s

स्वदेशमै मृत्यु भए पनि राहत

रुद्र खड्का

सरकारले श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा गएका तर विदामा घर फर्केका बेला (स्वदेशमै) मृत्यु भए पनि उनीहरूका आफन्तलाई राहत उपलब्ध गराउने भएको छ। यसअघि रोजगारीको क्रममा विदेशमा मृत्यु भए त्यस्ता कामदारका परिवारले मात्र सुविधा पाउने व्यवस्था थियो।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बोर्डको बैठकले स्वदेशमा मृत्यु भएका कामदारका आफन्तलाई पनि राहत उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए। श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका व्यक्तिको विदेशमा मृत्यु हुँदा उनीहरूका आफन्तले राहत पाउने तर स्वदेशमा मृत्यु भएकालाई राहत नदिँदा विभेद भएको भन्दै लामो समयदेखि विरोध हुँदै आएको थियो।

श्रम स्वीकृति लिएको श्रमिकको जुन स्थानमा मृत्यु भए पनि राहत दिनुपर्ने लामो समयदेखि माग हुँदा सरकारले त्यसबारे निर्णय नगर्दा त्यस्ता कामदारका आफन्त मर्कामा पर्दै आएका थिए। यस्तो निर्णय नहुँदा घर बिदामा आएका कामदारको निधन हुँदा उनीहरूका आफन्तले राहत पाउन सकेका थिएनन्। कार्यकारी निर्देशक श्रेष्ठका अनुसार बोर्डको यो निर्णयपछि तत्काल एक सय १४ मृतकका आफन्तले राहत सुविधा पाउने भएका छन्।

सरकारले श्रम स्वीकृति अवधिमा निधन भएका कामदारको परिवारलाई सात लाख रुपैयाँ उपलब्ध गराउने गर्छ। त्यस्तै विमा कम्पनीहरूले उमेर अनुसार भुक्तानी गरेको बिमांकको आधारमा १० देखि १४ लाख रुपैयाँसम्म दाबी भुक्तानी गर्छन्। ती सुविधाबाहेक गम्भीर प्रकृतिका रोगले निधन भएको पुष्टि भएमा मृतकका परिवारले थप पाँच लाख राहत पाउने व्यवस्था छ। वैदेशिक रोजगारीको क्रममा निधन भएका श्रमिकका सन्तानलाई उच्च माध्यमिक तहसम्मका लागि छात्रवृत्ति उपब्ध गराउने सुविधासमेत विगतदेखि रहँदै आएको छ।

वैदेशिक रोजगारीमा जाने युवालाई वैदेशिक रोजगार विभागले दुईदेखि चार वर्ष १० महिनासम्मको श्रम स्वीकृति उपलब्ध गराउने गर्छ। सबभन्दा लामो श्रम स्वीकृति चार वर्ष १० महिना रोजगारीका लागि कोरिया जाने कामदारले पाउने गर्छन्।

गएको कात्तिक १२ मा श्रम समझदारी (एमओयू) हुँदासम्म मलेसिया जाने कामदारलाई तीन वर्षको श्रम स्वीकृति दिने गरिन्थ्यो। एमओयूमा भने मलेसिया जाने कामदारको श्रम स्वीकृति अवधि दुई वर्षको हुने उल्लेख गरिएको छ। तर, एमओयूपछि श्रम स्वीकृति लिएर श्रमिक मलेसिया जान पाएका छैनन्। खाडीका सबै मुलुक लगायत अन्य अधिकांश गन्तव्यमा रोजगारीका लागि जाने कामदारलाई दुई वर्षको श्रम स्वीकृति दिने व्यवस्था छ।

२०७४ साउन १६ गते वैदेशिक रोजगार नियमावलीको तेस्रो संशोधनमा घरबिदामा आएका कामदारको निधन हुँदा विदेशमा मृत्यु भएकासरहले आर्थिक सहायता पाउने व्यवस्था गरिए पनि नियमावलीमा अन्योलता देखिएको भन्दै बोर्डले त्यस्तो क्षतिपूर्ति दिन मानेको थिएन।

