s

स्वदेशमै श्रम

अहिले बिदेसिने युवाहरूको संख्या बढ्दो छ। विभिन्न पेसाकर्मीका सन्ततिहरू पनि विदेश पलायन भइरहेका छन्। तारे होटलहरूमा युवाहरूलाई विदेश पलायनलाई रोक्न दर्जनौं कार्यक्रमहरू, सेमिनार गोष्ठीहरू पनि भएका होलान्। तर, ऋण लिएर भए पनि युवाहरू बिदेसिने क्रम रोकिएको छैन।

हालै एक संसदीय समितिमा प्रस्तुत सन् २०२३ को तथ्यांकअनुसार गत वर्ष नेपालबाट १६ लाख ३ हजार जना बिदेसिएका छन्। तीमध्ये १२ लाख ६३ हजार नेपाल फर्किएका रहेछन्। बाँकी ३ लाख ४० हजार विदेशबाट नफर्किएका रहेछन्। नेपालबाट विदेश जानेहरूमध्ये पढ्न जाने विद्यार्थीहरू १ लाख ८ हजार रहेछन्। त्यसैगरी अस्थायी भिसामा घुम्न जानेको संख्या ९३ हजार रहेछ र स्थायी बसोबास गर्ने उद्देश्यले ग्रिन कार्ड, पीआर लिएर जानेको संख्या ७१ हजार रहेछ। विदेशबाट आफन्तहरूको निमन्त्रणामा विदेश जाने बुवाआमा तथा नातेदारहरू भेट्न जानेको संख्या १ लाख ६७ हजार रहेछ।
त्यस्तै नेपालमा बिहे गरेर डिपेन्डेन्टको रूपमा स्थायी बसोबास गर्न जानेको संख्या मात्र २१ हजार रहेको देखिन्छ। यता कामदारको रूपमा श्रमिक भिसामा विदेश जानेको संख्या ८ लाख ८ हजार रहेको छ। यसमा खुल्ला सीमाबाट भारत जाने र भारतबाट तेस्रो मुलुक जानेको रेकर्ड भने समावेश गरिएको छैन जुन उल्लेखनीय संख्यामा रहेको छ। साथै ठूलो रकम खर्च गरेर गैरकानुनी रूपमा विदेश जानेहरू अधिकांश सबै भारतको बाटो भएरै जाने गर्छन् त्यो संख्या पनि उल्लेख्य रहेको छ।

यस वर्षको अर्को एउटा तथ्यांकअनुसार विदेशमा पढ्न जाने विद्यार्थीहरूको संख्यामा सबैभन्दा बढी करिब ३० देखि ३५ प्रतिशत जापान जाने गरेका छन्। करिब १८ देखि २० प्रतिशत विद्यार्थी क्यानडा जाने गरेका छन्। १५ देखि १७ प्रतिशत विद्यार्थी अस्ट्रेलिया जाने गरेका छन्। १० देखि १२ प्रतिशत बेलायत गएका रहेछन्। त्यसैगरी अमेरिका जानेको संख्या करिब ८ देखि १० प्रतिशत रहेको छ। यस्तै दक्षिण कोरिया, फ्रान्स, डेनमार्क, भारतलगायतका देशहरूमा समेत अध्ययनका लागि नेपाली विद्यार्थी जाने गरेका छन्। विगतमा विदेशमा पढ्न जानु वा रोजगारमा जानु पनि कठिन थियो तर अहिले सहज भएको छ। विदेशमा पढ्न जानुको पहिलो कारण पढाइको साथ साथै काम गर्ने अवसर पनि पाउने र पढी सकेपछि राम्रो रोजगारी पनि पाउनु हो।

हाम्रो देशमा दिइने शिक्षा नराम्रो होइन। यहाँको शिक्षाबाट धेरै ज्ञानआर्जन गर्न सक्छन्। तर शिक्षामा व्यावहारिक तथा व्यावसायिकताको कमी देखिन्छ।
अहिले उच्च माध्यमिक शिक्षापछि राम्रा कलेजमा पढेका अलि कति पैसा हुने सबैको रोजाइ विदेशी विश्वविद्यालय नै हो। उनीहरूको पहिलो रोजाइ अमेरिका, अस्ट्रेलिया, क्यानडा तथा बेलायत नै हुने गरेको छ। त्यसपछि जापान, कोरिया, जर्मनी, डेनमार्क फ्रान्स, भारत तथा अन्य युरोपियन देशहरू नै पर्ने गर्छन्। विद्यार्थीमात्र होइन कामको लागि नेपाली युवाहरूलाई आकर्षित गर्ने देशहरू पनि ती नै पर्छन्। त्यसका अलावा वैदेशिक रोजगारीको लागि आकर्षक देशहरूमा कोरिया, मलेसिया, जापान, तथा खाडी मुलुकहरू रहेका छन्। छिमेकी देश भारतमा समेत धेरै नेपालीहरू शिक्षा तथा रोजगारीको लागि गएको देखिन्छ तर त्यसको खासै रेकर्ड राखेको देखिँदैन। जसबाट हाम्रो वैदेशिक रोजगारी तथा वैदेशिक शिक्षाको तथ्यांक सदा अपुरो नै रहेको हुन्छ।

