s

स्वदेश फर्किएर बंगुरपालन

विप्लव महर्जन

सल्यान — बन्गाडकुपिण्डे नगरपालिका–१ आमखोलीका ५० वर्षीय उमलाल कामीको ५ जनाको परिवार जीविकोपार्जनका लागि झन्डै १२ वर्ष भारतको हिमाञ्चल प्रदेशमा बस्यो । ६ वर्षअघि गाउँ फर्किएका उनी अहिले बंगुरपालनले आत्मनिर्भर बनेका छन् । गाउँ फर्किएपछि उनले केही समय खेतीपाती तथा बाख्रापालन गरे । त्यसबाट गुजारा चलाउन कठिनाइ भएपछि उनी व्यवसायिक बंगुरपालन ब्यवसायमा लागेका हुन् ।

विगतमा भारतमा दिनभर मजदुरी गर्दा पनि परिवार पाल्न हम्मेहम्मे भए पनि उनी बंगुरपालनबाट आत्मनिर्भर भएका छन् । बंगुरपालनबाट वार्षिक ५ देखि ७ लाख रुपैयाँसम्म आम्दानी भइरहेको उनले बताए । सुरुमा एक लाख रुपैयाँ ऋण लिएर बंगुर पालेका उनको फार्ममा अहिले ४० वटा बंगुर छन् । एउटा वयस्क बंगुर १० हजारदेखि ३० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको उनको भनाइ छ । उनले यो वर्ष मात्रै ३५ वटा बंगुर बिक्री गरे । ‘पालेका बंगुर बिक्री गर्न बाहिर जानु पर्दैन, खरिदकर्ता घरमै आएर बंगुर किनेर लैजान्छन्,’ उनले भने, ‘अरू पशुभन्दा पाल्न पनि सजिलो छ ।’

उनले व्यवसाय सुरु गर्दा लिएको ऋण तिरेर पनि गाउँमा झन्डै १५ रोपनी जग्गा जोडेको र घरलाई व्यवस्थित बनाएको बताए । उनले गत वर्ष र अघिल्लो वर्ष पशु सेवा कार्यालयसँग समन्वय गरेर २ सय पाठापाठी बिक्री गरेका थिए । उनको फार्ममा उत्पादित पाठापाठी जाजरकोट, रुकुम, रोल्पा र दाङसम्म गइरहेको उनको भनाइ छ । पाठापाठी भने ५ देखि १० हजारसम्ममा बिक्री भइरहेका छन् । उनी जिल्लाकै नमुना बंगरपालक किसान हुन् । उनलाई बंगुरपालनबाट राम्रो प्रगति गरेको भन्दै गत वर्ष जिल्ला पशुसेवा कार्यालयले उत्कृष्ट किसानको रूपमा पुरस्कृत गरेको थियो ।

तर व्यवसायलाई व्यवस्थित गर्न अहिलेसम्म सरकारी अनुदान पाउन नसकेको उनको गुनासो छ । उनले बंगुरपालन गर्दा पानीको अभावमा सरसफाइमा कठिनाइ भएको बताए । उमलाललाई पत्नी जयन्ती कामीले पनि सघाइरहेकी छन् । बंगुरपालनमा लागेपछि घरखर्च र छोराछोरीको पढाइ खर्च सजिलै टरेको उनको भनाइ छ । उनले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा मासिक रूपमा ३० हजार रुपैयाँसम्म बचत गरिरहेको बताइन् ।

Published on: 11 April 2023 | Kantipur

Link

Back to list

;