ब रहेको छ। आव २०७२/७३ मा १.५८ अर्ब रहेको थियो।
 
सञ्चयकर्ता मुनाफा बाँडफाँड कोषमा १.५३ अर्ब रुपैयाँ अर्थात खुद मुनाफाको ८१ प्रतिशत बाँडफाँड गरिएको छ। आव २०७२/७३ मा १.२९ अर्ब अर्थात खुद मुनाफाको ८० प्रतिशत बाँडफाँड गरिएको थियो।
 
सो मुनाफा बाँडफाँड कोषमा जम्मा गरिएको रकमबाट सञ्चयकर्तालाई आर्थिक वर्ष २०७३/७४ को सुरु सञ्चय कोष मौज्दातको ०.७५ प्रतिशत (२०७२/७३ मा ०.६५ प्रतिशत) रकम मुनाफाको रुपमा वितरण गरी त्यस्तो मुनाफा रकमलाई सञ्चयकर्ताको नाममा बेतन कर्णाली सञ्चयकर्ता हाइड्रो पावर कम्पनी लिमिटेडको सेयरमा लगानी गर्ने प्रयोजनका लागि सञ्चयकर्ता सेयर लगानी कोषमा जम्मा गर्ने व्यवस्था गरिएको छ।
 
त्यसरी सञ्चयकर्ता सेयर लगानी कोषमा २.८२ अर्ब रुपैयाँ जम्मा भएको र सो रकममध्ये आठ करोड रुपैयाँ लगानी भइसकेको जानकारी उक्त अवसरमा गराइयो । 
 
सञ्चयकर्ता कल्याणकारी कोषमा २०.८३ करोड अर्थात खुद मुनाफाको ११ प्रतिशत (२०७२/७३ मा १५.९९ करोड अर्थात खुद मुनाफाको १० प्रतिशत) बाँडफाँड गरिएको छ।
 
कोषबाट सञ्चयकर्ताको हितका लागि काजक्रिया खर्च ३० हजार, दुर्घटना क्षतिपूर्ति एक लाख २५ हजार, औषधोपचार सुविधा २५ हजारदेखि ५० हजारसम्म र सुत्केरी तथा शिशु स्याहार खर्च सात हजार पाँच सय (दुई पटकसम्म) सामाजिक सुरक्षा सुविधाहरु प्रदान गरिँदै आएको छ।
 
कोषबाट खर्च गर्ने गरी विशेष प्रकृतिका कडा रोगहरु जस्तो ब्रेन हेम्रेज, क्यान्सर, मृगौला डाइलासिस तथा प्रत्यारोपण, हर्ट सर्जरी, हेपाटाइटिस बी र एचआईभी एड्स आदिलाई सम्बोधन गर्ने गरी सञ्चयकर्ता स्वास्थ्य सहयोग योजना लागू गर्ने तयारी जानकारी उक्त अवसरमा गराइयो।
 
बेतन कर्णाली सञ्चयकर्ता हाइड्रो पावर कम्पनी लिमिटेड निर्माणका लागि कोषका सञ्चयकर्ताको ४० प्रतिशत सेयर स्वामित्व रहने, परियोजनाको क्षमता ६ सय ८८ मेगावाट, परियाजनाको विस्तृत परियोजना प्रतिवेदनको कार्य प्रारम्भ भएको छ। वित्तीय स्रोतको व्यवस्थापनका लागि कोषलाई कम्पनीले अनुरोध गरिसकेको जानकारी रौनियारले दिए।
 
भेरी बबई बहुउदेश्यीय जलविद्युत् परियोजनाको निर्माणसमेत यसै कम्पनीले गर्ने विषयमा सरकारीस्तरमा छलफल भइरहेको जानकारी पनि उनले दिए।
 
कोषमा आवद्ध सञ्चयकर्ताहरुको सञ्चय कोष तथा सापटी सम्बन्धी कारोबारको सूचना मोबाइल फोनको ए्सएमएस प्रणलीको माध्यमबाट कारोबार हुँदाकै बखत जानकारी गराउने उद्देश्यले कोषले एसएमएस अलर्ट सिस्टमसमेत लागू गरेको छ।
 
Published on: 16 March 2018 | Nagarik

Back to list

;