s

स्वास्थ्य परीक्षण नहुँदा कामदार अलपत्र

साउदी अरब, बहराइन र ओमन जान छानिएका कामदारहरू स्वास्थ्य परीक्षण नहुँदा अलपत्र परेका छन् । गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) लाई जनवरी १ देखि प्रतिकामदार १० अमेरिकी डलर बुझाउनुपर्ने भनी ल्याइएको नयाँ नियम विवादमा परेपछि कामदारको स्वास्थ्य परीक्षण रोकिएको हो । खाडी राष्ट्रमा एउटै स्वास्थ्य नीति लागू गर्ने निकाय जीसीसी हो ।

‘जनवरी १ बाट लागू हुने गरी प्रतिकामदार १० डलर पठाउनुपर्ने नियम लागू भयो । हामीलाई एक जना कामदारको मेडिकल परीक्षण गरेबापत १० डलर विदेशी बैंकमा रकम जम्मा गर्न पत्र आयो,’ स्वास्थ्य परीक्षणको अनुमति पाएका गाम्का नेपालका मोहन चौलागाईंले भने, ‘विदेशी बैंकमा रकम पठाउन राष्ट्र बैंकले श्रम मन्त्रालयको सिफारिस माग्यो । श्रमले सिफारिस नदिएपछि हामीले कामदारको स्वास्थ्य परीक्षण गर्न बन्द गरेका हौं ।’ जीसीसीले गाम्का नेपालअन्तर्गत १२ वटा स्वास्थ्य संस्थालाई साउदी, बहराइन र ओमन जाने कामदारको स्वास्थ्य परीक्षण गर्न अनुमति दिएको थियो । उनीहरूले एक जना कामदारको स्वास्थ्य परीक्षण गर्न ५३ सय रुपैयाँ लिने गर्छन् । 

साउदी, बहराइन र ओमनले मेडिकल रिपोर्ट पेस गरेपछि मात्रै भिसा प्रक्रिया सुरु गर्ने गरेका छन् । कतारका केही कम्पनीले पनि मेडिकल रिपोर्ट अनिवार्य लिने गरेका छन् । मेडिकलको रिपोर्ट नभएपछि आवेदन दिने कार्य स्थगित भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहण गुरुङले बताए । उनका अनुसार अन्तर्वार्ता पास भएका कम्तीमा १५ हजार कामदार काठमाडौंमा रोकिएका छन् ।

Published on: 10 January 2017 | Kantipur

Back to list

;