कार्यकारी निर्देशक श्रेष्ठले नियमावलीले गरेको व्यवस्थालाई सहजीकरण गर्दै बोर्ड बैठकले स्वदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई पनि विदेशमा मृत्यु भएसरह राहत दिने निर्णय भएको बताए। बोर्डको यस्तो निर्णयले पीडितलाई सहज भएको क्षतिपूर्ति प्राप्त गर्न बोर्डमा एक वर्षअघि नै राहतका लागि निवेदन दिएकी लक्ष्मीदेवी महराले बताइन्। स्वदेशमा निधन भएका मृतकका आफन्तले क्षतिपूर्तिका लागि बोर्डमा निवेदन दिँदा पनि त्यसबारे कुनै निर्णय नगर्दा पीडितका आफन्त समस्यामा थिए।

अघिल्लो वर्ष नियमावलीमा संशोधन हुँदा स्वदेशमा मृत्यु भएका व्यक्तिका आफन्तलाई सात लाख रुपैयाँसम्म दिने उल्लेख थियो। सोही अन्योलले पीडितलाई रकम निकासा गर्न कठिन हुँदै आएको बोर्डका कर्मचारीले बताए। बोर्डका एक कर्मचारीले भने, ‘स्वदेशमा मृत्यु भएकालाई सात लाख रुपैयाँ दिने किटान गरिएको भए यसअघि कुनै समस्या हुँदैन्थ्यो। मृतकका आफन्तलाई सात लाख रुपैयाँसम्म दिने भनेपछि दुई रुपैयाँ हो या सात लाख रुपैयाँ ? अन्योल थियो।’

एक वर्षदेखि बोर्डका कर्मचारीले नियमावलीमा रहेको अस्पष्टतालाई प्रष्ट पारिदिन बोर्ड पदाधिकारीसमक्ष आग्रह गर्दै आइरहेका थिए। ‘तर, पछिल्लो एक वर्षसम्म बोर्डका पदाधिकारीले त्यसबारे कुनै निर्णय नगर्दा पीडितका निवेदनमा कुनै सुनुवाइ हुन सकेको थिएन,’ ती कर्मचारीले नागरिकसँग भने, ‘अब भने कर्मचारीलाई काम गर्न र पीडितलाई राहत पाउन सहज भएको छ।’

बोर्डको उक्त निर्णपछि २०७४ साउन १६ पछि श्रम सम्झौताको करार अवधि बाँकी रहँदै स्वदेशमा मृत्यु भएका एक सय १४ मृतकका आफन्तले राहत पाउनेछन्। बोर्डको अध्यक्ष श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री हुने व्यवस्था छ। बोर्डको निर्णय अनुसार अघिल्लो वर्षको साउनदेखि वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका कामदारले पाउने आर्थिक सहायता सात लाख रुपैयाँ बनाइएको थियो। त्यसअघि पीडितले तीन लाख रुपैयाँ पाउने गर्थे। त्यस्तै पीडितले पाउने बिमाको रकम पनि पाँच लाखबाट बढाएर करिब १४ लाख रुपैयाँसम्म पु-याइएको थियो।

वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने प्रयास जारी रहे पनि विदेशमा मृत्यु हुने नेपालीको संख्या घट्न सकेको छैन। सुरक्षित रहने सामान्य जानकारीबिना नै विदेशमा ज्यान गुमाउने युवाको संख्या बढी छ। अत्यधिक गर्मी मौसममा एसी चलाउन नजान्दा, सडक पार गर्ने तरिका थाहा नपाएर तथा अत्यधिक मदिरा सेवन गरेका कारण धेरै युवाहरूले ज्यान गुमाउने गर्छन्।

बोर्डका अनुसार आर्थिक वर्ष २०७४/७५ मा वैदेशिक रोजगारीको क्रममा विभिन्न १९ देशमा पुगेको युवामध्ये आठ सय २१ को निधन भयो। जसमा महिलाको संख्या २१ छ। विभिन्न गन्तव्यमध्ये मलेसियामा सबभन्दा बढी दुई सय ८९ नेपाली युवाको निधन भयो। धेरै ज्यान गुमाउने अर्को गन्तव्य साउदी अरेबिया हो। जहाँ दुई सय तीन युवाको रोजगारीको क्रममा मृत्यु भयो।

जिल्लागत रूपमा वैदेशिक रोजगारीको क्रममा धेरै ज्यान गुमाउनेमा मोरङ र धनुषा रहेको बोर्डले जनाएको छ। एक वर्षको अवधिमा मोरङका ३९ र धनुषाका ३३ जनाले विभिन्न गन्तव्यमा ज्यान गुमाए।

Published on: 8 July 2019 | Nagarik

Back to list

;