s

स्वास्थ्य परीक्षणका नाममा आधा अर्ब बाहिरियोः संघ

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुको स्वास्थ्य परीक्षण शुल्कका नाममा वार्षिक आधा अर्ब हाराहारीको रकम विदेशिएको भन्दै स्वास्थ्य परीक्षणमा खुल्ला प्रतिस्पर्धा गराए गरीव कामदारहरुको एक अर्ब रुपैयाँ बचत हुने दाबी गरेको छ ।
 
संघका अध्यक्ष रोहन गुरुङले वैदेशिक रोजगारीका लागी जाने श्रमिकहरुले अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने व्यवस्था रहेको तर सरकारको फितलो नीतिका कारण कामदारहरु शोषणमा परेको बताए । साउदी अरब, बहराइन र ओमान जान १२ स्वास्थ्य संंस्थाले स्वास्थ्य परीक्षण शुल्क वापत प्रति कामदार ५ हजार ५ सय र रेजिष्ट्रेशन शुल्क बापत छुट्टै १० अमेरिकी डलर गरी ६ हजार ५ सय रुपैयाँ लिएको भन्दै उनले केही संस्थाहरुले सिण्डिकेट खडा गरी स्वास्थ्य परीक्षण गरिरहेको आरोप लगाए ।
 
त्यसैगरी, मलेशिया जाने कामदार पनि अर्को सिण्डिकेटबाट पीडित भएको भन्दै गुरुङले ३७ स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षण गरी रहेको बताए । मलेसियाको स्वास्थ्य परीक्षण शुल्क ४ हजार ५ सय लिई रहेको भन्दै संघका अध्यक्ष गुरुङले अनलाइन रेजिष्ट्रेशन शुल्क छुट्टै ३० अमेरिकी डलर गरी प्रति कामदार ७ हजार ५ सय लिइने गरिएको बताए ।
 
सिण्डिकेट खडा गरेका स्वास्थ्य संस्थाहरुले स्वास्थ्य परीक्षण गर्दा चेक जाँच गर्ने शीर्षकहरुको मुल्य सरकारी टिचिङ अस्पताल, शुक्रराज अस्पतालमा २ हजार ५ सय भन्दा कम लागत आउने भन्दै संघले श्रम तथा रोजगार मन्त्रालयमा सुचिकृत अन्य मेडिकल संस्थाहरुमा कामदारहरुले स्वास्थ्य परिक्षण गर्दा ३ हजार भन्दा बढी खर्च नलाग्ने दाबी गरे ।
 
वैदेशिक रोजगारीमा खाडी राष्ट्रहरु र मलेशिया लगायत अन्य मुलुकहरुमा जाने नेपाली श्रमिकहरुलाई तीन हजारसम्म शुल्क लिई स्वास्थ्य परीक्षण गर्न ईच्छुक स्वास्थ्य संस्थाहरुबीच प्रतिस्पर्धा गराउनुपर्ने भन्दै संघले सुचिकृत स्वास्थ्य संस्थाहरुबाट गरिएको स्वास्थ्य परीक्षण प्रमाणपत्रलाई मात्र वैदेशिक रोजगार विभाग अन्तर्गतको काठमाडौं कार्यालयद्वारा श्रम स्वीकृति मान्यता दिनुपर्ने व्यवस्था गरी स्वास्थ्य परिक्षणमा सफल भएका नेपाली श्रमिकलाई प्रवेशाज्ञा उपलब्ध गराउन कुटनीतिक नियोगमार्फत पत्राचार गर्नुपर्ने माग समेत गरेको छ ।
 
Published on: 6 March 2018 | Madhyanha

Back to list

;