s

स्वास्थ्य परीक्षणको नयाँ मापदण्ड बनाउँदै मन्त्रालय

श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थालाई प्रविधियुक्त र विश्वसनीय बनाउन नयाँ मापदण्ड बनाउने भएको छ ।
 
नेपाल सरकारद्वारा मान्यता प्राप्त मेडिकल सेन्टरहरु विश्वसनीय नहुँदा नेपालमा गरिएको स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएर विदेश गएका युवाहरुको विदेशमा गरिने स्वास्थ्य परीक्षणमा असफल भएर फर्किने क्रम बढेपछि मन्त्रालय कार्यदल बनाउन अग्रसर भएको हो । विगतमा मेडिकल सेन्टरहरुको दक्षता र गुणस्तरीयतालाई देखाउँदै सिन्डिकेट समेत खडा गरिएको व्यवसायीहरुको गुनासो छ ।
 
यी सबै अव्यवस्थाहरुको अन्त्य गर्न पनि मेडिकललाई विश्वस्तरीय नयाँ मापदण्ड बनाउन लागिएको मन्त्रालयका अधिकारीहरुको भनाइ छ । हाल २ सय ८४ मेडिकल संस्था वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सूचीकृत भएका छन् ।
 
तर त्यसमध्ये करीव ३५ वटा मेडिकल नवीकरण गर्न नपाएका कारण स्वास्थ्य परीक्षण गर्नबाट बञ्चित भएका छन् । वैदेशिक रोजगार मेडिकल व्यवसायीहरु पनि आ–आफ्ना मेडिकलमा अत्याधुनिक प्रविधि, उपकरण र जनशक्तिको प्रवन्ध गरेर विश्वसनिय स्वास्थ्य परीक्षण गर्न तयार भएको बताएका छन् । तर हालको स्वास्थ्य परीक्षणका लागि तोकिएको शुल्क समेत समय सापेक्ष परिमार्जन हुनुपर्ने उनीहरुको माग छ । हाल वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण शूल्क देश अनुसार फरक–फरक रहेको छ ।
 
Published on: 15 June 2018 | Madhyanha

Back to list

;