स्वाभाविक रूपमा खुल्ला अर्थतन्त्र तथा साँघुरिएको विश्वबजारमा जहाँ जसले अवसरहरू प्राप्त गर्छ त्यो उपयोग गर्न चाहन्छ नै। चाहे त्यो शिक्षाको बजार होस् या रोजगारीको बजार होस् चाहे व्यापार व्यवसायको बजार होस् सहज तथा सुरक्षित अवसरहरू उपलब्ध गराउनु अहिले विश्वकै चुनौती देखिन्छ। जहाँ अवसर त्यहाँ जनशक्ति अहिले विश्वमै चलेको बहाव हो। यो बहावलाई कसैले रोक्न सक्दैन। यसको लागि आफ्नै देशमा अवसरहरू सिर्जना गर्नु पर्दछ। देशमा अवसरहरू सिर्जना गर्नको लागि राज्य र राज्यका सञ्चालकहरूको नीति र नियत ठीक हुनु पर्दछ। दीर्घकालीन दृष्टिकोणका साथ विकासका योजनाहरू ल्याउनु पर्दछ र तिनको इमान्दारीपूर्वक कार्यान्वयन हुनुपर्दछ। सोको लागि भ्रष्टाचारविरुद्ध कठोर कानुन, सुशासन र राजनैतिक स्थिरता पहिलो आवश्यकता हो। जसको अभाव विगत लामो समयदेखि नेपाली जनतालाई खड्किरहेको छ। त्यसका साथै लगानी मैत्री वातावरण र तिनीहरूको सुरक्षा र संरक्षणको आवश्यकता पनि एउटा महŒवपूर्ण पक्ष रहेको छ।

अहिले एउटा व्यक्तिले ५०/६० लाखदेखि ७५/८० लाखसम्म खर्च गरेर गैरकानुनी रूपमा अमेरिका जाने गरेको देखिएको छ। त्यो रकमले स्वदेशमै केही गर्न सकिँदैन र ? उनको जवाफ थियो एक त त्यहाँ केही गर्छुभन्दा त्यो रकम जुटाउनै गाह्रो छ। ऋण पाउन गाह्रो छ। रकम जुटे पनि व्यापार गर्दा नाफा नै हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन। व्यापार व्यवसाय डुब्न सक्छ, राज्यले कुनै संरक्षण गर्दैन तर अमेरिका जान्छु भन्दा गाउँघरमा ऋण पाउन पनि सजिलो छ सहजै रकम जुट्छ। वास्तवमा नेपाली युवाहरू स्वदेशमै केही गरेरै भविष्य सुनिश्चित होस् भन्ने चाहन्छन्।

अहिले बिदेसिएकाहरूलाई अवसर दिएर स्वदेश ल्याउन र नेपालभित्र रहेकालाई रोजगारीको अवसर दिन आवश्यक छ। एउटा उदाहरणको रूपमा करिब वर्ष अगाडि चार जना युवा इन्जिनियर मिलेर झापामा पहिलो पटक आधुनिक मेसिनबाट खेर गइरहेको सुपारीको पातबाट थाल, कचौरा, प्लेटहरू लगाएको उत्पादन सुरु गरे। बजार बिस्तार गर्दै जर्मनमा समेत निर्यात गर्न थाले। सरकारले नयाँ खोज गरेका युवा उद्यमी भनेर पुरस्कार पनि दियो। करिब दुई वर्षअघि उक्त उद्योगमा आगजनी भयो। करिब १ करोड ५० लाखको क्षति भयो। बिमाबाट केही रकम प्राप्त भएता पनि उद्योग सञ्चालन गर्न सकस प¥यो। सहयोग कतैबाट पाएनन्। सरकारले कम्तीमा निब्याजी ऋण सहयोगमात्रै दिएको भए उनीहरूलाई अलि सहज हुन्थ्यो।

अहिले फेरि उठेर अमेरिकासमेत आफ्नो उत्पादन पठाएर राष्ट्रको पहिचान फैलाउँदै छन्। हो त्यस्ता राष्ट्रकै पहिचान बोकेका उत्पादनलाई राज्यले प्रवद्र्धन गर्नै पर्छ, संरक्षण गर्नै पर्छ। अनि स्वदेशमै केही गरौं भन्ने युवाहरूको मनोबल बढ्न सक्छ। अरूलाई प्रेरणा पनि हुन्छ। सरकारले नयाँ युवा उद्यमीहरूलाई प्रोत्साहन र संरक्षण गर्नै पर्छ।

अहिले जनता निराश र विभाजित छन्। एक आपसमा सरसहयोगभन्दा खुट्टा तान्ने जमात बढी छ। शिक्षाको गुणस्तर खस्किँदै गएर बिदेसिनकै लागि पढ्ने र एउटा सर्टिफिकेट बनाउने भावना बढ्दै गएको छ। राज्यबाट दिइने अनुदान लक्षित वर्गमा पुग्न सकिरहेको छैन। हरेक क्षेत्रमा बिचौलियाहरूको बिगबिगी छ। कृषिप्रधान देशमा समयमै कृषकले मल बिउ पाउँदैनन्। कृषि उत्पादनले बजार पाउँदैन यो भन्दा विडम्बना अर्को के हुन सक्छ र। यी सबै तथ्य युवाहरूको विदेश पलायनको कारक हुन्।

Published on: 5 July 2024 | Annapurna Post

Link

Back to list

;